फिचर

ओझेलमा दैलेखमा ऐतिहासिक सम्पदा
SHARES

माल पाएर चाल नपाएको दैलेख

पुस २७, २०७५

    दैलेख : दैलेख जिल्ला धार्मिक एवं पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण जिल्ला भए पनि जिल्लामा रहेका ऐतिहासिक पुरातात्त्विक र धार्मिक स्थलहरू ओझेलमा परेका छन्। धार्मिक ऐतिहासिक र पुरातात्त्विक हिसाबले भरिपूर्ण जिल्ला भए पनि दैलेखले माल पाएर चाल नपाएको जस्तो भएको छ।

    बइसे, चौबीसे राज्यकालमा दुल्लु र दैलेखमा दुईवटा राज्य थिए। बाह्रौँ शताब्दीसम्म सिंजा उपत्यका र दुल्लु गरी दुईवटा राजधानी बनाई विकास भएको विशाल खस साम्राज्य विघटन भएपछि मात्र बाइसे, चौबीसे राज्यहरू थिए। नेपाली इतिहासको सिलसिलाबद्ध खोजी भने अझै हुनसकेको छैन। इतिहास अध्ययनमा लामो समयदेखि कायम नकारात्मक सोच र उदासीनताका कारण विशृंखलित र अपूरो इतिहासमा चित्त बुझाएर बस्नुपर्ने अवस्था नेपालमा कायमै रहेका बेला तत्कालीन कर्णाली अंचल मध्यपश्चिम क्षेत्र र हालको कर्णाली प्रदेशको इतिहास खोजीमा त झनै हेलचेक्र्याइँ देखिन्छ।

    वि.सं. ११४० मा राजा नागराजले राज्यको स्थापना, उनका वंसज, क्राचल्ल, पृथ्वी मल्ल, जितारी मल्लका पालामा निर्माण गरिएका, मुग्रा धारा, देवल, गुफा, पंचदेवलहरू, कोतगडी जस्ता ऐतिहासिक सम्पदा कर्णाली प्रदेशको खस साम्राज्यका महत्त्वपूर्ण प्रमाणहरू भएको नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय बताउँछन्। खस मल्लकालीन साम्राज्यकालमा जुम्लाको सिंजाहाटमा ग्रीष्मकालीन र दैलेखको दुल्लुमा शीतकालीन राजधानी थियो। कुनै बेला खस संस्कृतिको साम्राज्य इराक, इरानदेखि बर्मा जावा समुद्रसम्म फैलिएको थियो। मल्ल राज्यकालमा जुम्लाको सिंजा र दैलेखको दुल्लुमा रहेका हजार बढी ऐतिहासिक सम्पदा, कृति, अभिलेख मासिँदै गएका छन्। चोरी भएका छन्।

    नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव उपाध्यायले संस्कृतिलाई राज्यले अनुत्पादक क्षेत्र ठान्नुनहुने, दैलेखका संस्कृतिमाथि राज्यले न्याय गर्नुपर्ने बेला आएको बताए। काठमाडौं राज्यलाई जितेर कर तिर्न बाध्य पार्ने सिंजा साम्राज्य नै भएको कुरा इतिहासमा सबैले सम्झनुपर्ने कुरा भएको उनको भनाइ छ। कर्णाली साम्राज्यको सिमाना पूर्वमा त्रिशूली नदी, पश्चिममा कुमाउँ गडवालसम्म उतिबेला पुगेको हो। दैलेखको गौडा दरबारमा मात्रै तत्कालीन समयमा ३५ जिल्लाको राजश्व संकलन गरिन्थ्यो। यस्तो ऐतिहासिक महत्त्वको यो क्षेत्र कर्णाली साम्राज्य नै भएको कुरा पुष्टि भइसकेको छ। यसैको आडमा रहेको कोतगढीको महत्त्व निकै धेरै छ।

