|

दमक : दुर्गम पूर्वी उच्चपहाडी जिल्ला ताप्लेजुङको फुङ्लिङमा जन्मिएका कालीदास श्रेष्ठलाई बाल्यकालमा थाहै थिएन, कम्युनिस्ट भनेको केहो भन्ने। २००८ सालको कार्तिकमा जन्मिएका उनी लालबहादुर र ईन्द्रकुमारी श्रेष्ठका दुई छोरा र तीन छोरीमध्येका एक हुन्। उनले मातृवात्सल्य खासै अनुभूत गर्न पाएनन्। उनी चार वर्षको छँदै आमाको निधन भयो। आमाको निधनले उनको परिवारमा पीडा मात्र थपेन जीवनमा एउटा दुःखदायी मोड पनि ल्याइदियो। त्यही मोडमा मोडिँदै मोडिँदै वामपन्थी रुझानमा परेका उनी भएको जागिर छाडेर 'होलटाइमर' कार्यकर्ता बने।

झापामा वाम जग बसाल्ने एउटा ज्यामी बने उनी। मेची अंचलमा संगठन विस्तारमा एउटा सिपाही बने। उनमा सानैदेखि जागेको विद्रोही चेतले पार्टीभित्र पनि बारम्बार विद्रोहीको कित्तामा परे। फरक कित्तामा मात्र परेरनन्, अहिले उनी मूल राजनीतिको लहरबाट किनारामा पुगेरका छन् र गृहस्थी जीवन जिइरहेका छन्। 

ऋणले हिँडायो बसाइँ

ताप्लेजुङमै छँदाको कुरा हो। २०१२ सालमा अर्का भाइ जन्मिए। आमाको त प्रसूति व्यथाकै बेला निधन भयो। बाँचेका भाइलाई हुर्काउन उनीभन्दा पनि उनका बाबुमा अभिभारा आइपर्‍यो। ‘सानो बालखले आमाको दूध खान नपाएपछि बुबाले उसैलाई खुवाउन एउटा गाई किन्ने विचार गर्नुभएछ तर पैसा थिएन’, आँसुका धारा आँखाका डिलमा अड्याएर उनले भने, ‘बुबाले ऋण गरेरै ३५ रुपैयाँमा एउटा गुराँसी नाम गरेको गाई किन्नुभएछ तर व्याज यस्तो चर्को थियो कि सयकडा एक मुरी धान दिनुपर्ने थियो। आखिर भाइ पनि केही महिनामा बित्यो, त्यही ऋणले बसाइँ हिँडायो।’ पुर्ख्यौली थातथलो छाड्नुपर्दाको कुरा सुनाउँदा सुनाउँदै गला अवरुद्ध पारेका उनका अनुसार व्याज तिर्दातिर्दै धान्नै सकिने अवस्था भयो, खान लगाउन नपुग्ने भएपछि उनको परिवार झापा बसाइँ सर्नुपर्‍यो।

साहुको ऋणले थिचिएको थाप्लोमा झिटीगुण्टाको भारी लिएर उनको परिवार २०२० सालको माघमा झापाको गौरादहस्थित महारानीझोडा आइपुग्यो। आफ्नै बाबुसँग झोडा फाँडेर बसालेको घर संसारमा उनको तीन पुस्ता रमाएको छ। पाँच वर्षअघि उनका बाबुको पनि निधन भयो। 

