|

जनकपुरधाम : नेपालको एक मात्र जनकपुरधाम–जयनगर रेलमार्गमा तत्काल सेवा सूचारुका लागि नेपाल सरकारले ५० करोडमा रेल ल्याउने तयारी गरेको छ। सरकारले भाडामा ल्याएर चलाउनुभन्दा आफ्नै रेलगाडी किनेर चलाउन सस्तो पर्ने भएका कारण तत्काल ५० करोडमा रेल किनेर सेवा सञ्चालनको तयारी गरेको हो।

जनकपुरधाम–जयनगर रेल सेवा सूचारुको लागि रेल चलाउने जनशक्ति नेपालमा उपलब्ध नभएकोले आवश्यक प्राविधिक जनशक्ति भारतबाट ल्याउन लागिएर रेल्वे सञ्चालनको तयारी गरिएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। उनले आगामी जनवरी १० सम्म भारतसँग 'डिल' सकाउने योजनाअनुरूप काम अघि बढिरहेको जानकारी दिए। उनले भने, ‘रेलको सञ्चालन र व्यवस्थापन हामी आफैँ गर्छौं, हामीसँग चाहिने ड्राभइभरलगायतका प्राविधिक जनशक्ति भारतबाटै ल्याउँछौँ, हामीले तलब सुविधा दिएर राख्ने हो।’

यसअघि रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी 'आउट सोर्सिङ'को अवधारणा बनाएको भए पनि आफ्नै रेल ल्याउने भएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालले नै गर्ने योजनाअनुरूप अघि बढाइएको उनले बताए। महानिर्देशक मिश्रले भने, ‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्। पछि हाम्रो मात्रै प्राविधिकहरू राखेर रेल चलाउन सक्छौँ।’

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नै पर्ने तर्क रेल्वे अधिकारीहरूको भनाई छ। ‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन्। मर्मतका लागि प्राविधिक पनि छैनन्। स्टेसन म्यानेजरदेखि कुनै पनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन,’ महानिर्देशक मिश्रले भने, ‘यो अवस्थामा हामी आफैं रेल चलाउन सक्दैनौँ। त्यसैले केही वर्ष बाहिरका जनशक्ति ल्याउँछौँ।’

नेपाल रेल्वे विभागको धनुषा कुर्थाबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई अगाडि बढाउने योजना छ। रेलमार्गलाई ४ वर्षभत्र बर्दिवासमा पूर्व–पचिश्म रेलमार्गसँग जोडेर निजगढसम्म लैजाने तयारी गरिएको छ। कुर्था–जनकपुरधाम–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.