    कर्णाली प्रदेशमा हजारौँ यस्ता महत्त्वका ऐतिहासिक वस्तुहरूमध्ये दैलेखमा रहेका ऐतिहासिक वस्तुहरूको खोजी हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै इतिहासविद् प्रा.डा. राजाराम सुवेदीले दुःख व्यक्त गर्दै भने, 'हामीले जोगाउन सकेनौँ भने इतिहास नै हराउँछ।' पाँच वर्षअघि दैलेख घुम्न आएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेम शर्माले दैलेखका ऐतिहासिक सम्पदाहरूबारे बुझेपछि यस्तो प्रतिक्रिया दिए, 'कस्तुरीले बिना खोजेर भौँतारिएझैँ रहेछन् दैलेखका सम्पदाहरू। एक एक जनाले सम्पदा संरक्षणको अभियान थाल्न सके राज्य आफैँ खोज्दै दैलेख आउँछ।'

    सरकारले यस वर्षबाट दैलेखका विभिन्न स्थानहरूलाई पर्यटन सर्किटको रूपमा व्यवस्थापन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्य घोषणा गरेसँगै यस क्षेत्रमा पर्यटकहरूको आगमन पनि बढेको छ। दैलेख सदरमुकामको मुटुमा रहेको कोतगढी, कोतगढीसँगै करिव पाँच किलोमिटरको दूरीमा रहेका पंचिसदेवल र पंचदेवल, बेलासपुर मन्दिर र दैलेख सदरमुकामको सबैभन्दा अग्लो समुद्र सतहदेखि करिव चार हजार २०० मिटर अग्लो भूभागमा रहेको महावु धामसम्मको यात्राका लागि यी क्षेत्रहरूलाई नयाँ गन्तव्य निर्माण गरिएको छ। नयाँ गन्तव्यमा परेका यी क्षेत्रहरूको अवलोकन भ्रमणका लागि पर्यटकलाई दुईदेखि तीन दिनसम्म लाग्छ। पैदल मार्गमार्फत् महावु धाम पुग्ने यात्रुहरूले बाटोमा बासको व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू बोकेरसमेत ल्याउने गरेका छन्।

    यातायातको सहजता भएकाले अहिले पैदल मार्गभन्दा यातायातका साधनहरू प्रयोग गरेर महावु धाम पुग्ने पर्यटकहरूको संख्या धेरै बढेको छ।

    ढुंगैढुंगाको ऐतिहासिक कोतगढी 

    दैलेख सदरमुकामको मध्यभागमा अवस्थित ऐतिहासिक कोतगढीको महत्त्व पनि धेरै छ। करिव १२ हात बढी लामा ढुंगाहरूले कोतगढी निर्माण गरिएको छ। बाइसे र चौबीसे राज्यकाल हुँदा सुरक्षाका लागि भनेर यो निर्माण गरिएको भन्ने कथन छ। दैलेखमा रहेको कोतगढी अहिले नेपाली सेनाको सुरक्षा घेरबारमा छ। नेपाली सेनाको नाममा भएकाले पनि सेनाकै मातहत कोतगढीको सुरक्षा गरिएको छ। गढी हेर्न आउने आन्तरिक र बाह्य पर्यटकहरूलाई सहज वातावरण अझै बनेको भने छैन।

    नगरपालिका हुँदै स्थानीय सरकारले आफ्नो मातहत लिने भन्नेबारे धेरै पटक नगरपरिषद्‍बाट निर्णयहरू गरिएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। कोतगढीभित्र तत्कालीन समयमा रहेका महत्त्वपूर्ण तीनवटा घरहरू भत्किसकेका छन्, भग्नावशेष मात्र देखिन्छ। गढीको बाहिरी भाग भने निकै मनमोहक रहेको छ। हरेक वर्षको दशैँमा गडीभित्र रहेका दुईवटा रानी र अर्ना नामका तोपहरू पड्काएर जिल्लाभरका सबैले टीका लगाउने संकेत पाउने गरिएको भए पनि अहिले ती तोपसमेत तत्कालीन सेनाले सुरक्षाका लागि भन्दै सुर्खेत लगेको थियो।

    दैलेखको ऐतिहासिक पहिचानका लागि गढीभित्रका तोपहरू दैलेखमै ल्याउने र जनताले हेर्न सहज वातावरण बनाउन दैलेखमा रहेको नेपाली सेनाको गणसँग समन्वय भइरहेको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।

