|

लमजुङ : मानिसहरू शहर केन्द्रित भएपछि अधिकांश गाउँ मानवविहीन हुन थालेका छन्, तर गाउँलाई विस्थापन हुनबाट जोगाउन बेसीशहर नगरपालिका ६ पुमागाउँमा होमस्टे(घरबास) शुरु भएको छ।

‘देशविदेशमा रहेका हाम्रा दाजुभाइलाई गाउँ फर्काउनका लागि होमस्टे शुरु गरेका हौँ’, कन्यादेवी आमा समूहका अध्यक्ष सुकमाया गुरुङले भनिन्। पुमागाउँका अधिकांश मानिसहरू वैदेशिक रोजगारका रहेका छन् भने रोजगारपछि शहर केन्द्रित बन्न पुगेका छन्। वेरोजगारको पीडामा छट्पटिएकाका रोजीरोटी र स्वरोजगारका लागि होमस्टे सहज बनेको छ।

पुमागाउँ होमस्टे बेसीशहर नगरपालिकाद्वारा उद्घाटन भएको पहिलो होमस्टे हो। ‘होमस्टे सञ्चालनमा श्रमको खाँचो छ तर श्रोतको खाँचो छैन’ नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘पाहुना सत्कार, साँस्कृतिक टोली र एक घर एक उत्पादनको कार्यमा जोड दिनुहोस्।’ उनका अनुसार पर्यटन प्रवर्द्धनका लागि सरकारले ल्याएको नीति र कार्यक्रले होमस्टे व्यवसायीका लागि प्रोत्साहित गर्छ।

‘व्यवसायमा महिलाहरू पनि जोडिन आवश्यक छ’ बेसीशहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले भनिन् ‘महिला उद्यमीहरू समाज परिवर्तनका बाहक हुन्।’ जिल्लामा सञ्चालित अधिकांश होमस्टेहरु महिलाहरुद्वारा सञ्चालन भएको छ। होमस्टे सञ्चालनमा महिलाहरूको सीप, क्षमता र लगनशीलताले परिवारको आयअर्जन पनि चलेको छ।

एसियाकै नमूना घलेगाउँको पहुँचमार्गमा अवस्थित पुमागाउँमा ५ घरमा होमस्टे सञ्चालन गरिएको वडा अध्यक्ष भोजबहादुर रिमालले जानकारी दिए। पर्यटन विकास समितिका अध्यक्ष हरि गुरुङका अनुसार ५२ घरधुरी रहेको पुमागाउँबाट सरमुकाम बेसीशहर बजार, दुई दर्जन बढी गाउँबस्ती, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल, ङादीचुली (डा. हर्क हिमाल) सहितका हिमालहरू नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ। पहिलो चरणमा २० जना पाहुना क्षमतासहितको होमस्टेका सञ्चालनका लागि धनकाशी गुरुङ, दुर्गा गुरुङ, वीना गुरुङ, सुकमाया गुरुङ र मिनकाशी गुरुङको घर चयन गरिएको वडा सदस्य वीरेन्द्र गुरुङले बताए।

बारीमा र जंगलमा बाह्रैमास फुल्ने बुकी र फूलहरूको मालले होमस्टेमा आउने अतिथिहरूलाई सत्कार गरिएको होमस्टे सञ्चालक वीना गुरुङले बताइन्। गाउँमा आउने पाहुना तथा पर्यटकलाई गुरुङ रीतिरिवाज तथा संस्कृतिअनुसार दही चामलको टीका, मनोरञ्जनका लागि सोरठी, चुड्का, घाँटु, झ्याउरेलगायतका गीत र नृत्य पर्यटकको रोजाई बनेको छ। स्थानीय उत्पादनको प्रवर्द्धनका लागि बाँझो पल्टिएको जग्गामा सामूहिक चिया र कफी खेती सुरु गरिएको आमा समूहका अध्यक्ष सुकमाया गुरुङले बताइन्।

उनका अनुसार लोकल कुखुराको मासु, घरेलु मदिरा, ढिँडो, गुन्द्रुक, कुरिलो, मकैभट्टलगायतका अर्गानिक खाना र चिया बगान पर्यटकको रोजाइ बन्न सक्छ। सदरमुकाम बेसीशहरबाट ११ किलोमिटर र सहजी–चण्डीस्थानबाट ६ किलोमिटरको दूरीमा पुमागाउँ अवस्थित छ। मोटरबाटोको पहुँचले होमस्टेलाई सहज बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.