|

काठमाडौं : विगत दशवर्षदेखि कवितालेखनमा रमाइरहेका जीवन खत्रीको नयाँ कविता कृति 'आगोको वर्णमाला' आज सार्वजनिक हुँदै छ। ४९ वटा लामा तथा छोटा कविता रहेको उक्त कृतिमा विभिन्न विषयवस्तुमा आधारित कविता छन्। देशमा हुँदा आफूले भोगेको र देखेको आफ्नो देशको चित्र र परदेश पुगेर आफूले अनुभव गरेका कुराहरू उनले यस कृतिमा समावेश गरेको बताउँछन्। 

आफ्नो चेतनाले जे देखे, जे छान्न सके, त्यो नलुकाईकन कला भरेर यस कृतिमा राखेको उनले बताए। पाठकले आफूलाई पढ्नुपर्ने कारण केही पनि नभएको भन्दै उनले आफूले अन्य कविले लेख्नेभन्दा फरक लेखेको छु भन्ने पनि नलागेको बताए। उनले भने, 'मैले बाँचेको समाजमा जे देखेँ, भोगेँ, त्यही लेखेँ। यो कुरा अरूले पनि लेखेका छन् यद्यपि, फरक तरिकाले लेख्ने कोसिसचाहिँ पक्कै गरेको छु।'  

आफूलाई वरिष्ठ कविको भ्रममा राखेर कविता कृति बजारमा ल्याउन नलागेको उनले बताए। अलिकति साथीहरूको साथ, अलिकति पाठकहरूको माग र अलिकति आफ्नो परीक्षाका लागि कविता कृति प्रकाशन गर्न लागेको उनको भनाइ छ। कविता लेख्दै जाँदा साथीहरूको वाहवाहीका कारण आफूमा कविता कृति निकाल्ने जोश आएको उनले बताए। 'साथीहरूले मेरा कवितामाथि गरेका प्रशंसाहरू सत्य हुन् या होइनन् भन्ने यकिन थाहा पाउन पनि कविता कृति निकाल्न लागेको हुँ', उनले भने। 

प्रतियोगितामा जितेका केही थान कविता पनि उनको नयाँ कृतिमा समावेश छन्। प्रकाशकले पनि आफ्नो कृति पत्याइदिए। कम्तीमा संग्रह हुन्छ। पाठकले पढिदिऊन्। पढिदिएपछि कविता कस्ता छन् भन्ने पाठकले आफ्नो दृष्टिकोण बनाउँछन् भन्ने उनलाई लाग्यो। उनी भन्छन्, 'कविता कृतिलाई मनपराइदिए भने आफ्ना साथीहरूले मेरा कविताप्रति गरेको वाहवाही गरेको ठीक थियो भन्ने लाग्नेछ।' 

कविता चेतनाको ईश्वर हो। आफूले बाँचेको समयलाई पनि कविले फरक दृष्टिकोणले देखिरहेको हुन्छ। यो कविताको शक्ति हो। हरेक कविता पाठकले बुझिरहेको समाज वा जीवनलाई कविताको माध्यमबाट फरक तरिकाले पनि बुझ्न सकेको खण्डमा यो कविताको शक्ति हो कि भन्ने लाग्छ उनलाई।

कविता कृतिमा उनले भूमिका लेख्न लगाएका छैनन्। उनी भन्छन्, 'कृतिमा भूमिका छैन। पाठकले कविता पढेर जस्तो खालको प्रतिक्रिया दिन्छन्, त्यो नै मेरो कविताका लागि भूमिका हुनेछ। त्यो नै अन्तिम सत्य हो।' पाठकलाई भूमिका पढाउने होइन, कविता पढाउने हो भन्ने धारणा राख्ने खत्री आफ्ना कविताको व्याख्या विश्लेषण गर्न थाले भने त्यो कविता होइन भन्ने ठान्छन्। भूमिका लेख्नु भनेको आफ्नो ढंगबाट मात्र बुझिने बताउँछन् उनी। 

युरेका प्रकाशनबाट उनको कृति आउँदै छ। युरेका प्रकाशनमा पुग्न बाबु त्रिपाठीले मद्दत गरेको उनले बताए। 

