|

लमजुङ : भुजेल समुदायमा आधारित भुजेल भाषाको पहिलो चलचित्र ‘नि-प्हुगाल’ (हामी भुजेल) ले संस्कार, संस्कृति र पुर्ख्याैली पेशा जोगाउन इंकित गरेको छ। लमजुङमा शनिबार सो चलचित्र प्रदर्शन भएको हो।

‘हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति फिल्ममा छ कि छैन हेर्नुपर्छ’ सुन्दरबजारदेखि बेसीशहरमा भुजेल भाषाको चलचित्र हेर्न आएका ७२ वर्षीय पदमबहादुर भुजेलले भने। चलचित्र हेरेर बाहिर आएपछि बृद्ध भुजेल प्रशन्न थिए। ‘भाषाको संरक्षण र पुर्ख्याैली पेशाको सम्मान गर्नुपर्ने रहेछ’ बृद्ध भुजेलले भने, ‘हाम्रो पालमा यतिकै भयो अबका पुस्ताले यसको संरक्षण गर्नुपर्छ।’ उनलाई पनि आफ्नो भाषा बोल्न आउँदैन।

अधिकांश भुजेल समुदायले भाषा बोल्न नजान्ने स्थानीय रामकृष्ण घर्तिले बताए। प्रदर्शन भएको चलचित्र केही अंश भुजेल भाषा र केही अंश नेपाली भाषामा रहेको छ। भुजेल समुदायको हराउँदै गएको भेषभुषा, भाषा संस्कृति तथा रीतिरिवाजको जर्गेना गर्नका लागि भुजेल भाषामा चलचित्र निर्माण गरिएको भुजेल समाज सेवा समितिका केन्द्रीय अध्यक्ष लोकबहादुर भुजेलले बताए। भुजेल समुदायको परम्परागत संस्कार, संस्कृति जगेर्ना गर्न अभिनयमार्फत प्रयास गरिएको चलचित्रका नायिक पूजा भुजेलले बताइन्।

भुजेल समुदायको लोप हुँदै गएको भेषभुषा, बासको चोयाबाट डोको, नाङ्लो बुन्ने चलन हराउँदै जानु, गरीवी बढ्नु र युवापुस्ताले खासै चासो नदिँदा भाषाको संरक्षण गर्न चुनौती रहेको विषयवस्तुलाई चलचित्रमा उतार्न खोजिएको छ। चलचित्रले भुजेल समुदायको पेसा बाँसको चोयाबाट डोको नाङ्लो बुनेर जीविका चलाउँने पुर्ख्याैली पेसाबाट अहिले पनि जीविका चलाउन सक्ने सन्देश दिएको चलचित्रकी नायिका पुजा भुजेलले बताइन्।

भुजेल समाज सेवा समिति नेपालको ७२ वटा जिल्लामा रहेकोले सबै जिल्लामा चलचित्र प्रदर्शन गरिने चलचित्रका कथाकार कमल भुजेलले बताए। भुजेल समाज सेवा समिति केन्द्रीय र भुजेल चलचित्र संघ केन्द्रीय समितिको सक्रियतामा भकारी इभेन्टस् प्रालिको ब्यानरमा चलचित्र निर्माण भएको सह निर्माता कोपिला भुजेलले बताइन्। ३५ लाखमा निर्माण भएको हामी भुजेल चलचित्र २ घण्टा ३५ मिनेटको भएको सह निर्माता भुजेलले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.