फिचर

गंगास्‍नानको समान पुण्य प्राप्त हुने ‘परशुराम धाम’
SHARES

पुस २२, २०७५

    डडेल्धुरा : सुदूरपश्चिमकै पवित्र तीर्थस्थल परशुराम धाम डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित छ। श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ। 

    एला र श्यामाको संगममा जगदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ। हैयेय वंशी क्षत्रीहरुले पिता जगदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ। 

    महाकाली नदीमहाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ, त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण, गर्नाले पितृ उद्धार तथा देव लोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ। 

    परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ। गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ। त्यसमा पनि मकर स्नान अर्थात माघ स्नानको निकै ठूलो महत्व रहेको छ। स्नानसँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधिपूर्वक गर्ने गरिन्छ। 

    यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ। रथ पूजनको विशेष महत्व रहेको छ, विष्णु कुण्डमा विष्णु, वामदेव, कुण्डमा शिव,परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदीतटमा रहेको शिवलिंगमा शिवपूजनको विशेष महत्व रहेको छ। अति पवित्र वामघाटमा अन्तेष्टि संस्कारको निकै महत्व रहेको छ।

    यी हुन् प्रमुख स्थलहरु 

    संगम

    मानसखण्डसहितमा श्यामा र एलाको संगम अति नै पवित्रको संगम मानिएको छ। महाकाली नदीलाई श्यामा, सरयु, सुरभागा, मन्दाकिनी, वैयासिकी, कालिन्दी, काली भनिन्छ भने रंगुन नदीलाई एला, रेणुका भनी पुराणमा वर्णन गरिएको छ। एलायाः सङ्गमं पुण्यं जामदग्न्याश्रमं सुभ भनेर स्कन् पुराणमा भनिएको छ।

    कुण्ड

    श्यामा एलाको संगममा भगवान् परशुरामले एउटा ढुंगामा आफ्नो बन्चराले तीन हात लम्बाइ, तीन हात चौडाइ,तीन हातै गहिराइ रहेको कुण्ड निर्माण गरेको र सोही कुण्डमा भगवान विश्वकर्माले १० अंगुल परिमिति भएको परशुराम भगवानको प्रतिमा स्थापित गरेको पुराणमा वर्णन गरेको छ। त्यही कुण्‍ड रहेको स्थान नै हालको परशुराम तीर्थ हो। 

    विष्णुमन्दिर

    महाकाली नदीको दक्षिणतर्फ जहाँ रंगुन नदीको संगम रहेको स्थानलाई विष्णुमन्दिर भनिएको छ। सोही विष्णुपुर नै परशुराम क्षेत्र हो। महाकाली नदीको तटमा अलौकिक संरचना रहेको छ जुन संरचना ऋषि महर्षिहरुले यज्ञ गर्दाका बेलाका जौ, तिलको समिश्रण हो भन्ने लोक मान्यता रहेको छ । जो प्राकृतिक रूपमा चुन र ढुंगाको मिश्रणका रूपमा रहेको छ। 

    चक्रतीर्थ 

    सबै किसिमका पाप नाश गर्ने चक्रतीर्थ परशुराम क्षेत्रमा रहेको छ । सोही तीर्थमा स्नान गरेर भगवान परशुरामले महावाल प्राप्त गरेको पुराणमा वर्णन गरिएको छ। चक्रतीर्थ परशुराम तीर्थ अवस्थित रहेको पुराणमा उल्लेख गरिएको छ।

    धर्मद्वार

    परशुराम तीर्थमा रहेको अभूतपूर्व चट्टानमा एउटा द्वार रहेको छ। धर्मपरायण सिद्धपुरुष सहजै द्वार प्रवेश गर्न सक्दछन् भन्ने मान्यता छ। द्वापर युगमा धर्मराज युधिष्ठिर, द्रौपती र चारै भाइसहित यस द्वारमा प्रवेश गरेको लोक मान्यता छ। धर्मद्वारमा प्रवेश पूर्व-मनोअभिलाशासहित बाबियोमा गाँठो पारिन्छ। मनोकामना पूर्ण भएपछि द्वार प्रवेश गरी गाँठो फुकाउने प्रचलन रही आएको छ।

    बर–पीपल 

    सत्य युगमा स्वयं सृष्टिकर्ता ब्रह्माजीबाट सृष्टि गरिएका बर–पीपल यद्यपि स्थापित छन्। सत्ययुगी बर–पीपलका नामले पूजा अर्चना गरिन्छ।

