|

काठमाडौं : २०७२ सालतिर देशमा राजनीतिक अस्थिरता थियो। देशैभर विभिन्न राजनीतिक, जातीय तथा सांप्रदायिक समूहको आन्दोलन चर्किरहेको थियो। आआफ्ना माग पूरा गराउन सडकमा जबर्जस्त टायर बालिरहेका थिए।

त्यसबाट सुदूरपश्चिम पनि अछुतो रहन सकेको थिएन। सुदूरपश्चिमको कैलाली र कंचनपुरका थारू समुदायले थरूहट राज्यको माग गर्दै आन्दोलन चर्काइरहेका थिए। त्यही क्रममा २०७२ भदौ ७ मा थरूहट आन्दोलनकारी र प्रहरीबीच झडप भयो।

झडपका क्रममा सेती अंचल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक नाबालकको निर्मम हत्या भयो। हत्याका मुख्य योजनाकार मानिएका थिए, रेशम चौधरी। थारू आन्दोलनको संयोजकको भूमिका लक्ष्मण थारू र रेशम चौधरीले गरेका थिए। 

शपथ ग्रहण गर्दै चौधरी

मृतक प्रहरीका परिवारको आशा थियो, हत्यामा संलग्न चौधरीले सजाय पाउँछन् र हामीले न्याय। तर बिहीबार हत्यामा संलग्न मुख्य अभियुक्त रेशम चौधरीले गत वर्ष संपन्न संघीय निर्वाचनमा कैलाली- १ बाट प्रत्यक्षमा निर्वाचन जितेपछि उनलाई बिहीबार संसदले कारवाहीको सट्टा उल्टै शपथ खुवाएपछि मृतक प्रहरी अधिकारीका परिवार निराश भएका छन्।

उसो त चौधरीको शपथबारे देशैभर दुईथरि प्रतिक्रिया आएका छन्। एकथरिले चौधरीको शपथ जायज र कानुनसम्मत भएको प्रतिक्रिया दिएका छन्। अर्कोथरिले शपथको विरोध गरेका छन्। 

पीडित परिवारको यस्तो प्रतिक्रिया

टीकापुर थरूहट आन्दोनका क्रममा मृत्यु हुने सात प्रहरी अधिकारीमध्ये एक थिए, प्रहरी निरीक्षक केशव बोहरा। मृतक केशव बोहराका दुई छोरा र श्रीमती शारदा बोहरा हाल काठमाडौं वनस्थलीस्थित आफ्नै घरमा बस्दै आएका छन्।

चौधरीको शपथ ग्रहणपछि हामी उनलाई भेट्न उनकै निवास वनस्थली पुगेका थियौँ।

गोरो वर्ण, मिलेका दाँत। भर्खर ३९ वर्ष पुग्दै गरेकी शारदाको मुहार कालो बादलले छेकेको आकाश जस्तो। कारण टीकापुर घटनामा उनका पतिको मृत्यु। जिन्दगीमा आउने हरेक दु:ख सुखहरूलाई साटासाट गर्ने आफ्ना श्रीमान आज उनीसँग छैनन्।

टीकापुरमा मारिएका तत्कालीन प्रहरी निरीक्षक बाेहरा

श्रीमानको याद  उनका आँखामा आँसु लिएर आँउछ। यो उनको दैनिकी हो र नियति पनि, जुन उनी कहिल्यै चाहन्नथिन्। तर वास्तवित्कता यही बनिदियो उनको जिन्दगीको। 

'दुई छोराले बुबाको आवश्यकता पर्ने बेला बुबा भन्न पाएनन्। त्यो पीडाको अनुभूति हामीबाहेक अरू कसलाई होला र ?', उनले यसो भन्दै गर्दा उनका आँखाको डिल हुँदै आँसु बगिरहेको थियो।

बिहीबार टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले सांसदको शपथ लिएको कुरा उनले बेलुका मात्रै थाहा पाएकी थिइन्। 'हामी तीन वर्षदेखि न्यायको खोजीमा थियौँ। अझ प्रहरी संगठनले न्यायका लागि पहल गर्ला भन्ने आश थियो', शारदाले भनिन्। 

तर एक्कासि मुख्य अभियुक्त चौधरीलाई फूलमाला लगाएर शपथ ग्रहण गराइयो। शपथबारे प्रहरी संगठनले विज्ञप्तिसमेत निकाल्न सकेन। 'अब के न्यायको आश छ र! सरकार र प्रहरी संगठनबाट', उनले दुखेसो पोखिन्, 'हाम्रो अभिभावक जस्तो हो प्रहरी संगठन तर प्रहरी संगठनबाट समेत त्यो अनुभूति पाइएन।' उनले यही शैलीले न्याय पाऊँला भन्ने आश मरेको तर अन्तिम अवस्थासम्म न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने बताइन्।

उनी मात्र होइन, टीकापुर घटनामा ज्यान पुगाउने अन्य प्रहरी अधिकारीका परिवारका पीडा र दुखेसो पनि शारदाका जस्तै छन्। टीकापुर घटनामा ज्यान गुमाउने अर्का प्रहरी निरीक्षक हुन्, बलराम विष्ट।

 टीकापुरमा मारिएका तत्कालीन प्रहरी निरीक्षक बिष्ट

विष्टका तीन छोरी, एक छोरा र श्रीमती छन्। उनीहरू पनि न्याय पाउने आशमा न्यायको बाटो कुरिरहेका थिए तर बिहीबारबाट भने न्याय पाउने आश मरिसकेको विष्टकी श्रीमती मन्धरा विष्टको भनाइ छ। 'हामी न्यायको आशमा बसिरहेका छौँ, सरकार पीडितलाई न्याय दिनुको सट्टा अपराधीलाई फूलमाला लगाएर जेलमुक्त गर्न खोजिरहेको छ। अब न्यायको आश हामीले कोबाट गर्ने ?', उनले भनिन्।

टीकापुर घटनामा प्रहरी जवान नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो। उनका बाजे जंगबहादुर साउद सरकारले मान्छे मार्ने अपराधीलाई बचाउन खोजे पनि न्यायालयले न्याय दिनेमा आशावादी रहेको बताउँछन्। 'सरकारबाट न्याय पाउने आश मर्‍यो, पीडितलाई न्याय दिनुको सट्टा सरकार अपराधी बचाउन लागिपर्‍यो', उनी भन्छन्, 'यो सरकार जनताका लागि बनेको होइन भन्ने कुरा प्रमाणित भयो।'

रेशम चौधरीको बिहीबार शपथ ग्रहण भएको थियो। सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय संसद सचिवालयमा दिउँसो ३ बजे शपथ ग्रहण गराएका थिए। उनले थारू भाषामा शपथ लिएका थिए।

नेपालको संसदीय इतिहासमा चौधरी शपथ ग्रहणपछि फूलमाला लगाएर संसद भवन होइन, कारागार जाने पहिलो सांसदसमेत बनेका छन्। टीकापुर घटनामा एसससपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी अधिकृतको ज्यान गएको थियो भने नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकबहादुर साउद पनि मारिएका थिए।

टीकापुर काण्डमा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५८ जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ। यसमध्ये २८ जना अभियुक्तलाई प्रहरीले थुनामा राखेको छ। 

ज्यान मुद्दापछि फरार रहेका रेशम चौधरीले २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर- १ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेसमार्फत् उम्मेदवारी दिएर चुनाव जितेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.