    पंचिस देवल 

    सदरमुकाम दैलेख बजार नजिकै रहेको ९०० वर्षअघि संवत् १३२१ मा निर्माण गरिएको इतिहास भएको भुर्तीस्थित पंचदेवललगायतका अन्य देवलहरू समेत टुक्रिँदै र फुट्दै गएका छन्। दैलेख बजारबाट लगभग तीन किलोमिटर पूर्व-उत्तर अर्थात् सुर्खेतबाट दैलेख बजार हुँदै जुम्ला र जाजरकोट जाने मूल बाटोको बायाँतर्फ देवल भएको एउटा अत्यन्त रमणीय ठाउँ छ, जसलाई स्थानीय मानिसहरू भुर्तीको पंचिसदेवल भन्ने गर्छन्। यही ठाउँबाट भुर्तेलको उत्पत्ति भएको मानिन्छ।

    करिव ३२ देखि १८ वर्गमिटर क्षेत्रमा यी देवलहरू बनेका छन। यहाँ २२ वटा देवलहरू अस्तित्वमा छन्। तीनवटाको जीर्णोद्धार गर्ने काम भइरहेको छ। 

    १० खम्ब देवल 

    खम्ब देवल विलकुलै सादा अर्थात् एउटै ढुंगामा बनाइएको देवलाकार पाषाण स्तम्भ हो, जसमा आमलक, कलश र गजुराकार शीर्ष विन्दु रहेको हुन्छ। 

    २० देवल

    देवल वास्तवमा देवलायको छोटकरी नाम भएकाले यसको योजना शास्त्रीय आधारमा गरिएको छ। धेरैजसो देवलका ढोकामाथिको कार्नेसमा सानै भए पनि गणेशको मूर्ति कुँदिएको छ। यस प्रकारका सबै देवलहरूको भित्री भाग सादा र बाहिर भने केही फूलबुट्टा वा अन्य कलाद्वारा अलंकृत गरिएको देखिन्छ। दैलेखका धेरै स्थानहरूमा यस्ता देवलहरू देखिन्छन्। करिव २५ बढी स्थानहरूमा पाँचवटा देवलहरू रहेका छन भने १३ देखि २५ वटासम्म देवलहरू भएका स्थानहरूमा पनि पाँच बढी छन्। विभिन्न स्थानहरूमा वीर खम्बहरू पनि प्रशस्त मात्रामा देख्न सकिन्छ।

    बेलासपुर मन्दिर 

    बेलासपुर मन्दिर दैलेखको नारायण नगरपालिका- ६ र ३ को सिमानामा अवस्थित छ। सदरमुकामको अग्लो भूभागमा रहेको यो मन्दिर दैलेख जिल्लाको पुरानो र सबैको आस्था रहेको मन्दिरका रूपमा चिनिन्छ। पुरानो मन्दिर भत्काएर अहिले पक्की मन्दिर निर्माण गरिएको छ। बाइसे र चौबीसे राज्य हुँदा संग्राम शाहीको बेलासपुर राज्य संचालनपश्चात बेलासपुरे राजाले जुम्ला सिंजाकी राजकुमारीसँग विवाह गरेका थिए। विवाहमा जुम्लाकी राजकुमारीले आफूसँगै आफ्नो माइती देवता वटुक भैरव पनि साथमा दाइजो ल्याएकी हुन् भन्ने कथन अहिले पनि कायमै छ।

    बटुक भैरवको मूर्ति साथमा ल्याएकी रानीले दरबारभित्रै मन्दिर स्थापना गरी नियमित पूजाआजा नित्य कर्मका रूपमा गर्ने गरेको र तत्कालीन समयमा बेलासपुरे राजाले सर्वसाधारणका लागि शनिबार र मंगलबार मात्र पूजाका लागि खुला गर्ने गरिएको पुजारी बताउँछन्। हाल पनि बेलासपुर मन्दिरमा शनिबार र मंगलबार पूजा हुने गर्छ भने विशेषगरी बडादशैँको नवरात्रिमा नौ दिनसम्म दुर्गा पूजा पनि यही मन्दिरमा गरिन्छ। तत्कालीन सिंजाका महाराज मलय वमका सन्तान यसो वमदेखि संग्राम शाही र कर्ण शाहीसम्म ११ पुस्ताले राज्य गरेको बेलासपुर राज्यमा रास्कोटी राजाहरूले समेत शासन संचालन गरेको पाइन्छ। 

