|

काठमाडौँ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा)मा तेस्रो कुलपतिका रूपमा कलाकार कान्छाकुमार कर्माचार्य नियुक्त भएका छन्। वि.सं. २००४ मा जन्मिएका कर्माचार्य २०६६ सालमा प्रतिष्ठानमा सदस्य सचिव बनेका थिए। वि.सं. २०२१ देखि चित्रकला साधनामा लागेका उनीसँग कला क्षेत्रका संघसंस्थामा विभिन्न पदमा बसेर काम गरेको अनुभव छ। उनै कान्छाकुमार कर्माचार्यसँग ललितकलाको विकास र चुनौतीका विषयमा राससका प्रधानसम्पादक श्याम रिमाल र उपसमाचारदाता नारायण ढुंगानाले गरेको कुराकानी प्रस्तुत छ। 

प्राज्ञसभाको पूर्णताचाहिँं कहिले हुन्छ नि?

प्राज्ञसभाको छनोट त भइसकेको छ तर एक्सपोज गरिसकेको छैन। अलिक ढिला भइरहेको छ। अब आइतबारतिर होला। 

नाफाको आगामी चार वर्षीय योजना केके हुनेछन्? 

अब हामी तीन जनाको शपथ भयो, अरू बाँकी नै छ। अहिले निर्णायक कुराहरू केही गर्न सक्ने अवस्थामा छैनौंँ। अनौपचारिक रूपमा भन्दा कलाको समग्र विकास गर्नुपर्‍यो। हरेक प्रदेशमा गएर प्रादेशिक ढंगबाट कलालाई विस्तार गर्नुपर्छ। हाम्रो परंपरागत रूपमा गरी आएको राष्ट्रिय कला प्रदर्शनी अर्को साल हुनेछ। त्यसलाई सुधार्नुपर्छ। त्यो परंपरागत भयो। त्यसले विकासभन्दा पनि हल्लै हल्ला बढी भयो। त्यसलाई सुधार गर्ने योजना छ। अर्को सबैभन्दा पहिले त हामी त अहिले सुकुम्बासी भएका छौँ। बस्ने ठाउँ बनाउनुपरेको छ। निवर्तमान प्राज्ञ परिषद्ले केही पूर्वाधार बनाउने योजना गरेको छ। त्यसलाई छिट्टै पूरा गर्ने योजना छ। 

त्यो पूर्वाधार बनाउने योजना अघिल्लो वर्ष नै पारित भएको होइन? 

कार्यक्रम पारित भएको हो। त्यो कार्यक्रम अगाडि गइरहेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हेरिरहेको छ। फलोअप (अनुगमन) गर्नुपर्छ। त्यसै त हुँदैन। 

यहाँले माथि भन्नुभयो, राष्ट्रिय प्रदर्शनीको कुरा तर अब त तयारी गर्नुपर्ने हो, ढिला भएन र? 

जेठ २ गते हुने हो पहिले पहिले कार्यक्रम। पछि आएरचाहिँ यो अघिको कार्यकालमा भदौमा पुग्यो। भूकम्पलगायत भौतिक समस्याले सरेको हो। व्यवस्था गर्न गाह्रो छ, कुरा गर्नलाई पो सजिलो छ। अब आउने वर्ष गर्ने सोचाइ छ। चार-पाँच महिना बाँकी छ। त्यतिमा भएन भने पनि सारेर गर्ने हो। त्यसलाई नियमित रूपमा गर्नुपर्छ तर चार वर्षभित्रमा सुधार गर्नुपर्छ भन्ने हो। 

नाफा र संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको जग्गाको विवाद के हो?

यो विवाद एकदम जटिल विवाद हो। केही वर्षअघि सरकारले नाफाको जग्गा संगीत एकेडेमीलाई दिने भनी गरेको निर्णयमा हामी साह्रै दुखित छाैँ। आमकलाकार दुखी छन्। हामीले यसलाई गुमाउनुहुँदैन। हामी आर्टिष्ट आफैँ सुकुम्बासी भएर अरूलाई पोस्ने भन्ने कुरा त हुँदैन नि!

नेपाल सरकारको उक्त निर्णय नै दुःख लाग्यो भन्नुभएको हो? 

