|

धनगढी : ट्रकको देब्रे पाटोमा फेवाताल, माछापुच्छ्र्रेको मनमोहक दृश्य छ।  एकसिंगे गैँडा, पाटे बाघ, प्याराग्लाइडिङ, पदयात्रा, र्‍याफ्टिङ र रक क्लाइम्बिङका दृश्यहरू पनि अटाएका छन्। त्यसैमा लेखिएको छ, ‘प्राकृतिक सौन्दर्य र संकृतिले भरिपूर्ण हाम्रो नेपाल।’

दाहिनेपट्टि  सगरमाथाको अर्को तस्बीर छ। कुमारी, बौद्ध स्तुपा, पाटन दरबार र पशुपतिनाथ पनि छन् अनि लेखिएको छ, ‘भिजिट एडभेन्चर्स नेपाल।’ पछाडि भागमा सगरमाथाको ठूलो तस्बीरसहित अंग्रेजीमा 'नेपाल' लेखिएको छ। ५३ फिट लम्बाइ र ८.५ फिट चौडाइ रहेको एउटा भीमकाय १८ पांग्रे ट्रक प्रत्येक दिन पूरै नेपाल बोकेर क्यानडाबाट अमेरिकाका लागि छुट्छ।

अमेरिका र क्यानडामा गुड्ने करिब तीन हजार बढी ट्रकमध्ये एउटा मात्रै ट्रकले सबैको मन खिचेको छ, जसलाई हेरेर पूरै नेपाल अनुभव गर्न सकिन्छ भन्छन ट्रकका चालकसमेत रहेका मालिक नरबहादुर (एनबी) टण्डन। ‘ट्रक रोकिँदा वरिपरि हेर्नेहरूको घुइँचो हुन्छ’, टण्डनले भने, ‘तस्बीरलाई छुने र हेरिरहनेहरूलाई हेरिहरन मन लाग्छ।’ अमेरिकाका ४६ र क्यानडाका १० राज्यमा ट्रक पुग्छ। ‘त्यहाँका नागरिकहरू अचम्मित हुँदै हेर्छन्’, उनले भने।

यसरी पलायो परदेशमा देश बोक्ने रहर

दाङको तुलसीपुरमा जन्मिएका टण्डन १३ वर्षअघि अध्ययनका लागि क्यानडा छिरे। ‘नेपालमा हुँदा आफ्नो जिल्लालाई चिनाउनुपर्छ भनेर लागेँ। विदेशमा गएपछि आफ्नो मुलुक चिनाउनुपर्छ भनेर यस्तो अभियान सुरु गरेको हुँ’, टण्डनले बताए। 

अहिले क्यानडाको ओन्टारियो प्रान्तको ब्राम्टन शहरका स्थायी बासिन्दासमेत भइसकेका टण्डन आफ्नो ट्रक आफैँ चलाउँछन्। उनको मनमा कर्मभूमिभन्दा जन्मभूमिप्रति अथाह सम्मान र माया छ। ‘परिस्थितिले तपाईं, हामी जो कोही पनि विदेशिनुपर्ने हुनसक्छ तर विदेशमा स्वदेशको माया अटाउनुपर्छ’, मुस्कुाउँदै टण्डनले भने।

१३ वर्षअघि क्यानडा पसे पनि परदेशमा देश बोकेर हिँड्ने रहर भने उनलाई त्यसको आठ वर्षपछि पलायो। सन् २०१३ मा उनले आफ्नै ट्रक किने र नेपालमा सुन्दर तस्बीरहरू टाँसेर अमेरिका र क्यानडाका गल्लीहरूमा हुइँकिन थाले। पाँच वर्षमा नौ लाख किलोमिटर नेपाल लिएर हुइँकिएका टण्डन हालसम्म नेपालको प्रचार गर्नै ११ लाख किलोमिटर कुदिसकेका छन्।

‘अमेरिका र क्यानडामा मैले अनेकौँ चिजबिज देखेको छु’, टण्डनले त्यो दिन सम्झँदै भने, ‘नदेखेको त मेरो देश मात्रै थियो। मेरो मातृभूमि देखाउने केही भेटिनँ, त्यही प्यास मेटाउन नयाँ प्रयास गरेको हुँ।’

नेपालका तस्बीरहरू उनले अनलाइनमार्फत् खरिद गरेका हुन्। ‘साथी विज्ञान त्रिपाठी र गायक बुद्धिसागर बस्यालले डिजाइनमा सहयोग गर्नुभयो। तस्बीरहरू किन्दा, बनाउँदा र सजाउँदा १५-२० हजार डलर खर्च भएको छ’, उनी भन्दै थिए, ‘त्यति रकमले त त्यहाँ गज्जबको घर आउँथ्यो तर घरमा म र मेरो परिवार मात्रै आउँथ्यौँ होला, अहिले त मेरो ट्रकमा पूरै राष्ट्र अटाएको छ।’

