|

सल्यान : संविधानले प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य गरे पनि अधिकार प्रयोगमा चुनौती देखिएको छ। संविधानले महिलालाई अधिकार दिए पनि व्यवहारमा लागू गर्न चुनौती रहेको उनीहरुकै अनुभव छ।

जिल्लामा तीन नगरपालिका र ७ गाउँपालिका गरेर १० स्थानीय तह छन्। १० स्थानीय तहमा प्रमुखमा एक महिला र उपप्रमुखमा नौ महिला रहेका छन्। प्रत्येक वडामा एक खुला सदस्य र एक दलित महिला सदस्य अनिवार्य रहेका छन्।

पहिलोपटक नेतृत्वमा पुगेका कारण अवसरसँगै चुनौती पनि उत्तिकै रहेको शारदा नगरपालिका उपाध्यक्ष सावित्रा बस्नेतले बताइन्। उनले भनिन्, ‘पहिलो कुरा धेरै लामो समयपछि महिला नेतृत्वमा आउने अवसर पाएका छन् त्यस कारण केही चुनौती छ भने अर्को पुरुषवादी सोचले पनि काम गरी रहेको छ।’ समाजमा रहेको महिला हेप्ने प्रवृतिको सिकार भएको उनको भनाइ छ। महिलाले केही गर्न सक्दैनन् तथा गरिहाले पनि विश्वासिलो हुँदैन भन्ने मान्यता समाजमा रहेका कारण निकै चुनौती रहेको बस्नेतले बताइन्।

बन्गाड कुपिन्डे नगरपालिका उपप्रमुख मन्जु यरीले पनि समाजमा महिलालाई दबाउने प्रवृतिका कारण कार्यसम्पादनमा समस्या आएको बताइन्। जिम्मेवारी पूरा गर्न कानुनी जटिलला छ नै त्योभन्दा पनि सहज रूपले जिम्मेवारी पूरा गर्ने क्रममा कतिपय पुरुषले बाधा पुर्‍याउने गरेका उनले सुनाइन्। उनले भनिन्, 'अधिकार छ, अवसर छ तर आफ्नो अधिकार लिनका लागि लड्नुपर्ने अवस्था छ।'

कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले भने संविधानमा उल्लेख गरिएको विषयलाई महिलाले अक्षरशः कार्यन्वयनमा ल्याएको बताइन्। अवसर र अधिकार दिने हो भने पुरुषले गरेको भन्दा महिलो गरेको कामकारबाही बढी प्रभावकारी हुन्छ भन्ने कुरा आफूले सावित गरेको दाबी गरिन्। उनले भनिन्, 'जिल्ला म एक मात्र महिला प्रमुख हुँ अन्य नौ स्थानमा पुरुष प्रमुख छन्। अन्यको र मेरो गाउँपालिकाको कामकारबाहीमा पछि छैनौँ बरु अन्य तहभन्दा निकै राम्रो काम गर्दै आइरहेका छौँ।'

समाजको पुरुषवादी सोचलाई चिर्न पनि सफल भएको उनको भनाइ छ। महिलाले केही गर्न सक्दैनन् होइन कि अवसर र अधिकार दिए जे पनि गर्न तयार छन् भन्ने स्थानीय तहको निर्वाचन भएको एक वर्षले देखाएको उनको भनाइ छ।

संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्न अवसर र चुनौती दुवै भएको शिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा बोहराले बताइन्। समाजमा अघि बढ्न यसले सहयोग पुर्‍याएको उनको भनाइ छ। स्थानीय सरकारमार्फत आफूजस्तै धेरै महिलाले औपचारिक रुपमा नेतृत्वको अवसर पाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बोहराले बताइन्। उनले भने केही अनौपचारिक रूपमा नेतृत्व लिए पनि औपचारिक नेतृत्व लिन पाएका थिएनौँ यो अवसर र चुनौती दुवै हो।

कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा केही समस्या रहेको उनको भनाइ छ। आफ्नो गाउँपालिकामा आएका ९ उजुरी छलफलबाटै समाधान गर्न सफल भएको उनको भनाइ छ।

महिलाले पाएको अवसरलाई सदुपयोग गर्दै पुरुषसरह महिलाले पनि काम गर्न सक्छन् भन्ने सोच समाज विकास गर्न जरुरी रहेको त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताइन्। लामो समय पनि महिला नेतृत्वमा आएको र स्थानीय तहको निर्वाचन भएकाले सेवा दिने तौरतरिका र व्यवस्था फरक भएकाले काम गर्न केही चुनौती रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.