फिचर

नाबालक छोरोले लागुऔषधबाट मुक्त गराएका राजेश
SHARES

पुस २०, २०७५

    भक्तपुर : करिव तीन दशकअघि राजेश डिडियाको जीवन नर्कझैँ थियो। उनी भक्तपुरका नामुद लागुऔषध प्रयोगकर्ताको रूपमा परिचित थिए। तर आजभोलि उनी तिनै लागुऔषधको कुलतमा फसेका युवाहरूलाई पुनर्जीवन दिन तल्लीन छन्। उनी अहिले भक्तपुरका लागुऔषध दुर्व्यसनीलाई नयाँ जीवन दिने जीवनदाताको रूपमा परिचित बन्दै गएका छन्।

    राजेशको जीवनकथा कुनै चलचित्रको कथाभन्दा कम छैन। स्कुल जीवनमा साथीहरूको लहैलहैमा कुलतको दलदलमा फसेका राजेशले ११ वर्षको कलिलै उमेरमा लागु पदार्थलाई जीवन जिउने आधार बनाए। ‘विद्यालय जाने समयमा झोलामा कापी कलम र किताबको सट्टा लागु पदार्थका बोतलहरूले भरिन्थ्यो’, उनले भने। कुलतमा राजेशलाई विस्तारै भोक, निद्रा, प्यास, तातो, चिसो सबैको आवश्यकता पूरा गर्ने माध्यम नै लागू पदार्थ बन्यो। जीवन नै लागु पदार्थ सेवन गर्नु हो भन्ने ठानेर लागु पदार्थको सेवन गरी विन्दास जीवन बिताउनु उनको दैनिकी बन्यो।

    घरको एक्लो छोरो, सानै उमेरदेखि नराम्ररी कुलतमा फसेको देखेर परिवारले राजेशलाई सुधार्न १७ वर्षकै उमेरमा सुनिता श्रेष्ठसँग मागी विवाह गरिदिए। नशामा मस्त राजेशलाई विवाह गर्दा श्रीमती लिन गएको समेत होस छैन। ‘कहिले लिन गएँ, कहिले फर्कें, विवाहमा केके विधि गरियो, केही थाहा छैन। म त नशामा मस्त थिएँ। उनले भने, ‘विवाह त भयो तर ममा केही बदलाव आएन। परिवारले विवाह गरी दिएपछि छोरा सुध्रेला, कुलतबाट मुक्ति पाउला भनी नयाँ जीवन बाँच्ने आशा थियो तर त्यो केही पूरा गर्न सकिनँ, परिवारको मप्रतिको स्नेह नै छताछुल्ल भयो।’ 

    दुर्व्यसनीमा मग्न राजेशलाई विवाह मात्र होइन, आफ्ना सन्तानहरू कहिले जन्मिए, त्योसमेत थाहा छैन। कुलतमा चुर्लुम्म डुबेका राजेश एक दशकपछि एक दिन अचानक सन्तानकै कारण नशाबाट तैरिए।

    १६ महिने छोराले नशाबाट व्युँताए

    जीवन जिउने आधार नै नशा हो भन्ने ठानेर नशामा डुबेका राजेशलाई १६ महिने नाबालक छोराले अचानक नशाबाट व्युँताएको बताए। ‘त्यो दिन छोराले बाबा भनी मुख सुँघ्न आयो। सुँघेपछि छोराले बाबाको मुख कति गह्नाउँछ भनी भागेर नाक खुम्च्याउँदा अचानक होस आएको जस्तो भान भयो', राजेशले भने, ‘जब नशाबाट तैरिएँ, तब ए मेरो परिवारमा बुबा, आमा, बहिनीसँगै श्रीमती र छोराछोरी पनि रहेछन् भन्ने होस आयो।’ उनले होसमा आएपछि सँगै नशा सेवन गर्ने साथीहरू कोही नराम्ररी बिरामी भएको देखे। कोही साथी शारीरिक रूपमा कमजोर भई ज्यान गुमाएका देखे। कतिलाई पुलिसले समातेर लगे। 'त्यो देखेर अब म कुलतको नशाबाट अवकाश लिन्छु। म पनि आममानिसझैँ जीवन जिउँछु, सुध्रिन्छु भन्ने सोचले उपचार खोज्न थालेँ', उनले भने, 'साथीहरूलाई यसबाट मुक्ति दिलाउँछु भनी अठोट गरेँ।’ 

