|
फाइल फोटो

सोलुखुम्बु : फाप्लु विराटनगरको लागि उडान तालिका आएको दुई महिना बितिसके पनि परीक्षण उडानसमेत भएको छैन। नेपाल वायुसेवा निगमले कात्तिकबाट उडान तालिका निकालेको भए पनि अहिलेसम्म परीक्षण उडान नै गर्न सकेको छैन।

यात्रु नभएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगम फाप्लुले जनाएको छ। विराटनगर जाने यात्रु नभएकाले नै एक पटक पनि उडान गर्न नसकिएको नेपाल वायुसेवा निगम फाप्लुका इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए। गत कात्तिक ११ गतेदेखि फाप्लु विराटनगरको लागि साप्ताहीक उडान तालिका आएको हो। अहिले प्रत्येक हप्ताको शुक्रबारको लागि उडान तालिका राखिएको छ। फाप्लुबाट विराटनगरको लागि एकतर्फी भाडा चार हजार ७८० रुपैयाँ कायम गरिएको छ।

यात्रु भएको खण्डमा उडान हुने इन्चार्ज श्रेष्ठको भनाइ छ। सडक यातायातबाटै पनि सहजै यात्रा गर्न सकिने भएकाले हवाइ यात्रु कम भएको एयरलाइन्सको अनुमान छ। प्रदेश राजधानीसँग सिधा हवाई सम्पर्क कायम गर्ने उद्देश्यले उडान तालिका बनाए पनि यात्रु अभावमा उडान हुन सकेको छैन।

यात्रु भन्छन् : बस सेवा नै सस्तो र भरपर्दो

केही महिनायता विराटनगरदेखि सिधा सल्लेरीसम्म बस सेवा सञ्चालनमा रहेको छ। यहाँबाट तराई क्षेत्र जाने अधिकांश यात्रु बस तथा जीपमार्फत् यात्रा गर्छन्। गाडीमार्फत् एकैदिनमा विराटनगर, झापा, धरान पुग्न सकिने भएपछि सोलुखुम्बुबासीको रोजाई सडक यातायातनै परेको छ।

हवाई यात्रा भरपर्दो नहुने तर बस सेवा भने दैनिक भरपर्दो हुनेभएको एक यात्रु कुमार बस्नेतले बताए। हवाई सेवा कहिले के हुन्छ के हुन्छ? बस्नेतले भने, 'बस तथा जीपमा भए बेलुका ढुक्क पुगिन्छ, सस्तो पनि भरपर्दो पनि।'

विगत लामो समयदेखि फाप्लु विराटनगर हवाई सेवा बन्द थियो। निर्वाचन ताका यहाँका जनप्रनितिधि सांसदले हवाई सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धताअनुसार अस्थायी राजधानी विराटनगरलाई जोड्न हवाई सेवा सञ्चालन गर्नुपर्ने मान्यताका साथ काम गरेको सोलुखुम्बु प्रतिनिधिसभा सदस्य हेमकुमार राई (शुरवीर)ले बताए।

'प्रदेशसभा सदस्यसहितको पहलमा उडान तालिका राख्न सफल भए पनि सेवा सुचारु नहुँनु दु:ख लागेको छ', सांसद राईले भने, 'अब कसरी नियमीत सञ्चालन गर्ने भन्ने बारे स्थानीय सरकार संगै सम्बन्धित निकाय संग कुराकानी भइरहेको छ।'

सोलुखुम्बुका अधिकांश मानिसको बासोबास तराईको सुनसरी, सिराह, मोरङ, झापालगायतको क्षेत्रमा रहेको छ। यहाँका मानिस बसाइँ सर्दा पहिलो रोजाइको गन्तव्य नै तराई क्षेत्र पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.