हिजोसम्म मिडिया तथा अन्य ठाउँमा कविता सुनेका पाठकले अब कृति किनेर पढ्दा उक्त कृतिले पाठकको मूल्य असुल उपर हुन्छ या हुन्न होला भन्ने डर पनि आफूलाई लागिरहेको उनले बताए। अहिले आफू पाठकको कठघरामा उभिएको जस्तो लागिरहेको उनी बताउँछन्। कवितालाई कसरी प्रस्तुत गर्ने कुरामा आफू सचेत रहने उनले बताए। उनी भन्छन्, 'मलाई मेरा कविता नरम हुनुपर्छ भन्ने लाग्छ। मेरा कविता सुन्ने मान्छेले पनि मलाई नरम कवि भन्छन्। यो मेरालागि खुसीको विषय हो।' उनी आफ्ना कविता साधासण मान्छेले बुझून् भन्ने चाहन्छन्। सरल भाषामा पनि उनले लेखेका कविताको अभिव्यक्तिलाई पाठकले कसरी लिनेछन्, त्यो समयले बताउनेछ। 

शीर्ष कविता

आगोको वर्णमाला

मलाई लगेर
अँगेनोमा सल्काउनुपर्ने थियो।

अँगेनोमा सल्किन पाएको भए
चिसो पन्छाएर न्यानो छर्ने थिएँ
भात भान्सामा भूमिका खेल्ने थिएँ
आउँदै छन् कि कोही पाहुना?
विश्वासको पुरानो काँधमा बसेर जनाउ दिने थिएँ।

मेरै ओठलाई छोएर सल्कने थियो पानस
जसको उज्याला आँखा मागेर तिमीले
छाडी जाने प्रेमिकाको तस्बीर फेरि हेर्न सक्ने थियौ
आधा लेखी छाडेको कविता पूरा गर्न सक्ने थियौ।

कहाँ थन्काई राखिएको थियो
नारायण गोपालको धून भरिएको क्यासेट?
खोजखाज गरेर एक रन्को विरह सुन्न सक्ने थियौ।

मै पनि खूब कुरूप भैसकेथेँ
सल्किँदा सल्किँदा, बाटो दोबाटो र सडकहरूमा
अँगेनोमा सल्किन पाएको भए
एक हरफ अरू थपिने थिएँ, बाँच्नुको सार्थक कविता।

शंकालु आँखाहरूको भित्तामा
विश्वासको एक कुचो रङ अरू पोत्न सक्ने थिएँ।

तर के गर्नु?
कुनै देशभक्त नौजवान प्रहरी जस्तो छु आफू
झिकिएको छ आफैँबाट आफ्नो चेतना
र संचालित छु कुनै माथिको आदेशबाट।

पुतलीहरूको पखेटा जला, हवस् सा'प!
किताबका पानाहरू जला, हवस् सा'प!
फलका हाँगाहरू जला, हवस् सा'प!

कहिले त लाग्छ,
कति शानदार हुने थियो जीवन
कि कुनै बिरामीका लागि पानी उमालिरहन पाए
सुत्केरी ढाडको लागि कोइला जलिरहन पाए
सल्कनै परे पनि जंगलमा
वनभोजमा रमाइलो पकाइरहन पाए
वा विचारको मन्दिरमा सल्काइदिन पाए दियो
अथवा आशाको पूजा कोठामा
सल्काइरहन पाए अगरबत्ती।

जल्नु, जलाउनु मेरो धर्म
तर किन उठायौ मेरो गलत फाइदा?
किन सल्कायौ मलाई फूलहरूको घाँगरमा?
किन जलायौ मलाई चराहरूको गुँडमा?
यात्रुहरू बोकी हिँडेको बसभित्र
पेट्रोल छर्केर मलाई किन सल्कायौ?

बेउत्तर जल्दाजल्दै
बेउत्तर, जलाउँदाजलाउँदै
धेरैपछि आज आफ्नै प्रश्नहरूको
अलि भिन्न जवाफ पाएको छु मैले
कि म तिम्रो छानोमा पनि सजिलै उक्लिन सक्नेरहेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.