    उपचार केन्द्रका बारेमा खोजतलासपछि राजेश काठमाडौंको एउटा प्रतिष्ठित पुनःस्थापना केन्द्रमा पुगे तर सो केन्द्रले राजेशलाई उपचार गर्न मानेन। ‘तँ भक्तपुरे ज्यापु, कहिल्यै कुलतबाट बाहिर आउन सक्दैनस्। भक्तपुरे ज्यापुको संस्कार र संस्कृति नै जाँड र रक्सी अनि कसरी दुर्व्यसनीबाट बाहिर आउन सक्छ? भन्दै मलाई उपचार गर्न मानेन’, राजेशले भने, ‘भक्तपुरे ज्यापुलाई यहाँ उपचार हुँदैन। अहिलेसम्म भक्तपुरे ज्यापुहरूलाई उपचार गरे पनि सफल भएको छैन। तिम्रो लागि ठाउँ छैन भन्नेजस्ता विभिन्न गाली गलौजको बाबजुद लगातर दुई महिना उपचारका लागि फलो गरेर ज्यू हजुर गरेपछि बल्ल मासिक १२ हजार तिरेर उपचार पाएँ।’

    केन्द्रमा अनेक लाञ्छना, विभेद र दुर्व्यवहारका बाबजुद राजेशले उक्त केन्द्रमा छ महिना उपचार गरी घर फर्किए। उनले भने, ‘त्यो केन्द्रमा मलाई निकै हेला गर्थे। बोलाउँदा पनि ए भक्तपुरे ज्यापु भन्थ्यो। त्यति नै पैसा तिरे पनि अन्यले स्वयंसेवा गर्नु नपर्ने तर मैले गर्नुपर्थ्यो। त्यस्तो व्यवहार देखेर मलाई त्यहाँ बस्न मन लागेन। म घर फर्किएँ।’

    घर फर्किएपछि रोजगारीको खोजीमा निस्किए राजेश। जीवनलाई नयाँ ढंगबाट सुरु गर्ने अठोट लिएका राजेशको विगतका कारण रोजगारी पाउन सकेनन्। ‘जहाँ गए पनि यो त ड्रग्स लिने मान्छे भनेर कामै नदिने’, उनले भने, ‘अन्तमा लागुऔषध छाडेको युवा भन्दै सिद्धि मेमोरियल फाउण्डेशनले कामसँगै उपचार पनि दियो।’

    फेरि पुरानै संसारमा

    नाबालक छोराको कारण नशाबाट अवकास लिन्छु भनी अठोट गरेका राजेशले भक्तपुर आएर पुनः दुर्व्यसनीकै संसारमा फर्केको बताए। सिद्धि मेमोरियल फाउण्डेशनले उनलाई दिएको उपचारसँगै जागिरको समेत वास्ता नगरी उनी पुरानै साथीहरूको संगतमा पुनः नशामा डुबे। ‘सिद्धि फाउण्डेसनले लागुऔषध प्रयोगकर्ताहरूलाई एचआइभी एड्सबाट जोगाउन सिरिञ्ज वितरण गर्थ्यो। त्यहाँ दुर्व्यसनीलाई सिरिञ्ज वितरण गर्ने म मात्रै थिएँ। मसँग २४ घण्टा सिरिञ्ज हुन्थ्यो, सँगै प्रयोग गरेका साथीहरू भेट्न थालियो। एक ठाउँमा बस्यो, ल तानौँतानौँ भन्दाभन्दै तान्नेमै फसियो’, राजेशले भने।