    महावु धाम  

    दैलेखको महावु गाउँपालिका, नौमूले गाउँपालिका र कालीकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने महावु धाममा पैदल यात्रासँगै सवारी सधान प्रयोग गरेर सजिलै पुग्न सकिने भएपछि तीर्थयात्रीको संख्या आजभोलि बढ्दै गएको छ। हरेक वर्षको जनै पूर्णिमाका अवसरमा महावुमा भव्य मेला लाग्ने गर्छ। महावु गाथका भगवान शिवको पूजापाठ गरेपछि मात्र देशभरका अन्य मन्दिरहरूमा पूजापाठ हुने भएकाले महावुधामलाई ठूलो शक्तिपिठका रूपमा पूजापाठ हुँदै आएको छ। अहिले पनि एउटा मात्र वर मागे पूरा हुने देवताका रूपमा शिव देवताको पूजापाठ हुने गरेको छ।

    पुरुष र महिलाहरूको बराबरी उपस्थिति हुने धार्मिक मेलामा शौचालयको व्यवस्थापन, खानेपानी र बासको व्यवस्थापन हुनुपर्ने माग तीर्थयात्रीको छ। रमणीय पाठन लेक, बुकी झार, उच्च भागमा पनि समथल भूभागको मनरोम दृश्यावलोकन र एउटा मात्र वर मागे पूरा हुने विश्वासका कारण महावु धाममा धार्मिक पर्यटकहरूको चाप बढ्दै गएको छ। एक हजार वर्ष पहिले दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुंगामा दिनहुँ दूध चढाएका र पछि शिवलिंग उत्पत्ति भएको किंवदन्ती छ।

    ढुंगा फुटेर शिवलिंग उत्पत्ति भएपछि बोल्न नसक्ने आचार्य ब्राह्मणका छोराले वेद पढ्न जानेका थिए। दैलेखको भुर्तीका आचार्य ब्राह्मणहरूले शिवलिंगमा दूध चढाउने र कालीकोटका काफ्लेहरूले शिव देवताको पहिलो पूजापाठ गर्ने चलन अहिले पनि कायमै छ। आशा गुर्जामा भने अझै विवाद छ। महावु धाम कालीकोट वा दैलेख भनेर लामो समयसम्म विवादसमेत भएको थियो। सर्वोच्च अदालतसम्म मुद्दा पुगेको बताइए पनि पछिल्ला दिनहरूमा यसबारे थप जानकारी प्राप्त भएको छैन।

    दैलेखका आचार्य ब्राह्मण र कालीकोटका काफ्ले ब्राह्मण मामा भाञ्जा रहेको र दैलेखका आचार्यले केही समयअघि कालीकोटका काफ्लेलाई आशा गुर्जासहित पूजापाठ गर्नु भनेर जिम्मेवारी दिई आफू जुम्लामा राज परिवारको किरियामा गएपछि देउताको पूजाभन्दा राजघरानाको किरियालाई महत्त्व दिएको भन्दै दैलेखका आचार्य ब्राह्मणसँग रहने आशा गुर्जा त्यस बेलादेखि काफ्लेहरूले नै राखेको भनाइ अहिले पनि सुन्न पाइन्छ। 

