|

भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ। विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन्।

आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो।

आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो। यो विमान हङकङबाट १४० भन्दा बढी यात्रु बोकेर उडिरहेको थियो। विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्।

स्पाइसजेटका प्रवक्ताले पाइलटले एक नम्बर इन्जिनमा न्यून परिमाणमा इन्धन आपूर्ति भएको थाहा पाउनासाथ बनारस विमानस्थलमा आपतकालीन अवतरण गराएको बताए।

शनिबार राति, एयर इन्डियाको विमानबाट इन्धन चुहिन थालेपछि कोलकोता विमानस्थलमा आपतकालीन स्थिति घोषणा गरिएको थियो । बैंककबाट नयाँदिल्ली उडानमा रहेको एयर इन्डियाको उडान नं एआई–३३५ विमानमा राति १०:३५ मा प्राविधिक गडबडीको आशंका गरिएको थियो। यो घटनामा कुनै यात्रु घाइते भएका छैनन्।

एयर इन्डियाको वक्तव्यमा पूर्व सावधानीका लागि विमानलाई कोलकाता विमानस्थलमा अवतरण गराउनुपरेको उल्लेख छ । विमानका यात्रुलाई अर्को विमानमा राखेर राति साढे दुई बजे नयाँदिल्ली पुर्‍याइएको थियो।

शनिबार, कोलकोता–चेन्नाइ इन्डिगो विमान पनि उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि पुनः चेन्नाइ फर्किएको थियो। विमानमा सामान्य खराबी देखिएको तर आपतकालीन स्थिति घोषणा नगरिएको इन्डिगोले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.