|

७५३ स्थानीय तहहरूमध्ये अहिले अधिकांश स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका खबरहरू आइरहेका छन्। अधिकांश जनप्रतिनिधिहरू जनताको करबाट आफ्नालागि कार किनिरहेका छन्। सुविधाभोगी जनप्रतिनिधि स्थानीय तहमा मात्रै होइन, प्रदेश र केन्द्रमा पनि छन्। तर तीमध्ये केही मनकारी जनप्रतिनिधि पछि छन्, जसलाई आफ्नो सुविधाभन्दा बढी सन्तुष्टि जनताको सेवामा मिल्छ। त्यस्ता अपवाद जनप्रतिनिधिमध्येका एक हुन्, जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापा। 

सम्पूर्ण तलब विद्यार्थीका लागि

कैलाली जिल्लामा करिब तीन हजारको हाराहारीमा बालबालिकाहरू विद्यालय जानबाट वंचित छन्। अशिक्षा, गरिबी, अभिभावकको अभावका कारण ती बालबालिकाहरू विद्यालयको पहुँचमा पुग्न नसकेका हुन्। 

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले कैलालीका सबै बालबालिकाहरूलाई विद्यालयमा पु¥याउने गरी अभियान सुरु गरेका छन्। यसअन्तर्गत पहिलो चरणमा उनी आफैँले १५१ जना विद्यार्थीहरूलाई आफ्नो सम्पूर्ण तलब खर्च गरेर पढाउन सरु गरेका छन्। ‘राम्रो काम गर्ने सबैको चाहना हुन्छ तर सुरुमा आँट गर्न सक्दैनन्। त्यो आँट मैले गरेको छु। आशा छ, यस अभियानमा अन्यको पनि सहभागिता हुनेछ’, जिसस प्रमुख थापाले सुनाए।

उनको मासिक पारिश्रमिक ४० हजार रुपैयाँ छ। थापाले केही समयअघि एक औपचारिक कार्यक्रम आयोजना गरी आफ्नो एक वर्षको पारिश्रमिकवापतको चार लाख ८० हजार रुपैयाँ विद्यार्थीहरूको पाठ्यक्रम र पोसाक वितरणमा खर्चिए। सुरुमा १०० विद्यार्थीलाई पढाउने बताएका थापाले तोकिएको भन्दा धेरै गरिब, बिपन्न तथा अभिभावकविहीन बालबालिका सम्पर्कमा आएपछि आफ्नो पारिश्रमिकमा व्यक्तिगत दुई लाख रकम थपेर बालबालिकाका लागि अध्ययन सामग्री र पोसाक वितरण गरेका हुन्।

अभियानअन्तर्गत उनले १५१ बालबालिकाको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने घोषणा गरेका हुन्। राज्यबाट तलबभत्तासहित आउने सम्पूर्ण रकम बालबालिकाको पढाइमा खर्च गर्न सुरु गरेका हुन्। 

‘कैलालीमा तीन सयको हाराहारीमा जनप्रतिनिधि छौँ, एक जनाले १० जनाको अध्ययन खर्च व्यहोर्ने हो भने तीन हजार बालबालिका नियमित विद्यालय जान सक्छन्’, थापाले भने, ‘यही अभियानअन्तर्गत मैले बालबालिकाहरूलाई विद्यालय पढाउन थालेको हुँ।’

थापाले यस वर्षको आफ्नो पारिश्रमिकअन्तर्गतको सबै रकमले बालबालिकाका लागि किताब, कलम, कापी, पोसाक र जुत्ता वितरण गरेका छन्। ‘अहिले ११४ जनालाई वितरण गरिसकियो, ३७ जना थप बालबालिकालाई पनि विद्यालय पढाउने तयारी गर्दै छौँ’, थापाले भने। 

रोजेर विद्यालय पुगे बालबालिका

‘सात कक्षा पास भइसकेपछि बुबाआमाले अब पढाउन सकिँदैन भन्नुभयो। मभन्दा तल तीन भाइबहिनी पनि छन्, उनीहरूलाई पनि विद्यालय पठाउन सकिने अवस्था छैन भन्नुभयो। मलाई पढ्ने ठूलो रहर थियो’, कक्षा ८ का किताब लिन जिल्ला समन्वय समितिमा आएका सरस्वती मावि लम्कीका सीताराम चौधरीले पीडा पोखे। उनी आफ्ना तीनै भाइबहिनीलाई लिएर पुस्तक तथा पोसाक लिन धनगढी आएका थिए। उनी र उनका भाइबहिनीले फेरि उही विद्यालयमा पढ्न पाएका छन्।
उनी जस्तै ११४ जना बालबालिकाहरू आफूले छाडेको र रोजेको विद्यालयमा भर्ना भएका छन्। उनीहरू अहिले किताब, कलम लिएर नियमित विद्यालय गइरहेका छन्। ‘धेरैजसोले अध्ययन गरिरहेका विद्यालय रोजे, केहीले पुरानो विद्यालयमा राम्रो पढाइ छैन, अर्काेमा पढ्छु भने। हामीले त्यहीँ भर्ना गरिदियौँ’, जिसस प्रमुख थापाले भने।