हो, त्यो क्याबिनेटले गरेको निर्णय हो। हाम्रा पूर्वकुलपतिज्यूको कुराअनुसार उहाँहरूकै समयमा उक्त निर्णय भयो। भित्री कुरा हामीलाई थाहा छैन। कमसेकम जग्गा दिने नै हो भने सल्लाह गर्नुपर्थ्याे। यो विषय सरकारले जिम्मा लिने कुरा हो। सरकारले व्यवस्था गर्नुपर्ने हो। नाफा मगन्ते हुने स्थिति त हुनुभएन। एकेडेमीहरू गठनभन्दा अघि नै भएको छलफलमा नाचघर संगीत नाट्य प्रतिष्ठानले प्रयोग गर्ने र नाफाले आफ्नै ठाउँ (सीता भवन, नक्साल, बालसंगठन रहेको भवन)मा बस्ने भनेर हामी यहाँ आयाैँ। अब उहाँहरू (संगीत एकेडेमी) जानुभएन, त्यो उहाँहरूको कुरा हो। उहाँहरू वहालमा बस्दै आउनुभयो र समस्या बढ्दै आएपछि आत्तिनुभयो। यहाँ धेरै जग्गा छन् नि सरकारका, खोज्यो भने पाइहालिन्छ नि! सरकारलाई केको दुःख हुन्छ र? यो कुरा अदालतमा गएको छ, अदालतले एउटा फैसला गर्ला। 

जति पनि हाम्रा कला सिर्जना भएका छन्, तिनको संरक्षणका लागि नाफाले व्यक्तिगत रूपका जस्तै सम, वाङ्देल, मिश्र आदिका कलाकृति व्यक्ति व्यक्तिका घरमा छन्, कतिपय बेचिए होलान्, नाफाले तिनको संरक्षण गर्ने दायित्व लिनुपर्ने हो कि होइन? 

हामीले त्यसको समन्वयकारी भूमिका निर्वाह गर्ने हो। त्यो राज्यको दायित्व हो। राज्यको नीतिभित्र पर्नुपर्छ। 

राज्यभित्र नाफा पनि परेन र? 

होइन, होइन, नाफा पर्‍यो। कि त सरकारले हामीलाई अधिकार दिनुपर्‍यो, सुविधा दिनुपर्‍यो। तर गर्नुचाहिँ पर्ने हो। कसैले आफ्ना कोठामा संग्रहालय बनाएका छन्। अग्रज कलाकार चन्द्रमान मास्केको परिवार उनको कलाकृति सरकारलाई दिन तयार पनि छ। हामी यसबारे सरकारलाई घच्घच्याउँछौंँ। 

नाफाका पहिलो कुलपति किरण मानन्धरले आफू नियुक्त हुँदा अब कुनै पनि कलाकार भोको रहनुपर्दैन भन्नुभएको थियो। त्यो बेला यहाँ सदस्य सचिव हुनुहन्थ्यो।​ त्यो भनाइको सार्थकता भयो कि भएन? नभएको भए नाफाले कलाकारका लागि अब के गर्नेछ त? 

उहाँले त्यसो भन्नुभयो। त्यो त्यति सजिलोसँग हुने त होइन। त्यो भनेको कलाको विकास गर्ने हो। यसका लागि अनेक बाधा अड्चन आउने गर्छन्। एउटा भूकम्पले पनि बाधा गर्‍यो। संस्थागत रूपमा पनि बाधा अड्चन भयो। त्यस कारण काम गर्न सकिएको देखिएन। कलाको विकास भयो भने सबैको विकास हुन्छ। यो दृष्टिकोण मेरो हो। गंभीर कुरा एउटा भन्छु- हामीकहाँ पनि कलाको लीलामीको व्यवस्था हुनुपर्छ, त्यसो भएमा कलाकारलाई केही राहत पुग्छ। 

विश्वमा अहिले नेपाली कलाको स्थान कहाँ रहेको पाउनुहुन्छ? 

विश्वमा नेपाली कलाको स्थान भनेको यही हो भनेर जानकारी छैन। विश्वमा हेर्दा हाम्रो कलाको प्रवृत्ति अग्रगामी नै भएको पाउँछौँ तर त्यहाँसम्म पुग्नलाई अझै समय लाग्छ। विश्व प्रदर्शनीमा हामीले विस्तारै भाग लिने गरिरहेका छौंँ। कतिपयले पुरस्कार लिएर आएका छन्। यतिले मात्र हामीलाई पुग्दैन। संसारको नजिक पुग्न गाह्रो छ। धेरै विकास गर्न बाँकी छ। विश्वमा नेपाली कला पौभा, परंपरागत कलाको स्थानचाहिँ धेरै माथि छ समसामयिकभन्दा। त्यतिमा हामीले सन्तोष गर्ने कुरा होइन। समयसामयिक कलाको विकासतिर पनि हामी लाग्नुपर्छ। परंपरागतलाई अझै धेरै अगाडि लैजानुपर्छ। 

नेपाली कलाले हाम्रो समाज, राष्ट्र वा विश्वको समसामयिक स्थितिलाई उजागर गर्न सकेको छ? 