    छत्रशिला 

    महाकाली नदीको पानीभित्र छाता आकारको शिला अवस्थित छ जसलाई स्वयं भगवानले शिवजीको स्वरूप मानेर पूजा गरिन्छ।

    महालिंग 

    १६ शिवालयका देवस्थलहरू महाकाली (सुरसागा) को किनारमा अवस्थित रहेका छन्। १६ शिवालय र वरदानौका २२ देउरा ल्याउने प्रचलन रही आएको छ। देउरा ल्याई देवसभा गरिने, स्नान गर्ने गरिन्छ। 

    भागेश्वर असिग्राम महादेव जगन्नाथ खिट्केश्वर बैजनाथ आदि देउरा ल्याइन्छन्। दार्चुलाको मालिकार्जुन अछामको वैद्यनाथलगायत मानसखण्ड क्षेत्र लगायतका अन्य देवालयबाट समेत देउरा ल्याइने परम्परा रही आएको छ।

    प्रत्येक देउराहरूको छुट्टै स्नान घाट र बस्ने स्थान छन्। शिवालयका देउरा स्थानमा महालिंग स्थापित छन्। देउरामा चल मन्दिरका रूपमा गाँज, डोला तथा देवताका सामग्रीसहित बाजागाजाका साथ ल्याइन्छन् ।

    महाकाली नदी

    महाकालको जटाबाट पृथ्वी लोकमा प्रवाहित मन्दाकिनीलाई श्यामा, सत्यवाहिनी, सुरभागा, सरोजा, वैयासिकी, कालिन्दी, काली, महाकाली, सरयु, गंगा भनी वर्णन गरिएको छ। यसलाई स्थानीय बोलचालमा काली गंगा र केही स्थानमा शारदाका नामले पुकारिन्छ। 

    एला 

    भगवान् विष्णुले कूर्मावतार लिएको कूर्म पर्वतको आलितालबाट निस्केको नदी जो श्यामामा संगमित भएपछि लोक विख्यात नदी भएको पुराणमा उल्लेख छ। जो एला, रेणुका, रंगुन, उनरुवा आदि नामले प्रचलित पवित्र नदीका रूपमा चिनिन्छ। पुराणनमा भनिएको छ, ‘कूर्मपर्वतसम्भुता एला सा सरितां वरा।’

    रेणुका 

    परशुराम तीर्थसँगै माता रेणुका नदीका रूपमा प्रवाहित भएकी छिन्। भगवान् परशुरामकी माता देवीका स्वरूपमा पूजनीय रहेकी छिन्। पिता जगदग्निको आश्रम त्यतैतिर रहेको र माता रेणुका त्यही अवस्थित रहेकाले भगवान् परशुरामको जन्मस्थान पनि यहीँ भएको लोक विश्वास रहीआएको छ।

    महात्म्य 

    परशुराम तीर्थ तथा सरयू, श्यामाको महात्म्य स्कन्द पुराणको मानस खण्डमा उल्लेख गरिएको छ। महाकाली र एलाको संगममा गरिने स्नानलाई निकै ठूलो महत्वका साथमा लिइएको छ। विधिपूर्वक स्नान, तर्पण, दान गर्नाले विष्णु लोक प्राप्त हुनेमा कुनै शंका छैन भनी पुराणमा उल्लेख छ। ‘परशुराम तीर्थमा नै परशुराम भगवानले तपस्या गरेर चिरञ्जिवीको वरदान पाएका थिए।’ पुराणमा भनिएको छ।

    घाटहरू 

    वामघाट (बाङघाट) 

    महाकाली र रंगुनको संगममा रहेको अति नै पवित्र घाटको रूपमा वामघाट रहेको छ। विष्णुपुरको बायाँतर्फ रहेकाले वाम अपभ्रंश भएर बाङ भनिने गरिन्छ। बाङघाट स्नान , तर्पण, पितृ, कार्यको लागि निकै महत्वपूर्ण छ। एला र श्यामाको संगममा रहेको परशुराम तीर्थको मुख्य घाट भएकाले अन्त्येष्टि संस्कारका लागि पनि विशेष महत्वका साथ लिइन्छ।

    परशुराम घाट 

    विष्णुपुरको मुख्य स्थानमा मुख्य कुण्ड रहेको मान्यता छ। जहाँ पवित्र एला र श्यामाको संगम छ। त्यँही परशुराम घाट पनि रहेको छ। परशुराम घाटमा स्नान र कुण्डको पूजन, देवपूजन, केदार, वैद्यनाथ, असिग्राम, महादेव, खिट्केश्वर, जगन्नाथ आदि शिवालयहरूमा रुद्रभिषेक गर्दा परमगति प्राप्त हुन्छ भन्ने पुराणोक्ति रहेको छ।

