कर्मचारी भर्नाको विषयलाई लिएर विवाद

|

ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिकमा चुलिएको विवादका कारण जनप्रतिनिधि सदरमुकाम आएका छन्। गाउँपालिकास्तरमा भएको वार्तामा समझदारी नभएकै कारण जनप्रतिनिधिहरु विवाद सुल्झाउनका लागि सदरमुकाम आएका हुन्।

गाउँपालिकामा भएका अनियमितताका विरुद्ध पुस १६ गते आन्दोलन रत पक्षले गाउँपालिकामा लगाएको तालाबन्दी खोलिए पनि विवादले चरम सीमा नाघिसकेको छ। स्थानीय तहमा भएको वार्तामा नेकपाले आफ्नो अडान नछाडेपछि सहमति हुन सकेको थिएन। गाउँपालिकामा सहमति नभएपछि आन्दोलनरत पक्ष नेकपा र नेकपा समर्थित वडा अध्यक्षहरुले यस विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको थियो। यस विषयमा जिल्ला प्रसाशन कार्यालयमा छलफल भई रहेको र समस्या समाधान गर्न पहल भइरहेको स्रोतले बताएको छ।

डेढ महिनाअघि दुइदर्जन बढी कर्मचारी एकैपटक भर्ना गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको हो। उक्त विवाद अहिले प्रशासन हुँदै अदालतसम्म आइपुगेको छ।

कर्मचारी भर्नाको विषयलाई लिएर विवाद

 कर्मचारी भर्नाको विषयलाई लिएर गाउँपालिकाका जनप्रतिनिधि र प्रमुखबीच नै टकराव उत्पन्न भएको हो। गाउँपालिकाले केही महिनाअगाडि २० जना शिक्षक, एकजना वडासचिव, ६ जना इन्जिनियर र प्राविधिक कर्मचारीसहित २७ जना नियुक्त गरेको कारण स्थानीयतहमा विवाद चुलिएको नेकपाका चम्पादेवी गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कार्कीले बताए। कर्मचारी नियुक्त प्रक्रियालाई कानुनविपरीत भन्दै नेकपार नेकपा समर्थित जनप्रतिनिधिले विरोध सुरु गरेका हुन्। कार्मचारी भर्ना प्रक्रियामा गाउँपालिका अध्यक्षले आफूखुसी गरेको कार्यपालिका सदस्यहरुले नै आरोप लगाएका छन्। चम्पादेवी गाउँपालिकाका १० वडामध्ये नेकपाका चारजना वडा अध्यक्षसहित नेकपाका कार्यपालिका सदस्यहरु विरोधमा उत्रिएका हुन्।

नेकपाको विरोधका कारण गाउँपालिकाको काम कारबाही प्रभावित भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको अनियमितताका विरुद्ध नेकपा गाउँपालिका कमिटीले केही समयअघि गाउँपालिका अध्यक्ष नवराज केसीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो। ध्यानाकर्षण पत्रको समेत सुनुवाइ नभएपछि नेकपा गाउँ कमिटीले गत पुस १६ गते गाउँपालिकामा तालाबन्दी गर्नुपरेको नेकपा चम्पादेवी गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ।

सोही गाउँपालिका-५ का वडा अध्यक्ष झलकमान तामाङ, ६ नम्बर वडाका सुरेश थापा, ७ नम्बर वडाका तिलक खड्का र ९ नम्बर वडाका झम्कहरि बडालले समेत संयुक्त रूपमा गाउँपालिकाविरुद्ध प्रशासनमा छुट्टै निवेदन दर्ता गराएका छन्।

गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर आर्थिक अनियमितता गरेको, नियमविपरीत कर्मचारी भर्ना गरेकाले निवेदन दिनुपरेको गाउँपलिका ७ का वडाअध्यक्ष सुरेश थापाले बताए।

 अनियमितताविरुद्ध अदालत जान्छौँ

उनले गाउँपालिकाको अनियमितताविरुद्ध प्रशासनमा उजुरी दिएकाले अब अदालतमा जानेसमेत बताए।  तर गाउँपलिका अध्यक्ष नवराज केसीले करारमा कर्मचारी भर्नासम्बन्धी ऐन बनाएर कर्मचारी तथा शिक्षक भर्ना गरिएकाले विरोधको अर्थ नभएको बताए। जिल्लामा कार्यरत पत्रकारहरुलाई गाउँपालिकामै बोलाएर पत्रकार सम्मेलन गरी अध्यक्ष केसीले यो बिरोधको अर्थ नभएको, आफू कानुनभन्दा माथि नगई कार्मचारी भर्ना गरेको बताउँदै आन्दोलनरत पक्षलाई वार्ता तथा छलफलमा बसी समझदारीमा आउन आह्‍वान गरेका थिए। पत्रकार सम्मेलनमा केसीले ती सबै आरोप आधारविहीन भएको र गाउँपालिकाका विषयमा गरिएका विभिन्न प्रचार झुटो भएको बताएका थिए।

गाउँपालिकाको विवादका विषयमा जिल्ला प्रसाशन कार्यालय ओखलढुंगामा छलफल जारी रहेको भए पनि अहिलेसम्म निष्कर्षमा नपुगेको छलफलमा सहभागी नेकपाका प्रतिनिधिहरुले बताएका छन्। प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, गाउँपालिका अध्यक्ष, नेकपाका गाउँपालिका प्रतिनिधि तथा नेकपा समर्थित वडाअध्यक्षहरु छलफलमै भएका कारण सम्पर्क हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.