यो कलाकारमा भर पर्ने कुरा हो। कलाकारहरूको व्यक्तिगत विचारको कुरा भयो। त्यो अर्थमा केही भएकै छ तर कुरो यति हो कि जति गर्नुपर्ने हो, त्यो भएको छैन। 

नेपाली कला हाम्रो मिहिनेतले निखार्दै जाने हो कि अन्य विदेशी कलाकारबाट पनि हामीले सिक्ने हो? 

अवश्य अरूबाट पनि सिक्नुपर्छ। हामी मात्रै बसेर त विकसित देशमा पुग्न सक्दैनाैँ। विदेशमा गएर हामीले पनि कलाको विकास हेर्नुपर्‍यो, हामीले पनि कला देखाउन सक्ने अवस्था हुनुपर्‍यो। त्यो विकासमा लाग्नुपर्छ, विश्व कला जगतमा हामी जानैपर्छ, सिक्नै पर्छ। 

हामीले हाम्रा परंपरागत तथा लोककला जस्तै पौभा, मिथिला, थारू, अवधि, नेवारी, किरात आदि कलालाई विश्वमा लगेर प्रचार प्रसार गर्ने कि समसामयिक वा आधुनिक कलालाई लिएर जाने? 

गुरुङ, नेवार जातिको संग्रहालय खडा गर्न इजाजत लिनुपर्छ। नाफासँग केही अधिकार छैन। सके सहयोग गर्नेबाहेक हाम्रो भूमिका रहँदैन। हामीमा सबै पूर्वाधार तयार भएको भए पनि आँटेर काम गर्न हुन्थ्यो।

दुवै गर्नुपर्छ। ट्रेडिसनल (परंपरागत) भनेको हाम्रो आफ्नो पहिचान हो। समसामयिक भनेको विश्वको आजको स्थिति हो। हाम्रो पहिचानको हिसाबले चाहिंँ परंपरागत, मिथिला, पौभा, हाम्रै जनजातिका कलाकारका राम्राराम्रा कलाहरू छन्। यस्तालाई हामीले प्रमोसन (प्रवर्द्धन) गर्नुपर्छ। बाहिर लगेर प्रचार प्रसार पनि गर्नुपर्छ। 

प्रसंग फेरौंँ, नेपाली कला समीक्षाको स्थिति यहाँले कस्तो पाउनुभएको छ? हाम्रा समीक्षकहरूलाई तालिम, प्रशिक्षणको आवश्यकता देख्नुहुन्छ?

एकदम आवश्यकता छ। कला समीक्षा क्षमता हामीकहाँ अहिलेसम्म पूर्ण छैन। कला समीक्षाको अभाव पक्कै छ। जान्ने र सिकाउने समीक्षकबाट नै हो। समीक्षा धेरथोर नभएको होइन, पहिलfभन्दा विकास नभएको होइन तर पर्याप्त छैन। आर्ट राइटिङको अभाव छ। पाठ्यक्रममा नेपाली किताब पाइँदैन, विदेशी किताब राख्नुपरेको छ। मैले कति विद्यार्थीलाई अरनिकोबारे सोध्दा थाहा छैन भने बरु पिकासो थाहा छ, रेब्रान्ट थाहा छ। यसबारे यो एकेडेमीले केही हदसम्म गरेको छ। फेरि पनि गर्छौ|। 

नेपाली कलाको सिलसिलाबद्ध इतिहासलेखन नारायणबहादुर सिंहबाट सुरु भएको थियो। यस्तो लेखन र अन्य प्रकाशनबारे नाफाले के गर्दै छ? 