विद्रोही नायक हुने रहर

पहाडमै धुलौटे पाटीबाट अक्षराम्भ गरेका उनले गौरादहमा आएर पनि अध्ययनलाई निरन्तरता दिए। अध्ययनमा निकै लगाव राख्ने उनी अरूभन्दा तिख्खर पनि थिए। त्यसैले सबैजसो कक्षामा उनले कक्षानेताको भूमिका पाए। एकातर्फ सानैदेखि नेतृत्व गर्न सक्ने क्षमता, अर्कातर्फ बाल्यकालदेखि नै हुर्किएको विद्रोही स्वभाव। त्यसैले उनी थाहै नपाई वामपन्थी शिक्षकहरूका पनि प्यारा भए। ‘अरूले खुला राजनीति गर्न सक्ने अवस्था थिएन, गाउँगाउँमा कार्यकर्ता उत्पादन गर्ने भनेकै शिक्षकहरूले थियो’, आफ्नै गुरुमार्फत् चिनियाँ कथाहरू पढ्न प्रेरणा पाएका उनले वामदर्शन अध्ययनको प्रारम्भिक दिन सुनाए, ‘सिधै मार्क्सवादका ठेलीभन्दा पनि कथाहरूमार्फत् कम्युनिस्ट राजनीति बुझाउन त्यस्ता कथाका पुस्तकहरू दिइन्थ्यो। पढ्दा पढ्दै कथाका सामन्ती पात्रसँग विद्रोही भाव पैदा हुन्थ्यो र सर्वहाराहरू प्यारा हुन्थे अनि समाजमा आफूलाई पनि त्यही कथाको विद्रोही नायक जस्तै हुने रहर जाग्थ्यो।’

जागिर छाडेर पार्टीको शपथ

२०२९ सालमा उनले एसएलसी दिने बेलासम्ममा झापामा कम्युनिस्ट विद्रोहको राप रन्किन थालिसकेको थियो। उनलाई पनि त्यो रापले नछोएको होइन। बुर्जुवा शिक्षा बहिष्कारको पक्षधरता लिएर धेरैले पढाइ पनि छाडे। ‘मलाई पनि साथीहरूले पढाइ सढाइ छाडेर विद्रोहमा होलटाइमर हुन भनेका हुन् तर मेरो तर्क थियो कि जुनसुकै व्यवस्था आए पनि ज्ञान र विज्ञान बदलिँदैन, पढेको कुरा नाश हुँदैन’, आफ्नो अध्ययनप्रतिको मोह सुनाउँदै उनले थपे, ‘आखिर अध्ययन गरेको ज्ञान पनि विद्रोह र आन्दोलनमा उपयोग गर्न सकिन्छ नि भनेर मैले पढाइ छाडिनँ र धरानस्थित खाद्यप्रविधि क्याम्पस अध्ययन गर्न लागियो।’

अध्ययनसँगै राजनीतिक सरसंगत त टुटेन तर आईटेक सकेपछि थप अध्ययनको व्यवस्था त्यहाँ थिएन। बाहिर गएर पढ्ने अवस्था पनि थिएन। त्यसैले उनी जागिरका लागि काठमाडौं हानिए। काठमाडौंमा रोयल डग ल्यावमा खाद्य प्राविधिकको जागिर भेटे। त्यस बेला महिनाको ४६८ रुपैयाँ तलव थियो तर आधा पैसा पार्टीलाई लेवीवापत बुझाउनुपर्थ्यो। त्यही दौरानमा उनको संगत श्याम नाम गरेका एक जना 'कमरेड'सँग भयो। उनको आउजाउ भइरहन्थ्यो। उनले बारम्बार जागिर छाडेर झापातर्फ संगठन विस्तारमा लाग्न प्रेरित गरिरहन्थे। ‘श्यामजीले पनि जिल्लातिरै गएर संगठन बनाउन भनिरहनुहुन्थ्यो, मलाई पनि त्यो कुरो सही नै लाग्यो’, सरकारी जागिर छाड्नुपर्दाका दिन सुनाए उनले, ‘जागिर छाड्ने निधो गरेपछि २०३४ सालको साउनमा तिनै श्यामजीले म, अशोक राई र युवराज कार्कीलाई पार्टी सदस्यता दिलाउनुभयो। पछि पो थाहा भयो ती श्याम भन्ने मान्छे त अमृतकुमार बोहोरा पो रहेछन्।’

