अन्नको सह तथा पुस महिना भन्ने अर्थमा मनाइन्छ

|

सोलुखुम्बु : कुलुङ जातिहरूको महान् चाड चाक्चाकुर आइतबारदेखि सुरु भएको छ। यो पर्व प्रत्येक वर्षको पुस १५ देखि सुरु हुन्छ। कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्य रूपमा मनाउने गर्छन्।

चाक्चाकुरमा सबै गाउँभरीका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको गुदेल माविकी महिला शिक्षक तारा कुलुङको भनाइ छ। उनका अनुसार संस्कार संस्कृतिको जगेर्णा गर्दै पर्वलाई निरन्तरता दिने गरिएको छ।

कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको कुलुङ अगुवाको भनाइ छ। कुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सघंको स्थापनाका रूपमा मिनारी दाचाम्री चाकचाकुर  भनेर मनाइने महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीको भनाइ छ। उनका अनुसार कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ। दाचाम्को अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नयाँ वर्ष र चाक्चाकुरले चासुम् अर्थात अन्नको सह तथा पुस महिनालाई जनाउँछ। मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पूज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो।

औपचारिक रूपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने सुरुवात नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुलुङसंघले दाबी गर्दै आएको छ। कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखुम्बु, भोजपुर, संखुवासभा, इलाम, धनकुटा, लगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ। त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ।

विभिन्न कार्यक्रम आयोजना

कुलुङ जातिहरुको महान् चाडको रूपमा लिइने चाक्चाकुरको अवसर महाकुलुङ गाउँमा विभिन्न प्रतियोगिताको आयोजना गरिएको छ। वडा कार्यालयनै आयोजक बनेरसमेत कार्यक्रमको आयोजना गरिएको छ। वडा नम्बर ३ छेस्कामको आयोजना फुटबल प्रतियोगिता लगायतको कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष डेकबहादुर कुलुङले जानकारी दिए। कार्यक्रमको शनिबार सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राई (शुरवीरले) उद्घाटन गरे।

यसैबीच, महाकलुङको वडा नम्बर २ ले साबिक वडास्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता, गायन, नृत्य, टेबल टेनिस प्रतियोगिताको साथमा भाग्यशाली उपहारसमेत आयोजना गरेको छ।

राष्ट्रिय मान्यता दिनुपर्ने माग

कार्यक्षेत्रमा रहेका कुलुङ जातिहरू यस पर्वमा गाउँ आउने गर्छन्। कुलुङ जातिको महान् पर्व मिनारी दाचाम् निङदोङ चाक्चाकुरलाई राज्यले पनि विशेष महत्वको चाडको रूपमा मान्यता दिनुपर्ने कुलुङ जातिहरूको भनाइ छ।

महाकुलुङमा कुलुङ जातिहरुको बाहुल्यता रहेको छ। स्थानीय खरिधन कुलुङले अन्य जातिको जस्तै कुलुङको समेत महत्वपूर्ण पर्व चाक्चाकुर भएकाले राज्यबाट राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताए। 'हिन्दुको दशैँ, तिहार जस्तै आफूहरूको चाक्चाकुर पर्व हो' स्थानीय कुलुङले भने, 'हाम्रो पर्वलाई पनि केन्द्र सरकारले नभए पनि प्रदेश सरकारले चाहिँ मान्यता दिन आवश्यक छ।'

कुलुङ जातिको बसोबास प्रदेश नम्बर १ को सोलुखुम्बु, भोजपुर, संखुवासभा, इलाम, धनकुटा, लगायतको क्षेत्र भएकाले प्रदेश सरकारले यस वर्षलाई मान्यता दिनुपर्ने उनीहरुको माग छ।

तीन दिन स्थानीय बिदा

चाक्चाकुरको अवसरमा गाउँपालिकाले स्थानीय सार्वजानिक बिदा दिएको छ। गाउँ कार्यपालिकाको निर्णयअनुसार कुलुङ जातिहरूको बाहुल्यता रहेको गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिइएको हो। गाउँपालिकाको छैटौँ गाउँसभाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिका प्रमुख सागर किराँतीले जानकारी दिए। गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिका भित्रका सामुदायिक विद्यालय, संघसंस्था तथा सकारी कार्यालय सबै बन्द छन्। १५ गते आइतबारदेखि बन्द भएको उक्त कार्यालय पुस १८ अर्थात् बुधबारदेखि मात्र खुल्नेछन्।

पर्वले गाउँ भरिभराउ

चाक्चाकुर पर्व मनाउन कार्यक्षेत्रबाट गाउँ आएकाहरूले बस्ती भरिभराउ भएको छ। विशेषगरी अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँबाहिर भएकाहरूसमेत छुट्टी मिलाएर घर आएका छन्। महाकुलुङका केडी कुलुङले भने, 'अन्य पर्वभन्दा चाक्चाकुर महत्वपूर्ण पर्व हो, यो पर्वमा सबै गाउँका मानिसहरुको जमघट हुन्छ।' चाक्चाकुरको कारण महाकुलुङको घर भरिभराउ भएको छ। यातायातमा समेत महाकुलुङ जानेहरूको लर्को देख्न सकिने यातायात व्यवसायी बताउँछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.