त्यस्तो छैन। नारायणबहादुर सिंहले एउटा च्याप्टर बनाउनुभयो। सुरुवात उहाँले नै गर्नुभयो। ज्ञानेन्द्र विवशले पनि केही गर्नुभएको छ। नाफाकै परियोजनाअन्तर्गत केही अरूले गरेका छन्। आधिकारिक रूपमा त्यतिबेला नि खासै छैन, अहिले पनि भएको छैन। पहिले हामी नाफामा हुँदा मैले धेरै प्रयास गरेँ अभिलेख राख्नलाई। व्यक्तिले गर्दा चिनेजानेकाहरूको मात्रै लेखन हुन्छ। समग्रमा आएन भनेर मेरो नेतृत्वमा नेपाली आर्टिष्ट भनेर एउटा क्याटलग निकालियो। 

त्यसमा इतिहास पनि छ कि? 

इतिहास छैन, कलाकारको परिचय छ। त्यसमा पुरानाहरूको छैन, जीवित मात्रैको छ। यतिले पर्याप्त छैन। 

ऐतिहासिक, पुरातात्त्विक र कलाका दृष्टिले महत्त्वपूर्ण धरहरा, काष्ठमण्डप, रानीपोखरीलगायतको पुनःनिर्माणमा कलाकारहरूको आवाज उठेको देखिंँदैन नि? 

उठेको छ तर यो जिम्मेवारीपूर्वकचाहिँ भएन। सम्पदा जोगाउनुपर्छ, यो कलासँग सम्बन्धित हो भन्ने छ तर यसको जिम्मेवारी पुरातत्त्व विभागको हो। 

तिनको पुनःनिर्माणमा हामी पनि सहभागी होऔँ भन्ने कुरा आएजस्तो लाग्दैन, पुराना कलाकारले काम पाए होलान् तर नयाँलाई पारिश्रमिक दिएर आह्वान गरेजस्तो लाग्दैन नि? 

कला परंरागत परंपरागत नै हुनुपर्‍यो, आधुनिक आधुनिक नै हुनुपर्‍यो। हामीले सम्पदाका क्षेत्रमा सहयोग गर्नुपर्ने हो। जोगाउनका लागि जनचेतना ल्याउने काम हामीले गर्ने हो। यो काम गर्ने भनेको पुरातत्त्व विभागले नै हो। 

नेपाली गहना र वेशभूषामा पनि कला पाउँछौँ नि, त्यसको उजागर भएको पाइँदैन किन? 

केही हदसम्म नगरेको होइन। यो बेग्लै च्याप्टरले गर्ने हो। यसमा पनि पुरातत्त्व विभागको बढी हात छ। गुरुङ, नेवार जातिको संग्रहालय खडा गर्न इजाजत लिनुपर्छ। नाफासँग केही अधिकार छैन। सके सहयोग गर्नेबाहेक हाम्रो भूमिका रहँदैन। हामीमा सबै पूर्वाधार तयार भएको भए पनि आँटेर काम गर्न हुन्थ्यो। बढी महत्त्वाकांक्षी पनि हुनुभएन। यो लोककलासँग पनि सम्बन्धित छ। कलाकारको एउटा सधैंँको गुनासो छ, नाफाले नयाँ काम र कला क्षेत्रको विकासमा मौलिक काम गर्न सकेन भन्ने। त्यसो होइन। अब केही गर्छौं। कलाकारको आवास अझै बनाउन सकिएको छैन। योजना धेरै छन्। सबैको सहयोगको खाँचो छ। 

संगीत एकेडेमीले जस्तो कलाकारको परिचयपत्र र नेपाल एकेडेमीको जस्तो आजीवन सदस्यता दिने विषयमा के योजना छ? 

परिचयपत्रको कुरा हामी पनि गर्छौं। आजीवन सदस्यताको कुराचाहिँ भएको छैन। हामी पनि त्यो चाहन्छौंँ तर यसमा सरकारले बजेटले दिनुपर्‍यो। अर्थ मन्त्रालयले वास्ता गरिदिएन। कलाकार कल्याणकोष बनाऔँ भन्ने छ तर अक्षयकोष अलिकति मात्र छ। 

नाफाले नियमावली बनाउन किन नसकेको? 

हामीसँग ऐन छ। यसमा बसेर नियम बनाउनुपर्छ, त्यो मेरो सोचमा छ। अब हामी बनाउँछौँ। 

विश्वका कला संघसंस्थासँग नाफाको संस्थागत सम्बन्ध भएको देखिंँदैेन नि? 

हाम्रो सम्बन्ध चीन, भारत, पाकिस्तान, श्रीलंकासँग भएको छ। युरोप, अमेरिकासँग पनि सम्बन्ध बढाउने कोसिस गर्छु। त्यो सम्बन्ध नभईकन हाम्रो अस्तित्व नै हुँदैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.