|

तनहुँ : स्वास्थ्य, शिक्षा जस्ता नैसर्गिक अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन। अपांगता भएका बहिरा विद्यार्थीहरुको अधिकार प्रत्यायोजन गर्न व्यास नगरपालिकाका साथै विद्यालय लागिपरेको छ। व्यास नगरपालिका–१ खकौली स्थित बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका विद्यार्थीहरुको बिहीबार स्वास्थ्य परीक्षण गरिएको छ।

व्यास नगरपालिकाको आयोजना तथा विद्यालयको संयोजनमा अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको हो। नगरपालिकाको प्राविधिक एवं आर्थिक सहयोगमा विद्यालयका बालबालिकामा लाग्न सक्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यचन्द्र हड्खलेले बताए। अपाङ्गता भएका बालबालिका मात्रै अध्ययन गर्ने विद्यालयमा उनीहरुको स्वास्थ्यमा समस्या हुन सक्ने र विद्यालयले उनीहरुको समस्याको पहिचान गरी उपचार गर्नुपर्ने भन्दै प्रअ हड्खलेले ‘हामीले उनीहरुको नैसर्गिक अधिकार प्रत्यायोजन गर्ने माध्यम बनेका छौँ।’

विद्यालयमा मुलुकभरका विभिन्न जिल्लाबाट अपाङ्गता भएका बालबालिका आएर छात्राबास र अध्ययनको व्यवस्थापन गरिएको छ। विद्यालयमा ३५ जना बहिरा बालबालिकाहरु अध्ययनरत छन्।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जाडो मौसममा स्वास्थ्यमा समस्या हुन सक्ने भएकाले अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य, शिक्षाको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्ने बताए। ‘यस विद्यालयका बालबालिकालाई बालअधिकार प्रत्योजन गर्न सफल भएको अनुभूति भएको छ,’ उनले भने ‘चिसोका कारण हुन सक्ने समस्याले पछि भयानक दुर्घटना हुन नदिन समय समयमा बालबालिकाको स्वास्थ्य परीक्षण गर्न आवश्यक छ।’ अहिले विद्यालयको वातावरण तथा भौतिक क्षेत्रमा समेत सुधार भएको आभास पाएको उनले बताए। अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने विद्यालयलाई नेपालकै नमूना अपाङ्गमैत्री विद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताए।

हरेक बच्चा, मानिसले स्वास्थ्य, शिक्षाको अधिकार पाउनुपर्ने भएकाले बालअधिकार अनुरुप नै नगरपालिकाले विद्यालयका बालबालिकाको स्वास्थ्य उपचार गरेको विद्यालयले जनाएको छ। स्वास्थ्य परीक्षणसँगै ५ कक्षासम्मका विद्यालयका ३५ बालबालिकालाई न्यानो कपडा समेत वितरण गरिएको छ। उनीहरुलाई स्वास्थ्य परीक्षण पछि जुकाको औषधी समेत खुवाइएको विद्यालयले जनाएको छ। 

व्यास १ का वडा अध्यक्ष खरसिंह दरैले बालाबालिकाको सहयोगको लागि तयार रहेको बताए। अपाङ्गतालाई हामीले भविष्य बनाउने बाटो निर्धारण गरी दिए उनीहरुको भविष्य उज्वल हुने उनको विश्वास छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले सरकारी, गैरसरकारी संघसंस्थाद्वारा भौतिक सहयोग प्राप्त भइरहेकोले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुने विश्वास लिए।

यस विद्यालयमा अध्ययनरत बालिकाहरुलाई आत्मनिर्भर बनाउनका लागि विद्यालयले सिलाई बुनाई तालिम दिने व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो। अपाङ्गता भएका बालबालिकाका लागि कम्प्युटर शिक्षा आवश्यक रहेको तथा विद्यालयलाई कम्प्युटर समेत सहयोग प्राप्त भएपनि शिक्षकको अभावमा रहेको उनले बताए। उनले भने ‘विद्यालयका लागि कम्प्युटर शिक्षक आवश्यक छ, त्यसको व्यवस्थापन गर्न नगरपालिकाले गरिदिनुपर्छ।’ बालबालिकाहरुको दमौली अस्पतालका डा.सुनिल पाण्डे, व्यास नगरपालिकाका स्वास्थ्य संयोजक हरिश्चन्द्र न्यौपाने लगायतको टोलीले स्वास्थ्य परीक्षण र आवश्यक औषधिसमेत वितरण गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.