|

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका सुखडबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका रामबहादुर चौधरीले उपचार त सरकारी अस्पतालमा गराए तर अधिकांस औषधीहरु भने अस्पताल बाहिर रहेका नीजि पसलबाट खरिद गरे। उनको उपचारमा संलग्न चिकित्सकले लेखिदिएको औषधी  सरकारी अस्पातलले सञ्चालन गरेको फर्मेसीमा नपाएपछि उनी नीजि पसलबाट औषधी खरिद गर्न बाध्य भएका हुन्। यस्तो समस्या चौधरीको मात्र छैन।

सुदूरपश्चिम प्रदेशका अरु अस्पतालमा ठीक नभएका बिरामी पठाउने अस्पतालको रुपमा रहेको धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गर्न आएका बिरामीहरु निजी पसलबाट औषधी खरिद गर्न बाध्य भएका छन्। चिकित्सकले लेखेको औषधि पनि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा नभएपछि बिरामीहरु यसरी औषधी खरिद गर्न बाध्य भएका हुन्।

निःशुल्क पाइने भनिएको सामाजीक सेवा इकाइ र स्वास्थ्य बिमाको औषधी पनि क्निकबाट खरिद गर्नुपरेको धनगढी उपमहानगरपालिका ६ मटेयारीका टेकबहादुर बिकले गुनासा गरे। ‘निःशुल्क पाइने औषधीहरु हामीले अस्पताल बाहिरबाट महंगोमा किनिरहेका छौं,’बिकले भने, ‘अस्पतालका फर्मेसीले यहाँ पाइदैन भने। उनीहरुलेनै हामीलाई बाहिरबाट किन्नु भनेर पठाए।’

अस्पताल फार्मेसीले करिब १२ सय प्रकारका औषधीहरु रहेको दाबि गरेको छ। तर अधिकांस बिरामी अधिकांस औषधी अस्पताल बाहिरबाट खरिद गर्न बाध्य छन्। केहि औषधि निःशुल्क र केही सुपथ मूल्यमा फार्मेसीमा पाइने भएपनि त्यहाँ सबै औषधी नभएपछि बिरामीहरु चर्को मूल्यमा नीजि क्लिनिकबाट औषधी किन्न बाध्य छन्।

औषधी खरिद गर्ने कम्पनिहरुलाई पुरानो रकम उपलब्ध नगराउँदा उनीहरुले आपूर्तिमा समस्या सृजना गरेका कारण  औषधी अभाव हुने फार्मेसी इञ्चार्ज भरत कुँवरको भनाइ छ। उनले भने, ‘हामीलाई औषधी दिनेहरुलाई अस्पतालले ठूलो रकम दिन बाँकि छ। त्यहि भएर उनीहरुले कहिले काहि समस्या गर्छन्।’

अढाइ करोड तिर्न बाँकी

अस्पतालले धनगढीका बिभिन्न ५ वटा फर्महरुलाई करिब २ करोड  ५० लाख रकम बुझाएको छैन। जसले गर्दा उनीहरुले औषधी आपूर्तिमा समस्या सृजना गर्ने गरेका छन्। सेती अञ्चल अस्पतालले सबै भन्दा धेरै रकम ड्रग सेन्टर धनगढीलाई तिर्न बाँकि रहेको छ। ड्रग सेन्टरलाई अस्पातालले ९९ लाख ७५ हजार ४१ रुपैया तिरेको छैन।

डी.बी मेडिसिन सेन्टर धनगढीलाई ९४ लाख ११ हजार ५ सय ४५ रुपैया तिरेको छैन। बी.एण्ड.बी सप्लायर्सलाई ४ लाख ९३ हजार ५ सय ५० रुपैया , जल्पा फार्मेसी धनगढी ४ लाख ६१ हजार ४  सय ९४ रुपैया र काफली मेडिकल हल धनगढीलाई ८४ हजार रुपैया उपलब्ध गराएको छैन। ती फर्महरुलाई गत बर्षको रकम उपलब्ध नगराउँदा यस बर्ष औषधी दिन बेलाबेलामा आनाकानि गर्ने गरेका छन्।  सेती अञ्चल अस्पतालले यति ठूलो रकम अस्पतालले तिर्न नसक्ने भन्दै संघीय स्वास्थ्य मन्त्रालयलाई पत्राचार समेत गरेको छ।

यस्तो छ अस्पतालको दाबी

अस्पतालमा बिरामीको अत्याधिक चाप भएका कारण कहिले काहि फार्मेसीमा केहि औषधी नपाइने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेले बताए। दैनिक १ सय भन्दा बढि सामाजीक सेवा इकाइ मार्फत निःशुल्क औषधी दिइरहेका कारण पनि केहि औषधीको अभाव सृजना भएको उनको भनाइ छ। मेसु पाण्डेले भने, ‘यहाँ बिरामीको अत्याधिक चाप छ। भनेजति आपुर्ति गर्न नसकेको अवस्था हो। ती औषधी बजारमा नपाएर पनि यस्तो भएको हो।’

दुई पटक औषधीको टेण्डर गर्नुपरेकाले पनि समस्या सृजना गरेको उनले बताए।  ‘दुई तीन महिना औषधीको आपुर्तिमा समस्या भयो’ उनले भने, ‘सप्लायर्स देखी आउने क्रममा ढिला हुँदा केहि समस्या सृजना भएको थियो। त्यसै माथि दुई पटक औषधीको टेण्डर गर्नु पर्‍यो।’ उनले फार्मेसीमा नभएका औषधीहरुलाई तत्काल खरिद गर्ने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.