|

धनकुटा : अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले गरेको सर्वेक्षणमा विश्वका १२ उत्कृष्ट गन्तव्यमा सूचिकृत धनकुटाको नाम्जेमा पहिलो पटक माघे संक्रान्ति महोत्सव हुने भएको छ। साँगुरीगढी गाउँपालिका–६ मा रहेको नाम्जेमा पुस ३० देखि माघ २ सम्म महोत्सव हुने भएको हो।

स्थानीय संस्कृतिको संरक्षण गर्दै नाम्जे वरपरका आत्मा बस्ने घर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्की होमस्टे, सैलुङडाँडा, पाथीभरा देवीको मन्दिर, शंखेश्वर महादेव मन्दिर, नमस्ते झरना, ध्वजेडाँडा, ओख्रे भ्यु टावर, साँगुरीगढी आदिको प्रचार र प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका सचिव अशोककुमार मगरले बताए।

साँगुरीगढी गाउँपालिका र स्थानीयस्तरमा सञ्चालित १३ संघसंस्थाको संयुक्त आयोजनामा हुने महोत्सवमा पहिलो दिन स्थानीय स्थानीय मगर समुदायको हुर्रा नाच प्रदर्शन हुने तालिका छ। दोस्रो र तेस्रो दिन क्रमशः राई जातिको साकेला नाच र याम्फू राईको ढोल नाचजस्ता सांस्कृतिक कार्यक्रम हुने मुल आयोजक समितिका अध्यक्ष अनिलकुमार राना मगरले जानकारी दिए। 

महोत्सवमा विभिन्न जातिका मौलिक परिकारका २० वटा स्टल रहने र हरेक दिन सांस्कृतिक कार्यक्रम हुने छ। स्टलमा तरुल, सुटुनी, मकै, मटमास, सेलरोटीलगायत मगर समुदायको परिकारहरु राखिने छ। 

माघे संक्रान्ति मगरहरुको विशेष पर्व भएकाले सो पर्वलाई महोत्सवको रुपमा मनाउन लागिएको आयोजकले जनाएको छ। नाम्जे थुक्की गाउँ गर समुदायको बाहुल्यता छ। यस ठाउँमा २०६८ साल देखि होमस्टे समेत सञ्चालन भइरहेको छ। अहिले २२ ओटा होमस्टे घर र ३० भन्दा बढी होटल तथा लज संचालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.