|

संखुवासभा : सरकारले देशभरका १ सय वटा नयाँ पर्यटकीय गन्तव्य स्थलको सूची सार्वजनिक गरेको छ। नयाँ पर्यटकीय  सूचीमा स्थापित तथा सम्बर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीयस्थल राखिएको भने पनि संखुवासभाका महत्वपूर्ण तिन पर्यटकीय स्थल सरकारको प्राथमिकता नपरेको स्थानियको गुनासो छ।

सरकारको सो सूचीमा संखुवासभाका अरुण उपत्यका र वालेश्वर गुफा परे। तर संखुवासभा जिल्लामा रहेका अन्य ३ वटा महत्वपूर्ण स्थान भने छुटेका छन्। सरकारको सूचीमा जिल्लाको धार्मिक तथा पर्यटकीय पोखरी सभापोखरी, गुफापोखरी र शिवधारा जस्ता पर्यटकीय गन्तव्य छुटेका छन्। ती स्थानले  संखवासभालाई देश तथा विदेश सम्म परिचित गराउने मध्येका केही स्थान हुन्। तर पनि सरकारको आँखा त्यसतर्फ भने परेको छैन। सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सय वटा नयाँ गन्तव्यको छनोट गरेर सार्वजनिक गर्‍यो। संखुवासभाका पनि दुई गन्तव्य सो सूचीमा परे।

सभापोखरी ४२ सय उचाई पर्दछ। यसको  नाम सुन्ने जो कोहीको मनमा पर्छ यो ठाउँमा पुग्नुपर्छ भनेर। फेरि सभापोखरीको इतिहास नै सुन्ने मान्छे त एकपटक जसरी पनि पुगेकै हुन्छन्। यता, सभापोखरीको जस्तै छाप छ गुफापोखरीको पनि। गुराँसको राजधानीको छेउमा अवस्थित गुफापोखरीको नाम सुन्ने जोकोही पनि पुग्नको लागि आतुर भइहाल्छन्। त्यस्तै, अर्को धार्मिक तथा पर्यटकीय गन्तव्य शिवधाराको पनि पर्यटन प्रवद्र्धन गर्नतर्फ सरकारको आँखा पुगेन।

सभापोखरी, शिवधारा र गुफापोखरी सरकारको सय गन्तव्यको नजरभित्र पर्न नसक्नु आश्चर्यजनक विषय हो। तर, स्थापित र सम्बद्र्धन गर्नुपर्ने दुवै शीर्षकमा सभापोखरी, शिवधारा र गुफापोखरी अटाएनन्। जिल्लाको सभापोखरी गाउँपालिकामा सभापोखरी, मकालु गाउँपालिकामा शिवधारा र चैनपुर नगरपालिकामा गुफापोखरी पर्छन्। सभापोखरी समुद्र सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ। गुफापोखरी करिब ३ हजार ५ सय मिटरको उचाइमा छ भने शिवधारा ४ हजार ६ सय मिटरको उचाइमा छ।

सभापोखरीमा जनै पूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजन पुग्ने गरेका छन्। किंवदन्तीअनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए। त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ। ‘वेदव्यासले सम्पूर्ण देवी देवताहरूलाई भेला गराएर पुराण भनेका थिए।’ देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ। गुफापोखरी क्षेत्रबाट मकालु, कञ्चनजङ्घासहितका हिमालहरूको अवलोकन गर्न सकिन्छ भने ती शिखरहरूको छाया गुफापोखरीमा प्रष्ट देख्नसमेत सकिन्छ।

सोही क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका लालीगुराँससमेत अवलोकन गर्न सकिन्छ। यहाँ प्रर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारको पर्यटकीय गन्तव्यको सूचीमा  नपर्नु दु:खद भएको स्थानीय मनबहादुर लिम्बूले बताए। शिवधाराको किंवदन्ती हेर्ने हो भने भगवान शिवले नुहाएको भन्ने इतिहास भेटिन्छ। त्यसको साथै भगवान शिव र पार्वतीको क्रीडास्थल समेत रहेको किंवदन्ती पाइन्छ।

सन्तान नहुनेले त्यस धारामा विभिन्न सामग्री चढाउने पनि गरेका छन्। यसो गर्दा सन्तान हुने विश्वास गरिन्छ। सो ठाउँमा भगवान गणेशको प्राकृतिक मूर्ति स्पष्ट देख्न सकिन्छ भने महिला तथा पुरुषको यौनाङ्गका प्राकृतिक चित्रहरू पनि स्पष्ट देख्न सकिन्छ। ख्याति कमाएका र पर्यटकहरूलाई आकर्षित गर्न सक्ने स्थलहरू नै सरकारको नजरमा पर्न नसकेकोमा स्थानीय चिन्तित छन्। सरकारले सभापोखरी, गुफापोखरी र शिवधारा जस्ता पर्यटकीय गन्तव्यलाई नदेख्दा पत्रकार गंगा विष्ट पनि चकित  परेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.