माफी पाए पनि भूमिगत

जागिर छाडेर आए पनि उनको काम नै झापामा संगठन निर्माण गर्नु थियो। ‘त्यस बेला पार्टीको नेता को हो पनि चिनिँदैनथ्यो। अमृतजीले जानुहोस् सबैलाई कम्युनिस्ट बनाउनुहोस् भन्नुभयो’, झापाका संगठन विस्तारका प्रारम्भिक दिन उनले सुनाए, ‘त्यस बेलासम्म कम्युनिस्ट राजनीति विभिन्न मोर्चा र शिरामा विभक्त थियो। साँच्चै भन्ने हो भने म कुन समूहमा थिएँ भन्ने पनि थाहा भएन। गाउँगाउँमा तीन/तीन जना भए पनि भेला पारेर कम्युनिस्ट पार्टी बुझाउन थालियो।’

विभिन्न वाम घटकको एकतापछि २०३५ सालमा नेकपा माले स्थापना भयो। त्यसपछि भने संगठन निर्माणले गति लिएको उनको अनुभव छ। त्यही वर्षको फागुन १ गते देशैभरि एकसाथ पम्प्लेटिङ गर्ने पार्टी नीति थियो। उनी खटिएका थिए, झापाको दमकमा, जुन शहर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर पनि हो। त्यस रात ठीक ८ बजे दमकका चार दिशाबाट पम्प्लेटिङ सुरु भयो। ‘पुलिसले सुइँको पायो भने सबैलाई खोरमा हाल्थ्यो। धन्न ५ मिनेटमा काम सकियो’, लडाइँ जितेको सिपाहीझैँ गरेर सुनाए उनले।

संगठन निर्माणमा सूचना आदान प्रदान जरुरी थियो तर माध्यमहरू केही थिएनन्। सबै सूचनाहरू चिठीबाटै आदान प्रदान हुन्थ्यो। सबैले ती पत्रहरूलाई अतिगोप्य राख्ने शपथ नै खाएका हुन्थे। तर २०३५ सालको फागुनको एक दिन झापाकै केर्खामा रहेका एक साथीमार्फत् सबै चिठी प्रहरीको हातमा पुगे। संगठन निर्माणमा संलग्नहरू, रणनीति, योजना सबै प्रहरीले थाहा पायो। त्यसबेला किशोरावस्थाका नवजवानहरूलाई समेट्न बालरेड गार्ड स्क्वार्ड गठन गर्ने चलन थियो। उनलाई पनि पुलिसले छाड्ने कुरा भएन। तर यो कुरा पुलिस पुग्नुअघि नै तिनै बालरेड गार्डहरूमार्फत् सर्कुलर हुँदै उनको कानमा पुग्यो। ‘पुलिस आउँदै छ भनेर बालरेड गार्डहरूमार्फत् थाहा पाएपछि सबै दस्तावेज लुकाइयो’, त्यस दिन पुलिसलाई झुक्याउन सफल भएको कथा सुनाउँदा उनको बुढ्यौलीमा पनि खुबै जोस देखिन्थ्यो। उनले थपे, ‘३५ जना पुलिसको टोली घरमा आयो। मचाहिँ नजिकैका किसान जगत माझीको घरमा गएर लुकेँ, श्रीमतीलाई पनि महिनौँ भयो हराएको घरमा आएको छैनन् भन्नु है भनेको थिएँ, त्यसै भनिछन्। मैलेचाहिँ आफू लुकेको घरको झ्यालबाट सबै गतिविधि हेरिरहेँ। जब पुलिसहरू लाखापाखा लागे अनि बल्ल निस्किएँ र त्यसै दिनदेखि पूर्णकालीन भूमिगत भइयो।’

