|

सिन्धुली : कमलामाई नगरपालिका- ६ जसेदमारका डोरबहादुर कार्की (बलराम)ले पाँच वर्ष शिक्षण पेसा गरे। दैनिक १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई लेखाउने पढाउने काममै उनको पाँच वर्ष बित्यो। उनले कमलामाई नगरपालिका- ६ मा रहेको माध्यमिक विद्यालय पानी ट्यांकीमा पाँच वर्ष निजी स्रोतको शिक्षकका रूपमा काम गरेका हुन्। ऐच्छिक गणितमा बिए पास गरेका कार्कीले विद्यालयमा गणित विषय पढाउँथे। विद्यालयका अरू शिक्षक सरह नै खटेर पढाए पनि निजी स्रोतका शिक्षक भएकाले अरू शिक्षकको भन्दा कम नै तलब पाउँथे उनले।

शिक्षक पेसामा लागे पनि विद्यालयले दिने तलबले दैनिकी चलाउनै समस्या भएपछि उनले पेसा परिवर्तन गर्ने सोच बनाए। शिक्षक पेसाबाहेक अरू काम गर्न सुरुदेखि गर्नुपर्ने भएपछि पहिलादेखि नै अलिअलि भए पनि गर्दै आएको कृषि पेसातर्फ लाग्ने निर्णय गरे उनले र बाख्रा पालन सुरु गरे। उनले भने, ‘मैले दुईवटा बाख्राबाट बाख्रापालन व्यवसाय सुरु गरेको हुँ। अहिले मसँग साना ठूला गरी ४५ वटा बाख्रा छन्।’

उनले शिक्षण पेसा गर्दा पनि गाईपालन गर्दै आएका थिए। अहिले पनि बाख्रासँगै तीनवटा जर्सी गाई पालेर दैनिक दूध बेच्दै आएको उनले बताए। ४१ वर्ष उमेर पार गरिसकेका कार्की अझै व्यवस्थित तरिकाले बाख्रापालन व्यवसायलाई अगाडि बढाउने सोचमा छन्।

शिक्षक पेसामा भन्दा बाख्रापालन व्यवसायबाट बढी आम्दानी हुने गरेको उनको भनाइ छ। अहिले बाख्रापालनबाट बार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको उनले बताए। ‘स्कुलमा पढाउँदा तलब थोरै हुन्थ्यो, दु:ख भने धेरै, अहिले आफैँले व्यवसाय गरेको छु, पढाउँदाभन्दा यसैमा राम्रो कमाइ छ’, उनले भने।

हाम्रो समाजमा अझै पनि पढेलेखेकाले कृषि पेसालाई मर्यादित पेसाका रूपमा लिँदैनन्। थोरै आम्दानी भए पनि सकेसम्म जागिर नै गर्न पाए हुन्थ्यो भन्ने सोच हरेकले राख्ने गरेका पाइन्छ। उनले भने, ‘पढेको मान्छेले कृषि पेसा गर्नुहुँदैन भन्ने सोच गलत हो। बेरोजगार बस्नुभन्दा सकेको जानेको काम गर्दा आम्दानी पनि हुने, जीवन धान्न पनि सजिलो हुन्छ।’

उनले सरकारी सेवाका लागि एक पटक लोकसेवा आयोगको परीक्षा पनि दिए तर सफल भने भएनन्। राजाकै पालामा लोकसेवा तयारी गरेका कार्कीले त्यसपछि लोकसेवा परीक्षा दिन पाएनन्। परीक्षामा सफल नभए पनि उनलाई पछुतो भने विल्कुलै छैन। ‘जागिर खाने भनेको पैसाकै लागि हो, अहिले बाख्रापालनबाट पनि आम्दानी भएकै छ। कमाइको हिसाबले पढाउँदाभन्दा अहिले बाख्रापालन व्यवसायमा ठीक छ। अझै यो व्यवसाय बढ्ने क्रममा छ’, उनले भने।

उनले जमुनापारि क्रस, बोयर क्रस र केही स्थानीय जातका बाख्रापालन गरेका छन्। शिक्षण पेसामा भन्दा व्यवसाय गर्दा आफूलाई बढी स्वतन्त्र महसुस भएको उनले बताए। ‘शिक्षण पेसा छाडेपछि पनि अरू कामको अफर नआएको होइन तर पनि मैले व्यवसाय नै गर्ने निधो गरे,जागीर खादा अर्काको रेखदेखमा बस्नुपर्छ,व्यवसायमा आफ्नै सोचविचारमा काम गर्न पाईन्छ,व्यवसायमा जस्तो स्वतन्त्रता जागिरमा हुन्न्’उनले सुनाए।

उनको बाख्रापालन व्यवसाय विस्तारका लागि गत वर्ष कमलामाई नगरपालिकाले एक लाख रुपैयाँ अनुदानसमेत दिएको उनले बताए। ‘सरकारी अनुदान पाउनु भनेको ठूलो कुरा हो तर के गर्नु वास्तविक किसानले कमै मात्रामा अनुदान पाउँछन्', उनी भन्छन्, 'अनुदान, सहुलियत ऋणलगायतका किसानलाई फाइदा पुग्ने कुरा ठूलाबडा, बाठाटाठाले मात्रै पाउँछन्, अनुगमन नै गरेर वास्तविक किसानलाई अनुदान दिँदा राम्रो हुन्थ्यो।’

बाख्रापालन व्यवसाय आफूले चाहेरै गरे पनि नगरपालिकामा पर्याप्त प्राविधिक नहुँदा बेलाबेलमा बाख्रालाई रोग लाग्दा समस्या हुने गरेको उनको भनाइ छ। बाख्रालाई आवश्यक पर्ने घाँस लगाउने जग्गा भाडामा खोजी गरिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.