|

कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ। वनवसा पुल खुल्ने समयावधि बढेपछि तेश्रो मुलुकका पर्यटकको आगमनमा बृद्धि भएको हो। अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार सन् २०१८ को डिसेम्बर महिना सम्म सीमा नाका भएर दुई हजार ९ सय ३० विदेशी पर्यटक भित्रिएका छन।

सोही नाका भएर सोही अबधिमा दुई  हजार ७ सय २४ पर्यटक बाहिरिएका छन। जुन गत बर्षको तुलनामा पर्यटक आगमनमा बृद्धि भएको छ। गत बर्ष सन् २०१७ को यसै अबधिमा दुई हजार सात सय ४५ पर्यटक भित्रिएका थिए  भने एक हजार सात सय ८९ पर्यटक बाहिरिएका थिए।

 सन् २०१६ को डिसेम्बर सम्म दुई हजार पाँच सय ८२ पर्यटक भित्रिएका थिए भने एक हजार पाँच सय ५९ पर्यटक बाहिरिएका थिए। अमेरिका, अष्ट्रेलिया, जापान, स्पेन, इजरायल, चिन लगायत क्षेत्रका पर्यटक भारतका विभिन्न पर्यटकीय क्षेत्रको अबलोकन पछि यहाँ आईपुग्ने गरेको अध्यागमन कार्यालयका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले बताए।  ‘देशमा शान्ति बहाली पछि बाहिरिने पर्यटक भन्दा भित्रिने पर्यटकको संख्यामा बृद्धि भएको छ’ उनले भने।

 सन् २०२० लाई पर्यटक बर्ष घोषणा गरिएपछि प्रचार प्रसारमा जोड दिईएका कारण पर्यटक बढेका हुन उनले भने, ‘सीमा क्षेत्रमा पर्यटक आवागमनमा सहजता भएपछि स्थल मार्ग भएर आउने पर्यटक बढेका हुन।’

 इजरायली राजदुतावासका उप प्रमुखले आफना देशका नागरिकलाई यहाँ ल्याउनका लागि कार्यालयमै पुगेर इच्छा जाहेर गरेकाले सन् २०१९ मा अझै पर्यटक बढ्ने अपेक्षा गरिएको उनले बताए। नेपालका हिमालयको सौन्दर्यता नियाल्न, पदयात्रामा निष्कन, परम्परागत कला र संस्कृतिको अबलोकन पर्यटकको रोजाईमा पर्ने गरेको छ।

 पर्यटक प्रवेश आज्ञा वाफत अध्यागमन कार्यालयले पर्यटक बाट १५ दिनका लागि २५ अमेरिकि डलर, ३०दिनका लागि ४० अमेरिकि डलर र ९० दिनका लागि नेपाल घुम्ने पर्यटकका लागि १०० अमेरिक डलर लिने गरेको छ। सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय संभावना भएका धेरै पर्यटकीय स्थल भएपछि प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावमा थोरै पर्यटकले यहाँ घुम्ने गरेका छन।

यसैगरी, अध्यागमन कार्यालयले चालु आबको कात्तिक सम्म रु ३१ लाख ३४ हजार २९ राजस्व संकलन गरेको छ। आव ०७४/७५ को असार मसान्तसम्म रु ९० लाख ८३ हजार २७२ राजस्व संकलन गरेको थियो। आब ०७३/७४ मा कार्यालयले रु ७५ लाख २२ हजार ५० राजस्व संकलन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.