राजनीतिक रूपमा विभिन्न मुद्दा लागेकाहरूलाई पंचायती सरकारले २०३६ सालमा आममाफी पनि दियो। मुद्दा लागेका धेरै सार्वजनिक भए तर उनलाई पार्टी सार्वजनिक नहुन निर्देशन दियो। भूमिगत नै रहे। जब पंचायती पर्दा हट्यो २०४६ सालको आन्दोलनसँगै अनि मात्र उनलाई पार्टीले दिएको भूमिगत रहने निर्देशनको म्याद पूरा भयो।

हतियार उठाउने हतारले प्रजातन्त्र ढिलाइ

नेपाली कम्युनिस्ट आन्दोलनले किशोरावस्था पार गर्दै गर्दा झापाका क्रान्तिकारी कम्युनिस्टहरूले भने वयष्कताको उदाहरण दिँदै वर्ग शत्रु खत्तम अभियान चलाए। २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०२५ सालतिर आइपुग्दा भने बलिष्ठ र रापिलो भइसकेको थियो। यसैलाई पुष्टि गर्दै तत्कालीन मेची–कोसी कोअडिर्नेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअडिर्नेसन कमिटी, झापाले तत्कालीन समाजमा भूमिपति ठहरिएका र गरिवमाथि अन्याय गर्नेहरूलाई वर्ग शत्रुको विशेषण दिए र उनीहरूको सफाया अभियान चलाए।

यही अभियान वा आन्दोलनले नै नेपाली राजनीतिमा झापा विद्रोहको इतिहास बनाएको छ। तर उनको नगरमा त्यो वर्ग खत्तमका नाममा हतियार उठाउन भएको हतारो गलत भएको तर्क गर्छन्। ‘म पनि २०२६ सालदेखि वामपन्थी विचारमा जोडिएको हुँ। नेताहरूको भाषण र योजना सुनिन्थ्यो। एक दिन सीपी कामरेडले गौरादहको ठुटामा उभिएर गर्नुभएको चर्को भाषण पनि सुनियो। विद्रोह त्यस ढंगबाट अघि बढ्छ भन्ने लागेको थिएन’, झापा विद्रोहमा हतियार उठाउनु गलत भएको तर्क राख्दै उनले भने, ‘कम्युनिस्टहरूको त्यो अभ्यासपछि पंचायती बर्बरताले जनतालाई थप थिलथिलो बनायो। ६६८ परिवारमा असर देखियो। आन्दोलन छिन्नभिन्न भयो। कयौँ आन्दोलनकारी पक्राउ परे, केही कमरेडहरू शहीद हुनुभयो। आन्दोलन झनै निस्तेज भयो।’

तत्कालीन सरकारसँग जुध्ने क्षमताको विकास नगरी सशस्त्र आन्दोलन थाल्दा आन्दोलन झनै कमजोर भएको तर्क गर्ने उनी त्यस बेला शान्तिपूर्ण आन्दोलन गरेको भए २०३६ सालमा बहुदलीय प्रजातन्त्र आइ सक्ने दाबी पनि गर्छन्।

झापा विद्रोहकै क्रममा तत्कालीन आन्दोलनका अगुवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ पनि पक्राउ परेका थिए। उनीहरूलाई झापा कारागारमा राखिएको थियो। उनीहरूले प्रशासन समक्ष आत्मसमर्पण गर्ने छाँट नदेखाएपछि २०२९ साल फागुन २१ गते इलाम कारागार सरुवा गर्ने बहाना बनाइयो। झापाको शनिश्चरे हुँदै इलाम पुर्‍याउने भनी उनीहरूलाई झापा र इलामको सीमा क्षेत्र सुखानीमा पुर्‍याएर गोली हानी हत्या गरिएको थियो। 

भूमिगतकालमा नेता, बहुदलमा किनारा

भूमिगत कालमा संगठन विस्तारदेखि नेतृत्वसम्ममा अगुवाइ गरेका उनी बहुदलीय व्यवस्थापछिको खुला राजनीतिमा भने किनारामा धकेलिएका छन्।