    पुराना साथीहरूसँगको संगतले पुनः दुर्व्यसनीमा फसेका राजेशलाई परिवारले पुनः उपचारका लागि पुरानै पुनःस्थापना केन्द्रमा लगे। 'घर फर्किएको चार महिनापछि म पुनः उपचारका लागि केन्द्रमा गएँ’, उनले भने, ‘तँ भक्तपुरे ज्यापु फेरि आइस् भनेर गाली गरे। तैँले अब यहाँबाट उपचार पाउँदैनस्, जहाँसुकै जा त भक्तपुरे ज्यापु भनी गाली गरे। जति गाली गरे नि सहेरै बसेँ।’

    पुन:स्थाना केन्द्रबाट यसरी प्रयोग भए

    दोस्रो पटक राजेशले २७ महिना पुनःस्थापना केन्द्रमा बसेर उपचार गरे। उनले त्यहाँ उपचारसँगै काम पनि गरे तर उनलाई केन्द्रमा कहिल्यै पनि राम्रो नजरले हेरिएन। राम्रो व्यवहार नगरेको उनले बताए।

    ‘उपचारको नाममा भोलिन्टियर गरेर पूरै समय संस्थाका लागि काम गर्नुपर्थ्यो। दिनको एउटा चुरोट दिएर, दुई छाक खान दिएर हप्तामा घर जान र फर्किन २० रुपैयाँ गाडी भाडा दिएर मलाई राखेको थियो’, उनले भने, ‘त्यसको बदलामा मैले संस्थाका लागि २४सै घण्टा गोरु जोतेझैँ जोतिनुपर्थ्यो। मलाई खान बस्न दिएको भन्दै जे गरे नि हुने, जस्तोसुकै गाली गरे नि हुने व्यवहारले मलाई संस्थाले यसरी प्रयोग गरेको भन्ने बुझेँ।’

    अस्ताएको घामले जन्माएको संस्था ‘सुरुवात’

    २७ महिनापछि अनेक अनुनय विनयपछि बिहान पुनःस्थापना केन्द्र गई बेलुकी घर फर्कने व्यवस्था मिलाएका राजेशले त्यस दौरानमा आफूसँगै लागुऔषध सेवन गर्ने २२ जनालाई उपचारका लागि पुनःस्थापना केन्द्रमा लगे। त्यसमध्ये आठ जनामा एचआइभी संक्रमण देखियो। उनीहरूलाई केन्द्रले उपचार गर्न मानेन। राजेशले धेरै अनुरोध गरेपछि ती एचआइभी संक्रमितलाई काउन्सिलिङ गर्न केन्द्र तयार भयो।

    ‘एक दिन उपचारका क्रममा एचआइभी संक्रमितलाई पुनःस्थापना केन्द्रकै एक वरिष्ठ व्यक्तिले यिनीहरू भनेको अस्ताएको घाम हो। अस्ताएको घामलाई नमस्ते मात्र भन्न सकिन्छ। अरू केही पनि भन्न सकिँदैन भन्नुभयो’, राजेशले भने, ‘भोलि म पनि संक्रमित भए मलाई नि यस्तै भन्छन् यिनीहरूले भन्ने मनन् भयो। यसले झन् संक्रमितलाई निरुत्साहित गरेजस्तो लाग्यो। यो वाक्यले भोक, निद्रा, प्यास सबै हरायो। केही साथीहरूसँग संस्था खोल्ने विषयमा छलफल गरेँ। कसैले आँट गरेनन्, उल्टै तैँले संस्था चलाएर खाँदैनस् भन्न थाले।’

