|

काठमाडौं : थारु भाषाको फिचर फिल्म 'भुरभुरा रहर'को ट्रेलर सार्वजनिक भएको छ। ठूलो लगानीमा निर्माण गरिएको थारू भाषाको फिल्म भुरभुरा रहरको युटुबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो। 

भुरभुरा रहर पश्चिम नेपालका थारू समुदायको कथा हो। जसमा थारू समुदायको किशोरीको रहरको कथा बुनिएको छ। पश्चिम नेपालका थारू समुदायमा दशैंको रौनकसँगै सखिया नाच्ने गरिन्छ। गाउँका किशोरी तथा किशोरहरूको सामूहिक नाचलाई सखिया भनिन्छ। यो नाच नाच्दा पुरुषहरुले मादल बजाउछन् भने महिलाले हातमा मुजुरा लिएर बजाउदै नाच्ने गर्छन्। सोही सखिया नाच्दा मुजुराको अभावमा नाच्न नपाउने किशोरीको कथा फिल्मले भन्छ। 

४० लाखको लागतमा निर्माण गरिएको उक्त फिल्म मदन चौधरीले निर्देशन गरेका छन्। बर्दियाको ठाकुरद्वारास्थित पत्थरबोजीमा छायांकन गरिएको फिल्म थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेका हुन्। सुशिल चौधरीले लेखेको उक्त फिल्ममा रंगकर्मी प्रणव आकाशले रचनात्मक निर्देशनको काम गरेका छन्। फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले अभिनय गरेका छन्।

फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशव्यापी च्यारिटी गरिने बताइएको छ। यसअघि भुरभुरा रहरलाई पहिलोपटक काठमाडौंमा नाटकका रूपमा मञ्चन गरिएको थियो। जसको निर्देशन रंगकर्मी प्रणव आकाशले गरेका थिए। 

भिडियो हेर्नुस्ः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.