जागिर छाडेर झापा आई संगठन निर्माणमा जुटेका उनीसहित छ जनाको टिम नै जिल्ला कमिटी बन्यो। उनी त्यसको नेतृत्वसहित सचिव बने। एक वर्षपछि अधिवेशन भयो, फेरि सचिव बने। २०३८ सालमा अंचल अधिवेशन हुँदा अंचल कमिटी सदस्य बने। त्यहीबीचमा पार्टीभित्र दुई लाईन संघर्ष चलेको उनी सुनाउँछन्। सीपी मैनाली पार्टी स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा र अरू राजनीतिक स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा रहँदा दुई लाइन संघर्ष विकसित भएको सुनाउँछन् उनी। कम्युनिस्ट पार्टीभित्र दुई लाइन संघर्ष स्वाभाविक भए पनि त्यही व्यवस्थापन हुन नसक्दा गुटको रूपमा विकास हुने गरेको उनको अनुभव छ।

२०३८ सालमा अंचल अधिवेशन हुँदा प्रदीप नेपाल सचिव भएको र कुलप्रसाद उप्रेती ताप्लेजुङबाट, देवराज घिमिरे पाँचथरबाट, अगम बान्तवा इलामबाट र आफू झापाबाट सदस्य रहेको कमिटी गठन गरेको उनले सुनाए। ‘तर २०४१ सालदेखि पाँचथर मैले नै हेर्नुपर्ने भयो, म त्यता लागेँ।’ झापाबाट पाँचथर पुगेपछिका अनुभवका पोका खोल्दै गए उनी, ‘मेरै नेतृत्वमा पाँचथरमा दुईवटा अधिवेशन भए। मैले नै नेतृत्व गरेँ तर जब २०४९ सालमा पार्टीको पाँचौँ महाधिवेशन भयो, त्यसपछि भने हामीमाथि विभेदको शृंखला सुरु भयो, हुँदाहुँदै भित्तैमा पुर्‍याइयो।’

पाँचौँ महाधिवेशनमा ‘जबज’को विपक्षमा उभिएका कारण विभेद भोग्नुपरेको तिक्तता उनी पोख्छन्। पाँचौँ महाधिवेशनपछि उनले आफ्नै गृहजिल्ला झापामा गएर राजनीति गर्ने अनुमति पार्टीसँग मागे। ‘जिल्ला सचिव भएको मान्छे एक तह घटुवा भएर मात्र जान पाउँछस् भनियो, मैले हुन्छ भनेर झापा लागेँ तर झापामा पनि दोस्रो अधिवेशन गराएर पाँचथर गएर आउँदासम्म अर्को अधिवेशन भएको रहेनछ। त्यसपछि अधिवेशन आयोजक समितिमा रहेर अधिवेशन गराइयो', उनले भने, 'महाधिवेशनदेखि सुरु भएको विभेदको शृंखला त्यहाँ पनि देखियो कि साथीहरूले जिल्ला कमिटीमा सदस्यसमेत राख्न आवश्यक ठान्नुभएन। महाधिवेशनमा जबजको विपक्षमा उभिँदाको बदला लिएजस्तो लाग्यो। त्यसपछि भूमिकाविहीन भइयो।' सामान्य मतदाता र शुभेच्छुकमा सीमित पारिएपछि गाउँ घरमै बसेको उनी बताउँछन्। भूमिगतकालको नेता खुला राजनीतिमा नेपथ्यमा पुग्नुको बेलिबिस्तार सुनाएपछि लामो खुइ काढे उनले।

'कम्युनिस्ट भएर कुनै पछुतो छैन'