    दैलेखका सम्पदाबारे यसो भन्छन् विज्ञहरू 

    लामो समयदेखि दैलेखका सम्पदाहरू र भाषा साहित्यको बारेमा खोज अनुसन्धान गर्दै आएका प्राध्यापक डा. मधुसूदन गिरी भन्छन्, 'राज्यले दैलेखका सम्पदाहरू संरक्षणमा दिनुपर्ने चासो दिएको छैन, अब जिम्मा स्थानीय सरकारको हो। प्रदेश सरकारले दैलेखलाई पर्यटन, इतिहास र भाषा साहित्यको प्रमुख गन्तव्य जिल्ला बनाउनुपर्छ।' दैलेखको इतिहास लेखनका लागि चासो राख्दै आएका इतिहासविद् डा. राजाराम सुवेदी भन्छन्, 'दैलेखलाई केन्द्र मानेर समग्र कर्णाली प्रदेशको इतिहासको खोजी गर्नु जरुरी छ। दैलेखका पत्रकारहरूले २०७३ सालदेखि सुरु गरेको इतिहास लेखन कार्यलाई सरकारले मद्दत गरेर सो कार्य पूरा गर्न सके कतिपय नभेटिएका इतिहास र बाझिएका कुराहरू स्पष्ट हुने सुवेदीको भनाइ छ। लुकेका सम्पदाहरूको पुनः खोजी गरेर दैलेखलाई थप पहिचान बढाउन सके दैलेख धार्मिक, ऐतिहासिक, साँस्कृतिकसँगै विभिन्न वीरताको संगमका रूपमा पहिचान बनाउन सकिन्छ।'

    वर्सेनि लाखौँ पर्यटकहरू कर्णाली प्रदेशमा आउन सक्छन्। मूर्त सम्पदाको खोजीसँगै योगी नरहरिनाथका कृतिहरूका बारेमा नजिकबाट जानकारी राख्दै आएका दैलेखका विश्व के.सी.ले भने, 'दैलेखका सम्पदाहरूको महत्त्व के छ भनेर योगी नरहरिनाथले लिपिबद्ध गरेर इतिहास खोजी गरिदिनुभएको छ। कतिपय नयाँ कुराहरूका बारेमा समेत पछिल्ला विज्ञहरूले खोजी गरिदिएका छन्। अब समग्र इतिहासको लिपिबद्ध गर्नुपर्ने कार्यको शुभारम्भ गर्नुपर्छ।  

    केके भए अहिलेसम्म कामहरू? 

    दैलेख जन्मथलो भएका र काठमाडौंमा विभिन्न विधामा काम गर्दै आएका डा. मधुसूदन गिरी, राष्ट्रिय समाचार समितिका अध्यक्ष कवि हरिहर अधिकारी श्यामललगायतका विभिन्न विज्ञहरूले दैलेखका बारेमा ३० वर्षअघिदेखि लेख्दै आएका छन्। दैलेखमा रहेका ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसारका लागि २०६६ सालमा दैलेखमा भएको दैलेख महोत्सवमा सुन्तली र धुर्मुसले दैलेखको शिरिस्थान र नाभिस्थानमै पुगेर शिरिस्थानकै बारेमा छायांकन गरेर 'मेरी बास्सै' टेलिशृंखलामा प्रसारण भएपछि यस क्षेत्रको प्रचार अभियानले तीब्रता पाएको देखिन्छ।

    दैलेख उद्योग वाणिज्य संघले काठमाडौंमा फोटो प्रदर्शनीलगायतका विभिन्न कामहरू भए। फोटो पत्रकार भरतबन्धु थापालगायत दैलेखमा लामो समयदेखि पत्रकारितामा होमिएका पत्रकारहरूले समेत दैलेख चिनाउने अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। २०७३ फागुनबाट औपचारिक रूपमा सुरु भएको इतिहास लेखन कार्यले निरन्तरता पाएको भए पनि आर्थिक अभाव कायमै रहेको छ। दैलेखमा रहेका एक हजार आठ बढी मूर्त अमूर्त सम्पदाहरू छन्, सबैको खोजी गरेर सरकारलाई विकासको खाका प्रस्तुत गरेर दबाब सिर्जना गर्ने अभियान जिल्लाका संचारकर्मीहरूले थालनी गरेको पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र के.सी.को भनाइ छ। 