सरकारले निःशुल्क शिक्षा भने पनि बालबालिकाहरूलाई सरकारी तथा सामुदायिक विद्यालयमै भर्ना गराउँदा पनि भर्ना शुल्क भन्दै रकम लिने गरेको उनले सुनाए। ‘सरकारले निःशुल्क भने पनि अभिभावकले पैसा तिर्नु रहेछ, त्यसैले त बालबालिकालाई विद्यालय नपठाउँदा रहेछन्’, थापाले भने।

कोको कहाँ पढ्दै छन्?

विद्यालय जानबाट वंचित भएकाहरूमध्ये ११ जना बालबालिकाहरू सरस्वती मावि लम्कीमा पढिरहेका छन्। कर्णाली उच्चमावि चिसापानीमा ११ जना, जीवन दीप प्रावि बल्चौरमा २९ जना, राष्ट्रिय मावि थापापुरमा सात जना पढिरहेका छन्। 

शहीद स्मृति मावि लम्कीमा ११ जना, कालिका मावि लम्कीमा दुई जना, सरस्वती मावि गेटामा सात जना, नवज्योति मावि धनगढीमा एक जना, भागेश्वर प्रावि गोदावरीमा एक जना, घण्टेश्वर मावि अत्तरियामा पाँच जना अध्ययन गरिरहेका छन्।

सुर्याेदय मावि धनगढीमा चार जना, पञ्चोदय मावि फूलबारीमा तीन जना, जनजागृति मावि फूलबारीमा छ जना, सिद्धार्थ आधारभूत विद्यालयमा तीन जना, सरस्वती मावि कौवापसरमा पाँच जना, राष्ट्रिय मावि व्यवस्थित नगरमा एक जना, जनजागृति मावि चौरीमा दुई जना, नाटा एकेडेमी लम्कीमा एक जना  र बालकल्याण मावि भुरुवामा चार जना गरी ११४ जना अध्ययन गरिरहेका छन्। 

उनीहरूमध्ये अधिकांश अभिभावकविहीन बालबालिका हुन्। ‘कतिपयका अभिभावक भएर पनि आर्थिक अवस्थाका कारण विद्यालय जना पाएका थिएनन्’, थापाले भने, ‘महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहयोगमा वास्तविक पीडित बालबालिकाहरूको मैले अध्यनको जिम्मा लिएको छु।’ महिला स्वयंसेविकाहरूले कैलालीमा अझै ३७ जना त्यस्ता बालबालिका रहेका बताएपछि थापाले तिनीहरूको पनि अध्ययन खर्च व्यहोर्ने बताएका छन्।

जनप्रतिनिधि नरहे पनि स्नातकसम्म अध्ययन गराउने

१५१ बालबालिकालाई स्नातकसम्म अध्ययन गराउने थापाको धोको छ। भर्ना भएका ११४ जना विद्यार्थीहरू अधिकांश १ कक्षामा पढिरहेका छन्। उनीहरूमध्ये धेरै ५ कक्षासम्म र केही ८ कक्षामा पनि भर्ना भएका छन्। आफूले जिम्मा लिएको र जिम्मा लिन बाँकी सबै बालबालिकाहरूलाई स्नाकोत्तरसम्म अध्ययन गराउने उनले घोषणा गरेका छन्। 

‘मैले जिम्मा लिएका बालबालिकाहरूलाई स्नातकसम्म पढाउने धोको छ’, थापाले भने, ‘म जनप्रतिनिधि हुँदासम्म मेरो पारिश्रमिकबाट उनीहरूलाई पढाउँछु। पछि मेरो व्यवसायबाट उनीहरूका लागि रकम छुट्याउँछु।’

थापाका लम्की चुहा नगरपालिकामा थुप्रै उद्योगहरू रहेका छन्। जिल्ला समन्वय समितिमा आएपछि हाल ती उद्योगहरू भाइ र छोराहरूले हेरिरहेका छन्। थापाले भने, ‘मैले जिम्मा लिएका बालबालिकाहरूलाई मेरो  उद्योगको आम्दानीबाट भए पनि स्नातकसम्म पढाउँछु।’ थापाको उद्योगबाट वार्षिक तीन करोड रुपैयाँ आम्दानी भइरहेको छ।

‘हामीले पनि पहिले आर्थिक अभावमा राम्ररी पढ्न पाएनौँ, त्यस्तो समस्या अरूलाई नहोस् भन्नका लागि यस्तो अभियानको प्रारम्भ गरेको हुँ’, थापाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.