|
File Photo

रुपन्देही : प्रदेश ५ सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो।

प्रदेशमा मगर र थारू जातिको बाहुल्यता रहेकाले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए। माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शंकर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ। 

प्रदेशस्तरीय नेपाल मगर संघ र थारू कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बंगुर तथा थारू समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए। 

मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ। सो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय रहनेछ। 

त्यसैगरी बैठकले प्रदेश तथ्यांक सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश खानी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.