    नयाँ गन्तव्यमा देखिएका चुनौतीहरू  

    दैलेख सदरमुकाममा रहेको आकर्षक र ऐतिहासिक कोतगढी अहिले पनि सहजै हेर्न पाइँदैन, नेपाली सेनाको भएकाले सेनासँग मूलद्वारको चाबी हुन्छ। सर्वसाधारणका लागि खुला गर्नुपर्ने चुनौती कायमै छ। गढीभित्र रहेको रानी र अर्ना नामका तोपहरू दैलेखको गढीमा ल्याउन सके पर्यटकहरूको थप आकर्षण बढ्ने देखिन्छ। तत्कालीन समयमा असुरक्षित भन्दै तोपहरू सुर्खेत लगिएको छ। पञ्चिस देवललाई सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने हो, अहिलेसम्म भएको छैन, वरपर जग्गा निकै कमी भएकाले पूर्वाधार विकास हुन सकेको छैन। वडा नं.- ६ का वडा अध्यक्ष प्रकाश न्यौपानेले अहिले जग्गा अतिक्रमण गर्ने, जग्गाधनीलाई मुआब्जा दिने र डिपिआर तयार गर्ने कार्य सुरु भएको बताएका छन्।

    यी दुवै स्थानहरूमा सहज आवतजावत बनाउन सकेमा पर्यटकहरूले टिकट काटेर हेर्न सक्ने सम्भावना धेरै रहेको देखिन्छ। महत्त्वपूर्ण शक्तिपिठको रूपमा रहेको बेलासपुर मन्दिरमा भ्यू टावर निर्माण गर्नुपर्ने आवश्यकता छ। पुरानो शैलीको मन्दिर भत्काएर अहिले नयाँ निर्माण गरिएको छ। नयाँ संरचनाअनुसार यसको महत्त्व झनै बढ्ने देखिएको ।छ दैलेख सदरमुकाम हुँदै महावु धाममा पुग्दा बाटोमा भेटिने लेक, भेडीगोठ, गाईभैँसी चरन क्षेत्र र सदरमुकाममा अवस्थित इट भन्ने स्थानबाट सहजै प्याराग्लाइडिङसमेत गर्न सकिने भएकाले यो क्षेत्र पर्यटकहरूका लागि मनमोहक छ। सडक कच्ची छ, कच्ची सडक भएका कारण आवतजावतमा धेरै समस्या हुने गरेको छ। पैदल यात्रुहरूका लागि पनि निकै रमाइलो महसुस हुने गरेको यस स्थानमा मन्दिर क्षेत्रमा पुगेपछि उचित बासस्थान अभाव छ, पार्टी पौवा र धर्मशालाको व्यवस्थापन गर्नुपर्ने देखिएको छ। 

    के भन्छन् स्थानीय सरकारका प्रमुखहरू 

    दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा ऐतिहासिक महत्त्वका वस्तुहरू धेरै छन्। दैलेख सदरमुकामभित्र रहेका विभिन्न ऐतिहासिक सम्पदाहरूको संरक्षणका लागि रणनीति तयार गर्न थालेको नगर प्रमुख रत्नबहादुर खड्का बताउँछन्। ऐतिहासिक तीर्थस्थल कोटिलामा पञ्चकोसी तालको डिपिआर सुरु गर्ने, नगर प्रोफाइल तयार गरेर सम्पदाहरूको सचित संरक्षण र प्रचार प्रसार गर्ने, ऐतिहासिक कोतगढी र टुँडिखेल स्थानीय सरकारको मातहत ल्याउने अभियान थालिएको खड्काले बताए। दुल्लु नगरपालिका दैलेखका प्रमुख घनश्याम भण्डारीको भनाइ पनि उस्तै छ।

    भाषा लिपिको पहिलो शिलालेख र नजिकै रहेको कृतिस्तम्भ समेटेर विजया साहित्यिक उद्यानको निर्माण कार्य सुरु गरिएको र २५ जना साहित्यकारको शालिक निर्माण गरिने महत्त्वाकांक्षि योजना भण्डारीको छ। स्थानीय जग्गादाताहरूले जग्गा नदिँदा लोप हुने अवस्थामा रहेको नेपाली भाषाको पहिलो शिलालेख संरक्षण नभएका साहित्यिक उद्यान अभियान पूरा हुनेमा कम विश्वास गरेका छन्। स्थानीय बासिन्दाहरूले दुल्लु क्षेत्रमा रहेका विभिन्न १५ वटा पुरातात्त्विक वस्तुहरूको डिपिआर सुरु गर्ने योजना रहेको भण्डारीले बताए।

उदयराज अधिकारी

अधिकारी थाहाखबरका दैलेख संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]