उनको अनौठो ट्रक देखेर फोटो खिच्ने र हेर्नेहरू मात्रै हुँदैनन्, यसबारे जिज्ञासा राख्नेहरू पनि भेटिन्छन्। ‘यही मौका छोपेर मैले देशको बारेमा बखान गर्छु’, केही उत्साहित हुँदै टण्डनले भने, ‘मेरो देशमा गौतम बुद्ध जन्मिएका हुन् भन्न पाउँदा मलाई अद्भूत आनन्द आउँछ। कसैले त भारतमा होइन र भन्छन्। उनीहरूलाई म वास्तविकता बताउँछु अनि ट्रक कुद्ने समय हुन्छ, म हुइँकिन्छु।'

उनले आफ्नो कामसँगै देशको प्रचार पनि गरिरहेका छन्। उनी भन्छन्, ‘म जन्मिएको देशको राष्ट्रियताका लागि मैले जे काम गरिरहेको छु, त्यो काम मेरो आफ्नो रोजीरोटीको कामसँगै एकसाथ हुन्छ।’

ट्रकमा नेपालका चित्र राखेर क्यानडा र अमेरिकामा प्रचार अभियानमा लागेका टण्डन तस्बीरबारे जिज्ञासा राख्नेलाई नेपाल घुम्न आग्रह गर्छन्। उनको ट्रक अहिले अमेरिका र क्यानडामा सेलिब्रेटी छ।

युरोपमा नेपाल चिनाउने धोको

‘युरोपको लुथानियाबाट यस्तै ट्रक चलाउने ठूलो चहाना छ’, टण्डनले आफ्नो रहर सुनाए। केही समयअघि उनले यो प्रयास पनि गरेका रहेछन्। युरोपमा रहेकाहरूबाट पूर्ण सहयोग नपाउँदा उनले एक्लै त्यो आँट गर्न सकेनन्।

‘स्पेनमा रहेका साथीहरूले यसको प्रयास गर्नुभएको थियो तर त्यो प्रभावकारी भएन’, टण्डनले भने, ‘एनआरएन र टुरिजम बोर्डले चासो नदिए पनि म आफैँ केही समयमा यसको सुरुवात गर्छु।’ अमेरिका र क्यानडामा जस्तै नेपालको प्रचार युरोपमा गर्न सके लाखौँ पर्यटक भित्र्याउन सक्ने उनको भनाइ छ।

एनआरएनले आफूहरूलाई फाइदा पुग्ने जस्तो भए मात्रै सहयोग गर्ने गरेको उनले गुनासो गरे। ‘क्यानडामा पनि एनआरएनको लोगो राखे पैसा दिन्छु नत्र दिन्नँ भने। मैले भयो पैसा चाहिएन तिम्रो लोगो भन्दा देशको भण्डा राख्नु भनेँ’, टण्डनले गुनासो गरे। ‘अब युरोपमा पनि नेपालको भण्डा राखेर ठूलो ट्रक चलाउने त्योभन्दा ठूलो चाहना छ’ टण्डनले फेरि आफ्नो चाहना व्यक्त गरे।

‘अमेरिकाबाट नेपाल टाढा छ तर पनि मैलै दैनिक सयौँलाई नेपाल जान सुझाव दिन्छु', उनी भन्छन्, 'त्यतिकै मात्र युरोपबाट प्रचार गर्न सक्यौँ भने वर्षमा होइन, महिनामा लाखौँ पर्यटन भित्राउन सकिन्छ।’

युरोपका ठूलाठूला विश्वविद्यालयहरू, सपिङ मल, समुद्री तट जस्ता ठाउँमा ट्रक रोकेर त्यहाँ आनन्दित भएकाहरूलाई नेपाल पढाउने र नेपाल पठाउने ठूलो रहर भएको उनी बताउँछन्। ‘बुद्ध वाज वर्न इन नेपाल’ भनेर कोठाभित्र जति भने पनि त्यसको केही प्रभाव पर्दैन, बाहिर  देखाउनुपर्छ’, टण्डनले भने, ‘त्यसका लागि युरोप, अमेरिका मात्रै होइन, विश्वका हरेक शहरहरूमा नेपाल बोक्ने ट्रकहरू आवश्यक छ।'

अब परदेशमा प्रदेश चिनाउने

क्यानडा र अमेरिकामा नेपाल चिनाउँदै आएका टण्डनले अब प्रदेश चिनाउने अभियान संचालन गर्ने बताएका छन्। मुलुक संघीयतामा गएपछि अब प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरूका बारेका परदेशमा प्रचार प्रसार गर्ने उनको योजना छ। ‘अब परदेशमा प्रदेश चिनाउने अभियान सुरु गर्दै छु। त्यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाट प्रारम्भ हुनेछ’, उनले जानकारी दिए।

