|

गुल्मी : गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ र ५ मा घरमै धारा पुगेपछि १०८ घरधुरी लाभान्वित भएका छन्। ‘बलेटक्सार लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाले घरघरमै धारा पुर्‍याउन सफल भएको हो। ‘एक घर एक धारा’ को  चीनका लागि नेपाली राजदुत तथा नेपाल सरकारका पूर्व-मुख्यसचिव लिलामणि पौडेलले उद्घाटन गरे। घरमै धारा आएसँगै स्थानीयलाई घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

‘धारा नहुँदै एक गाग्रो पानी लिन एक घण्टाभन्दा बढी लाग्थ्यो, घरमा अरू केही पनि काम गर्न पाइने थिएन।’ विगत सम्झँदै रुरु ४ की माया खत्रीले भनिन्, ‘अहिले धेरै सहज भएको छ।’ त्यसका साथै उनले घरमै पानी आउन थालेपछि आफूले तरकारी खेती लगायतका व्‍यवसाय गर्न सुरु गरेको समेत बताइन्। अर्का उपभोक्ता कृष्णप्रसाद पौडेलले पनि घर–घरमै धारा आउनुले आफूहरू भाग्यमानी रहेको प्रतिक्रिया दिए। लामो समयसम्म भारतमा मजदुरी गरेका पौडेलले त्यहाँ उपल्लो तलासम्म पानी जाँदा आफ्नो गाउँको खानेपानीको अभाव सम्झने गरेको बताए। ‘विदेशमा मजदुरी गर्दा हाम्रो गाउँमा सपना हो जस्तो लाग्थ्यो।’ उनले भने, ‘तर अहिले सपना विपनामा परिणत भएको छ।’

एक र्षमा आयोजना सम्पन्न

योजना आर्थिक वर्ष ०७३/७४ मा सर्वेक्षण भई ०७४/७५ मा सम्पन्न भएको हो। आयोजनाका सचिव किसन पाण्डेले सबैको साथ र सहयोगले गर्दा एकवर्षे आयोजना सम्पन्न गर्न सफल भएको बताए। योजनाको लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले ९१ लाख ६१ हजार ३२ रुपैयाँ ८० पैसा विनियोजन गरेको कार्यालयका इन्जिनियर प्रकाश न्यौपानेले जानकारी दिए।

जनश्रमदान २४ लाख ८५ हजार तीन सय ७९ रुपैयाँ ७४ पैसा गरी कुल एक करोड १६ लाख ४६ हजार चार सय १२ रुपैयाँ ५४ पैसामा आयोजना सम्पन्न भएको हो। कार्यक्रमको अवसरमा गाउँमै खानेपानी ल्याउन महत्पवूर्ण भूमिका खेलेको भन्दै खड्काटोलले युवानेता तथा ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालका स्वकीय सचिव यदु ज्ञवाली र स्थानीय समाजसेवी भोजराज गौतमलाई सम्मान गरेका छन्। त्यस्तै योजना सम्पन्न गराउन नि:शुल्क जग्गा दिने जग्गादातालाई पनि आयोजनाको तर्फबाट सम्मान गरिएको छ। जसमा ताराबहादुर खड्का, इन्द्रकला ज्ञवाली, शम्भुप्रसाद पौड्याल, सीतादेवी खत्री, दुर्गाप्रसाद ज्ञवाली, विष्णुप्रसाद ज्ञवाली र जमुना ज्ञवाली रहेका छन्।

त्यस्तै खानेपानी आयोजनालाई बजेट उपलब्ध गराउन सहयोग गरेको भन्दै चिनका लागि नेपाली राजदुत तथा नेपाल सरकारका पूर्व-मुख्यसचिव लीलामणी पौड्याल र रुरु गाउँपालिका अध्यक्ष नीलकण्ठ गौतमलाई मायाको चिनो तथा सम्मान पत्रले सम्मान गरिएको छ। कार्यक्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पौडेलले घरघरमै आएको पानीको धारालाई उत्पादनसँग जोडि आत्मनिर्भर बन्न आग्रह गरे। ‘पानी थिएन, आयो, अब भौतिक सुख होइन, खुसी खोज्नुपर्छ।’ उनले भने, ‘पानीलाई उत्पादनसँग जोडौँ आत्मनिर्भर बनौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.