आफूहरूले भूमिगतकालमा ज्यान दाउमा राखेर पार्टी बनाए पनि खुला राजनीतिपछि धेरै अवसरवादीहरूको फाइदा लिने थलो भएको उनको टिप्पणी छ। शक्तिका पछि लाग्नेहरूको बोलवाला पार्टीमा बढेको र उनीहरूले नेतृत्वलाई पनि घेराबन्दीमा पार्दै लगेको बताउने उनी कुनै अवसर नपाए पनि कम्युनिस्ट भएको प्रति भने गर्व गर्छन्। ‘कस्ताकस्ता संघर्ष गरेर कम्युनिस्ट पार्टीलाई यो स्थानसम्म ल्याइयो तर बीचमा भूमिकाविहीन बनाउँदा पनि कतै लाग्ने सोचाइ आएन बरु एमालेबाट माले गठन भएपछि त्यता लागियो, कम्युनिस्ट नै भइयो तर २०७० देखि त फेरि एमालेमै छु।’ तत्कालीन नेतृत्वले पार्टीभित्र कुनै भूमिका नदिएकाले पहिलो संविधानसभाको निर्वाचनमा मालेबाट उम्मेद्वारसमेत भएको बताउने उनी हाल पारिवारिक खुसी र खेतीपातीमै रमाएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी बने पनि नेतृत्वको कार्यशैलीप्रति भने उनको चित्त बुझेको छैन। ‘पार्टी एकता भयो, खुसीको कुरा हो तर आकार ठुलो भएर मात्रै हुँदैन, कार्यशैली पनि कम्युनिस्ट जस्तै हुनुपर्‍यो नि!’, नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएका उनले भने, ‘नेतृत्व कहिल्यै पनि कार्यकर्ताको प्रश्नबाट तर्किनुहुँदैन, कार्यकर्तालाई प्रश्न गर्न प्रोत्साहन गर्ने पार्टी मात्र मार्क्सवादी रहन्छ, कम्युनुनिस्ट रहन्छ तर अहिले कुनै प्रश्न राख्नासाथ भित्तैमा पुर्‍याउने चलन देखिएको छ। यो विगतमा पनि थियो। यसलाई सच्याउनुपर्छ।’

नेतृत्वले पनि सबै कुरा थाहा नपाउने हुँदा कार्यकर्ताबाटै जनस्तरसम्म पार्टीको प्रभावबारे जानकारी पाउने हुन् भन्ने उनको धारणा छ। त्यसैले अहिलेको नेतृत्वलाई ‘चुकिल्याङ्’ नबन्न उनको सुझाव छ। ‘चुकिल्याङ्’ भनेको के हो त? उनैले अर्थ्याए, ‘चुकिल्याङ्’ भनेको चिनियाँ लोककथाको एउटा पात्र हो, उसलाई संसारभरिका सबै कुरा थाहा छ भन्ने भ्रम थियो। हरेक कुराको निर्णय लिन सक्ने क्षमता छ भन्ने थियो। दूरदर्शी हुँ भन्ने थियो तर तीन जना गलत नियत राखेका उसका विश्वासपात्रहरूले आपसमा सल्लाह गरेछन् कि अब कुनै विषयमा ‘चुकिल्याङ्’ले प्रश्न गरेछन् भने हामी सबैले एकै प्रकारको उत्तर दिऔँ तर त्यो सत्यभन्दा ठीक विपरीत होस्।

‘चुकिल्याङ्’ले ती गलत नियत राखेका तीन विश्वासपात्रलाई अलग अलग गरेर जेजे प्रश्न गर्थे, उल्टोउल्टो बताउँथे तर तीनै जनाको उत्तर एकै हुन्थ्यो। यसरी सबैको उत्तर सत्यविपरीत तर एउटै आउन थालेपछि ‘चुकिल्याङ्’लाई पनि साँच्चै यी तीन जनाले भनेको कुरा नै सही हो त नत्र कसरी सबैको उत्तर एकै हुन्थ्यो भन्ने लागेछ अनि ऊ आफैँमा ज्ञानी हुँदाहुँदै मूर्खको उत्तर र रिपोर्टिङले सत्यभन्दा ठीक विपरीत अवस्थामा पुगेछ।’

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.