    देवघाट  

    बाङघाट, परशुराम घाटसँगै देवघाट पनि रहेको छ। सोह्र शिवालयको स्नान गर्ने देवघाटका रूपमा स्नान निकै महत्व छ। देवपूजाका लागि जलघडामा जल लैजाने सनातन परम्परा छ। महाकालीको जलबाट शिवालयहरूमा रुद्रभिषेक गरिन्छ। देवघाटसँगै भागेश्वर, असिग्राम, खिट्केश्वरलगायत छुट्टाछुट्टै घाटहरू पनि रहेका छन्।

    कुण्डहरु 

    परशुराम कुण्डसँगै महाकाली नदीमा अन्य धेरै कुण्डहरूको पनि महत्व छ। स्वर्गबाट आएर अप्सरा अर्थात् परीहरूले स्‍नान गरेको परीकुण्ड, श्रीदेवले स्नान गरेको श्रीकुण्ड, सप्तऋषिहरूले स्नान गरेको सप्तहृदमा गरिने स्नानको विशेष महत्व रहेको छ।

    एलातीर्थ 

    परशुराम तीर्थसँगै एलातीर्थ पनि रहेको छ। पुनपुना र रेणुकाको संगममा अपस्थित एलातीर्थमा माघ मकर स्नानको विशेष महत्व रहेको छ। जहाँ ऐलेश महादेवको दर्शन गर्न सकिन्छ। पुनपुना/पुत्रदा/पन्तुरा नदीमा स्नान गर्नाले पुत्र प्राप्त हुने मान्यता छ।

    परितीर्थ

    स्कनद पुराणले परशुराम तीर्थसँगै परी तीर्थको उल्लेख गरिएको छ। जहाँ स्वर्गकी अप्सराहरुले स्नान गरेका थिए। परितीर्थकै नामबाट गाउँको नाम पनि परिगाउँ रहेको मान्यता छ।

    देउराहरू

    परशुराम तीर्थमा मानसखण्ड क्षेत्रका शिवालयहरुका देउराहरु ल्याई देवसभाको स्मरण गरिन्छ।

    परशुराम धाम क्षेत्रमा मन्दिर 

    रेणुका मन्दिर 

    भगवान् परशुरामकी आमा रेणुकाको परशुराम तीर्थनजिकै मन्दिर स्थापित छ। स्कन्द पुराणमा विश्वामित्रेश्वर महादेव, प्रचण्ड चण्डिका देवी र रेणुका माताको वर्णन छ। सोही रेणुका माताको मन्दीर परशुराम क्षेत्रमा रहेको छ। पुराणमा वर्णन भएअनुसार स्वर्गका अप्सराहरुले तपस्या गरी वर पाएको स्थान त्यही पर्दछ।

    लिंगा 

    एलातीर्थसँगै पुनपुना नदीको किनारमा शैलेश, शिवालिका लिंगा अवस्थित छन्। प्राकृतिक रूपमा बनेका लिंगालाई शिव स्वरूप मानी पूजाअर्चना र दर्शन गरिन्छ।

    परशुराम मन्दिर 

    परशुराम तीर्थ भगवान् परशुरामको मन्दिर निर्माण प्रक्रियामा रहेको छ।

    सिद्धनाथ मन्दिर 

    मानस खण्डमा विभिन्न ऋषिहरुले तपस्या गरि सिद्धि प्राप्त गरेपश्चात् स्थापित शिव लिङ्ग सिद्धनाथका रुपमा स्थापित र पूजनीय छन्।

    शिव मन्दिर 

    २०३३ सालमा लगाइएको यज्ञपश्चात् चुनढुंगाको संरचना रहेको स्थानमा मन्दर निर्माण गरिएको छ। शिवमन्दिरका रूपमा दर्शनीय र पूजनीय छ। 

    लालपुरी महाराजद्वारा निर्मित शिव मन्दिर धर्मशाला, महर्षि विश्वकर्माको मन्दिर निर्माण भएको छ भने विभिन्न शिवालयका मन्दिर निर्माण प्रक्रियामा रहेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले बताए।

    ०४७ सालमा लगाइएको गायत्री यज्ञको यज्ञशालामा सम्बन्धित कर्तामार्फत शिलान्यास गरी धर्मशाला धुनिघर निर्माण गरिएको छ। पण्डित खगराज चटौतद्वारा निर्मित धर्मशाला, देव यज्ञका कतर्था दामी नाथद्वारा वेद यज्ञ दामी नाथ धर्मशाला, पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवा र माननीय नरभान कामीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट पञ्चायन निर्माण गरिएको अध्यक्ष चन्दले बताए। 