अन्य छवटा प्रदेशभन्दा बढी सम्भावना रहेको तर कम पर्यटक भित्रने गरेको भन्दै सुदूरपश्चिम प्रदेशबाट यो अभियानको प्रारम्भ गर्ने योजना रहेको उनी बताउँछन्। यसरी प्रचार गर्दा विदेशी पर्यटक भित्रन नसके पनि त्यस क्षेत्रमा रहेका नेपालीहरू उल्लेख्य मात्रामा भित्रनेमा उनी विश्वस्त  छन्। उनी भन्छन्, ‘विदेशी मात्रै होइन, विदेशमा रहेका नेपालीहरू फर्किए पनि धेरै हुन्छ। विदेशीभन्दा बढी विदेशमा रहेका हामी नेपाली यहाँ आएर खर्च गर्छाैं। यसरी पनि मुलुकमा ठूलो आर्थिक समृद्धि सम्भव हुन सक्छ।’

विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेपछि खैरो कपाल मात्रै कुर्नु नपर्ने उनको तर्क छ। ‘विदेशमा ३० लाख बढी हामी छौँ। प्रत्येक वर्ष हामी एक पटक जन्मभूमि फर्कियौँ भने ३० लाख पर्यटक त त्यसै भयौँ नि!’, उनले भने, ‘भिजिट नेपालको नाराभन्दा हाम्रो योजना मोर द्‍यान इफेक्टिभ छ।’

टण्डन नेपाली क्यानेडियन ट्रक एसोसियसनका अध्यक्ष पनि हुन्। नेपाली-भुटानी ट्रक चालकहरू यो संगठनमा आवद्ध छन्। उनीहरूबाट आर्थिक सहयोग जुटाएर भए पनि अब केही समयमै क्यानडा र अमेरिकाका शहरहरूमा सुदूरपश्चिम प्रदेशका सम्भावनाहरू झल्कने पर्यटकीय क्षेत्रहरूका बारेका सिटी बसहरूमा पोस्टर बनाएर प्रचार गर्ने टण्डनको योजना छ।

यहाँका सुन्दर तस्बीरहरू त्यहाँका सिटी बसमा राख्ने र भिजिट फारवेस्ट नेपाल लेख्ने योजना अन्तिम चरणमा पुगेको उनले बताए। उनले भने, ‘यो योजनामा करिब २० हजार डलर खर्च हुने अनुमान गरेका छौँ तर फाइदा त्यसको कयौँ गुणा बढी छ।’

‘नेपाली क्यानेडियन ट्रक एसोसियसनमा रहेकाहरूबाट १००/१०० डलर संकलन गरेर त्यो अभियान सफल पार्ने हाम्रो योजना छ’, टण्डनले आफ्नो योजना सुनाए। क्यानडा र अमेरिकामा सुदूरपश्चिमको खप्तड, दोधारा चाँदनी, घोडाघोडी, शुक्लाफाँटा र यहाँ रहेका मठमन्दिर तथा हिमालहरूको दृश्य झल्काउने उनले बताए। 

नेता भन्छन्, गर्दैनन्’

टण्डनको यस अभियानबारे पर्यटनसँग सम्बन्धित स्वदेश तथा विदेशमा रहेकाहरू पनि जानकार छन्। नेपालका शीर्ष नेता तथा सरकारी पद धारण गरेकाहरू पनि जानकार छन् तर प्रशंसा गरेर मात्रै परिवर्तन नहुने टण्डनको भनाइ छ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री सुशील कोइराला, पूर्वमन्त्रीहरू प्रकाशशरण महत, जीवनबहादुर शाहीलगायतका उच्च पदस्थ व्यक्तिहरू क्यानडा पुग्दा उनको अभियानमा सरिक भएका थिए। ‘पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसम्म मेरो अभियानमा सहभागी हुनुभएको छ। त्यो ठाउँमा पुग्दा मैले गरेको देख्दा निकै उत्साहित भए पनि त्यसपछि यस विषयमा कहिल्यै गम्भीर हुनुहुन्न’, उनले गुनासो पोखे।

उनले सुरु गरेको योजनाको प्रशंसा गर्दै नेपाल सरकारले सन् २०१६ मा उनलाई पर्यटनदूतका रूपमा नियुक्त गरेको छ तर दूत नियुक्त भइसकेपछि पनि सरकारले त्यस क्षेत्रमा नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने केही काम नगरेको उनको भनाइ छ। ‘बोलेर मात्रै हुँदैन, गर्नुपर्छ’, टण्डनले भने, ‘अमेरिका, क्यानडा त्यसै त्यस्ता देश भएका होइनन्। ती देशबाट हाम्रो देशका नेता तथा नेतृत्वकर्ताले धेरै सिक्न र केही व्यवहारमा लागू गर्न बाँकी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.