|

डडेल्धुरा : विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसन्स) अब डडेल्धुराबाटै नवीकरण तथा प्रतिलिपि प्राप्त हुने भएको छ। बुधबार एक कार्यक्रमबीच अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले सो सेवाको उद्घाटन गरे।

अहिले महाकाली अञ्चल यातायात कार्यालयबाट प्राप्त सवारी चालक अनुमतिपत्र मात्र नवीकरण हुने यातायात सेवा कार्यालय डडेल्धुराका प्रमुख दिलिप तामाङले जानकारी दिए। यातायातको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिएकाले अब केही दिनमा सबै नवीकरण गर्ने व्यवस्था मिलाउने काम भइरहेको प्रमुख तामाङले बताए। उद्घाटनको दिन बुधबार बिहान सवारी चालक अनुमतिपत्र नवीकरण गराउने पहिलो सेवाग्राही पुष्पराज जोशीलाई रसिद हस्तान्‍तरण गरी टोपी लगाएर सम्मान गरेको छ। 

स्मार्ट कार्ड नवीकरण सेवाको उद्घाटन गर्दै नगरप्रमुख ओझाले यातायात व्यवस्था विभागसँग डडेल्धुरा जिल्ला सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रविन्दु भएकाले चालक अनुमतिपत्र पनि डडेल्धुराबाटै वितरण गर्ने सक्ने बनाउन अनुरोध गरेको छन्। यसरी सेवा सुरु हुनु डडेल्धुराका लागि सुखद् भएको बताउँदै नगर प्रमुख ओझाले स्थानीय तहले गर्नुपर्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताए। सेवा नियमित गर्न विद्युत् सेवा र इन्टरनेट आवश्यक हुने यातायात व्यवस्था विभाग काठमाडौंका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले बताए।

विगतमा कार्यालय मात्रै हुनु र सेवा प्रवाह नहुनु राम्रो नभएको भन्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अबका दिनमा थप सेवा प्रदान गर्न पहल गर्नुपर्ने बताए। सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगरी कार्यालय सेवाग्राहीको काम प्रभावकारी रूपमा गर्नेमा आफूले आश र विश्वास लिएको समेत उनले बताए। 

उद्योग वाण्ज्यि संघ डडेल्धुराका वरिष्‍ठ उपाध्यक्ष भोजराज भट्टले कार्यालय स्थापनाको लामो समयपछि सेवा सुरु गरेर नवीकरणकै लागि कैलाली, कञ्चनपुर पुग्नुपर्ने र हजारौँ खर्च गर्नुपर्ने बाध्यता टरेकोमा खुसी व्यक्त गरे। यातायात व्यवस्था सेवा कार्यालय ०७२ मा डडेल्धुरामा स्थापना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.