    साथीहरूले संस्था खोल्न नमानेपछि उनले उपचार लिने पुनःस्थापना केन्द्रका एक जना विशिष्ट व्यक्तिलाई अध्यक्ष बनेर सहयोग गरिदिन आग्रह गरी मनाए। लागु पदार्थ प्रयोगकर्तालाई लागेको लाञ्छना र भेदभावको अन्त्यका लागि सुरुवात गर्ने संस्था भनी सुरुवात नाम राखे। राजेशले भने, ‘समाजमा ड्रग युजरहरू कहिल्यै सुध्रिँदैनन् भन्ने अन्धविश्वासलाई चिरी नयाँ जीवनको सुरुवात गर्न पनि यसको नाम सुरुवात राखेका हौँ।’ 

    नयाँ जीवनको सुरुवात गरी देखाउन सुरुवात संंस्था खोल्ने सबै तयारी गरेका राजेशलाई संस्था दर्ता गर्न प्रहरी रिपोर्ट चाहियो। रिपोर्ट बनाउन उनी प्रहरी कार्यालय पुगे तर प्रहरीले उनलाई उल्टै तँ पटके, तैँले संस्था खोल्ने, तैँले झन् कुलतमा नफसेकालाई पनि फसाउँछस् भन्दै फर्काए। पुलिसले रिपोर्ट दिन मानेनन्। काठमाडौंको एक जना प्रहरीको सहयोगले बल्ल पुलिस रिपोर्ट आएपछि सुरुवात संस्थालाई जन्म दिए। उनले भने, 'संस्था त खोलेँ तर खल्तीमा सुको पैसा छैन। अब के गर्ने? किसानको छोरा, पैसो कसरी जुटाउने भनेर मनमा ढ्यांग्रो ठोक्यो।'

    साथीभाइसँग सल्लाह गरे उनले। कसैले पैसा राख्ने अवस्था थिएन। प्रयोगकर्ता साथीहरूले पैसा होइन, बरु म एक बोरा टाइचिन चामल ल्याउँछु भने त कसैले म एक महिनाका लागि तरकारीको व्यवस्था गरीदिन्छु भनेपछि २०६४ सालमा चुनदेवीस्थित एउटा घर भाडामा लिएर संस्थालाई संस्थागत गर्न सफल भए। संस्था त खोलियो तर पैसा छैन। यसलाई कसरी निरन्तरता दिन सकिन्छ भनी सोच्दा कृषि काम गरेर लागु पदार्थ दुर्व्यसनीको उपचार तथा पुन:स्थापना केन्द्रको दिगोपना र निरन्तरता दिने योजनालाई अघि सारे।

    केन्द्रको दिगोपना र निरन्तरताका लागि गोलभेँडा खेती

    भक्तपुरका कुलतमा फसेका युवाहरूले उपचारका लागि पैसाको बन्दोबस्त गर्न नसक्ने अवस्था देखेर कृषि गरेर अघि बढ्ने सोच बनाएको राजेशले बताए। ‘कृषि गर्ने योजना त बनाएँ तर बढी कुनमा नाफा हुन्छ भन्ने लामो अध्ययनपछि गोलभेँडा खेती नै सबभन्दा राम्रो भनेर काम गरेँ’, उनले भने, ‘लगानी धेरै नचाहिने र दैनिक भान्छामा प्रयोग हुने गोलभेँडाको व्यापार राम्रो हुने देखेर झौखेलमा डेढ रोपनी जग्गा भाडामा लिएर एक लाखको लगानीमा गोलभेँडा खेती सुरु गरेँ।’ त्यसका लागि उनले भैरहवा गएर साढे दुई वर्ष कृषिसम्बन्धी तालिम लिएको बताए।

    कहिल्यै खेतमा पाइला नटेकेका राजेशलाई खेतीका काम कसरी गर्ने केही थाहा भएन। भैरहवामा साढे दुई वर्ष बसी कृषिसम्बन्धी तालिम लिएर काम सुरु गरेका राजेशले परंपरागत शैली भएका कारण धेरै समस्या खेप्नु पर्‍यो। सबैको गाली खाए। कम उत्पादन, बढी लागत, बढी श्रमका कारण डेढ रोपनी जग्गामा लगाएको गोलभेँडा खेती गरेर खासै फाइदा नभएको उनले बताए।