    परशुराम क्षेत्रमा भगवान् परशुरामको मन्दिर निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको छ भने लुलान क्षेत्रका असिग्राम मन्दीर निर्माण भइसकेको र पञ्चायन मन्दिर र भागेश्वरको मन्दिर निर्माण प्रक्रियामा रहेको जनाइएको छ ।

    परशुराम क्षेत्रको प्राकृतिक सुन्दरता, वन, वातावरण संरक्षणका लागि परशुराम धार्मिक वन २०५५ गठन भई क्रियाशील रहेको छ। तीन लोकमा परशुराम तीर्थ बराबरको अर्को तीर्थ छैन भनी स्कन्द पुराणको मानस खण्ड मा वर्णन भएको परशुराम क्षेत्रमा भगवान् परशुराम उनका पिता जगदम्बिके तपस्या गरेको र भगवान् शिवद्वारा परशुरामलाई चिरञ्जिवीको वरदान तथा तपस्यापछि फर्सा (परश) प्राप्त गरेको, भगवान परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको अति पवित्र तीर्थ परशुराम रहेको अध्यक्ष चन्दको भनाइ छ।

    फर्सा वरदान पाएको तीर्थ भएकाले यसलाई तथा फर्सा बोकेका राम भगवान् भएकाले फर्सरामबाट ‘फर्सनान’ पनि भन्ने गरिन्छ। परशुराम क्षेत्रमा परशुराम भगवानबाट देवव्रत ( भीष्मपितामह), द्रोणाचार्य र कर्णलाई धनुर्विद्या प्राप्त गरेका थिए। 

    अति नै महत्व बोकेको परशुराम तीर्थबाट साविकको शीर्ष र जोगवुडा गाविस गाभिएर वि.सं २०७१ सालमा परशुराम नगरपालिका निर्माण गरिएको छ। ४१४ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको परशुराम नगरपालिकामा १२ वडा छन्। 

    माघे संक्रान्तिको अवसरमा भव्य मेला

    परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्छ। परशुराम धाममा रहेका चुनढुंगा भगवान् परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ। पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्राम बस्ने गर्दछन्। माघ १ गते बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भिड लाग्छ।

    माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ। मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले जानकारी दिए।

    सबै तीर्थ पटक–पटक परशुराम एकपटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लिखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ। हिन्‍दु देवीदेवताका तेत्तीसकोटी मठ मन्दिरमध्ये परशुराम तीर्थ मात्र एउटा यस्तो पवित्र धाम हो जस्को संसारमा अन्यत्र कहीँ पनि मन्दिर पाइँदैन।

    स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही भूमिमा परशुरामले तपस्या सफल पारे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन्।
     

    परशुराम धाममा ‘धार्मिक, पर्यटन महामहोत्सव’ 
    परशुराम धाममा मा यही पुस ३० देखि माघ ८ गतेसम्म ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ आयोजना हुने भएको छ। चार धाममध्येको एक मानिने परशुराम धामलाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले महामहोत्सव गर्न लागिएको हो।

    पुस ३० गते कलश यात्रासहित उद्घाटन हुने महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिविर, नित्यपूजा, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्री कार्यक्रमहरू प्रस्तुत हुने आयोजनक परशुराम नगरपालिकाका नगरप्रमुख एवं परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउदले जानकारी दिए।

    ‘परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा लिइन्छ। यो विश्वकै चार धाममध्येको एक धाम हो। भगवान परशुरामले यही क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्रमा उहाँहरु पनि जन्म भएको स्कन्द पुराणमा उल्लेख छ।’ नगरप्रमुख साउँदले भने, ‘यो क्षेत्र ओझेलमा परेको छ यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गर्न लागिएका हो।’

    कसरी पुग्ने परशुरामधाम?

    परशुराम धाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ। जसको पूर्वमा जोगबुडा, पश्चिममा उत्तराखण्ड भारत, उत्तरमा ऐडिवान वन तथा दक्षिणमा कुणा सिमिलखेत सडक रहेको छ। भीमदत्त सडकखण्डमा पर्ने डोटीको बुडरबाट छुट्टिने कच्ची सडकबाटो भएर ४ घण्टामा परशुरामधाम पुग्न सकिन्छ।

    थप फोटोमा हेर्नुहोस्

प्रकाश पार्की

प्रकाश पार्की थाहाखबरका डडेल्धुरा संवाददाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]