|

इलाम : नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिहीबार इलामको पशुपतिनगरमा भारतीय सीमा क्षेत्रको निरीक्षण गरेका छन्।

पशुपतिनगर ४ फाटक नजिकै दशगजा क्षेत्रमा निर्माण गरेको गुम्बाको निरीक्षण गर्दै खनालले भारतीय पक्षले एकलौटी ढंगबाट गुम्बा निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुन विपरित भएको बताए। अन्तर्राष्ट्रिय कानुन अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने भएपनि भारतले बनाइरहेको भन्दै उनले दुई देशबीचको वार्ताबाट सीमा क्षेत्रको समस्या समाधान गरिने बताए।

खनालले पूर्वदेखि पश्चिम नेपालसम्म सीमा क्षेत्रमा समस्या देखिएकाले चाँडै समाधान नगरे जटिल रुप लिने भएकाले समाधानका लागि सरकारले जिम्मेवारी पूर्वक पहल गर्नुपर्ने बताए।

सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, प्रहरी निरीक्षक मोहन थापा, सशस्त्र प्रहरी निरीक्षक सुमन बुढाथोकी र स्थानीयबासिन्दा सहित ३० जनासहितको टोलीले सीमा क्षेत्रको निरीक्षण गरेका थिए।

त्यसलगतै पूर्व सञ्चारमन्त्री शेरधन राई, नेकपा एमालेका सचिव एवम प्रदेश नम्बर १ का संयोजक भीम आर्चाय, नेकपा एमालेका केन्द्रीय सदस्य एवम मेची अञ्चल इन्चार्ज हिक्मत कार्की लगायतको टोलीले समेत सो क्षेत्रको निरीक्षण गरेका थिए।  

भारतीय पक्षले यसअघि रहेको पुरानो काठको टासी छङ्लिङ गुम्बालाई भत्काएर सामुदायिक हलसहितको पक्की गुम्बा बनाउने तयारी गरेपछि स्थानीयले यसको विरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.