    सबैको गाली खाएका राजेशले यसरी पाए सबैको ताली

    जीवनको लामो समय नशाले बेहोसी जीवन बिताएर दैनिकी गुजारा गर्ने राजेशले आफू जस्तै दुर्व्यसनीमा लागेका र एचआइभी एड्स संक्रमितका लागि भक्तपुरमा नयाँ जीवन जिउने वातावरण बनाउँदा सबैले उनलाई ताली बजाएर माया दिन थालेको उनी बताउँछन्।

    भक्तपुरमा दुर्व्यसनीका पटकेको नामले समेत प्रख्यात राजेशको कदमले दुर्व्यसनीको दलदलमा फसेका युवाहरूको जीवनमा परिवर्तन ल्याउन सफल भएको छ। उनले सुरुवात संस्थाबाट आफ्नै पैसाले लागु पदार्थ प्रयोगकर्ता र एड्सबाट संक्रमितका लागि आवश्यक उपचार सेवा दिन सफल बनेका छन्।

    विभिन्न संघसंस्थामार्फत तिनीहरूका लागि सहयोग गर्न अपिल गर्दै भक्तपुरमा एड्स संक्रमितको पहिचान गरी औषधिदेखि आवश्यक पोषण दिने व्यवस्थासँगै एआरटी सेन्टर चाहियो भनी आवाज सुरुवातले उठायो। अहिले सुरुवातकै सहकार्यमा भक्तपुर अस्पतालमा एआरटी सेवा उपलब्ध छ। राजेशले आफू जस्तै दुर्व्यसनीको दलदलमा फसेकालाई दुर्व्यसनबाट मुक्त गरेका र एड्स संक्रमितलाई कृषि अभियानमा संलग्न गराएका छन्।

    ‘संस्थामा उपचार गर्न आउनेलाई सुरुमा दिनभर काउन्सिल गर्ने, साँझ घर पठाउने र घर र्फकन नहुने अवस्थाकालाई त्यहीँ राखेर उपचार दिई कृषि अभियानमा लगाएका छौँ’, उनले भने, ‘उपचारसँगै उनीहरूलाई कृषिसम्बन्धी सीप सिकाएर आर्थिक रूपमा सबल बनाउन कृषि काममा लगाएर कुलतमा फस्ने सम्भावनालाई न्यूनीकरण गर्दै लगेका छौँ।’

    सुरुवात संस्थाका निर्देशक राजेशले देशभरका विभिन्न जिल्लाबाट आउने एचआईभी संक्रमित र दुर्व्यसनीमा फसेका युवाहरूलाई काउन्सिलिङ गर्नुका साथै कृषिसम्बन्धी तालिम दिएर उनीहरूलाई आर्थिक रूपमा सबल बनाउँदै लगेका छन्। ‘दुर्व्यसनीसँगै एचआइभी संक्रमितलाई कृषि तालिमसँगै कम्पोष्ट मल बनाउने, बिउ, बेर्ना उत्पादन गर्ने सीपका साथै कृषि काम गर्नेलाई पाँच हजारदेखि २५ हजारसम्म सहयोग प्रदान गर्दै आएका छौँ’, उनले भने, ‘उपत्यकामा मात्र नभई डोटी, कंचनपुर, कैलाली, बुटवल, पोखरा, गुल्मी, वाग्लुङ र टीकापुरसम्मका संक्रमित र दुर्व्यसनीमा लागेकालाई निःशुल्क आर्थिक सहयोग गरिसक्यौँ।’

    सानो घेरामा रहेको यस अभियानलाई ठूलो दायरामा फैलाउन योजनासाथ अघि बढिरहेका राजेशको कृषि कार्यमा अहिले प्रभावित समूहका छ महिलासहित २२ जना कामदारहरू छन्।

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]