|

कपिलवस्तु : कपिलवस्तुको सुठौली भन्सारले स्तरोन्नतिसँगै राजस्व संकलनमा सुधार गरेको छ। गत असोज ८ देखि छोटी भन्सारबाट स्तरोन्नति भएको सुठौली भन्सारले चार महिनामै वार्षिक लक्ष्यभन्दा डेढ गुणा बढी राजस्व संकलन गरेको हो।

चालु आवको असोजदेखि पुस १६ सम्म तोकिएको वार्षिक भन्सार लक्ष्यको करिब १३५ प्रतिशत राजस्व संकलन गरेको हो। स्तरोन्नतिसँगै १५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा हालसम्म २० करोड १८ लाख ६६ हजार ४६७ रुपैयाँ स‌ंकलन गरेको कार्यालयले जनाएको छ।

संकलन भएका राजस्वमा पैठारी महसुलतर्फ एक करोड पाँच लाख ६० हजार ६१७, कृषि सुधार शुल्कतर्फ १६ करोड ४० लाख ३४ हजार ८४९, पैठारी सेवा दस्तुर ११ लाख १८ हजार ५००, अग्रिम आयकरतर्फ एक करोड ६१ लाख २४ हजार ८३८, अन्तशुल्क नौ लाख पाँच हजार ६६५ र मूल्य अभिवृद्धि कर ९१ लाख २१ हजार ९९८ रुपैयाँ रहेको छ।

स्तरोन्नतिअघि सो नाकाबाट दैनिक उपभोग्य सामग्री र कृषि सामग्री आयात हुँदै आएका थिए। स्तरोन्नतिसँगै सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट, लत्ताकपडा र मेसिनरी सामग्री पनि आयात हुन थालेको छ। लक्ष्यमा चार गुणाले वृद्धि गरि ६० करोड पुर्‍याउने तयारी थालेको कार्यालय प्रमुख भन्सार अधिकृत तीर्थराज पासवानले बताए। स्तरोन्नतिसँगै कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधारका साथै सीमा क्षेत्रमा भन्सार स्थापनाका लागि जग्गा प्राप्ति र भारतीय नम्बर प्लेटका सवारी साधनमा कडाइ गरिएको छ।

यद्यपि, जीर्ण पूर्वाधार, कर्मचारी आवासको समस्या, यार्ड नहुँदा सडकमै मालबाहक सवारी पार्किङ्ग गर्नु पर्ने बाध्यता, पर्याप्त सवारी साधन नहुँदा भन्सार चुहावट नियन्त्रणका लागि गस्तीमा समस्या, खाद्यवस्तु परीक्षणका लागि क्वारेन्टाइनको नहुनु र दशगजादेखि डेढ किलोमिटरभित्र भन्सार भएकाले चोरी पैठारी नियन्त्रणमा समस्या आएको भन्सार कर्मचारी बताउछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.