|

उदयपुर : पुसको चिसो मौसममा पनि गत शनिबार पसिनाको चुहाउँदै दाङकी अन्जु चौधरी श्रीमानसँगै बेल्चा तानिरहेकी थिइन्। चौधरीले निर्माणाधीन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’अन्तर्गतको कटारी–गाईघाट खण्डमा मजदुरी गर्दै आएकी छन्। 

श्रीमानसँगै बिहानदेखि बेलुकासम्म काममा खटिने अन्जुले श्रीमान बेलन चौधरीभन्दा २०० रुपैयाँ कम ज्याला पाउँछिन्। महिलाहरुले पुरुष जत्ति तागतिलो काम गर्न सक्दैनन् भनी कम तलब दिने गरेको उनले गुनासो गरिन्। ‘श्रीमानले गरेका काम सबै गर्दै आइरहेकी छु,’ उनले गुनासो पोखिन्, ‘‘सँगसँगै काम गर्ने श्रीमानको दैनिक ज्याला ७००, मेरो ५०० रुपैयाँ मात्र छ।’

हिउँदमा घरमा खासै काम नभएकाले दम्पत्ति नै काम गर्न आएको अन्जुका श्रीमान बेलनले बताए। ‘छोराछोरी हुनेले घरमा रहेका बुवाआमालाई जिम्मा लगाएर काम गर्न आएका छन्,’ उनले भने, ‘श्रीमानसँगै काममा खटिने श्रीमतिले भने २०० रुपैयाँ कम ज्याला पाउँछिन्।’

कैलालीबाट आएका दुखेलाल दर्जीभन्दा उनी श्रीमतीले कम नै ज्याला पाएकी छन्। ‘खै महिला पुरुष बराबरी भन्छन्,’ उनले आश्चर्य प्रकट गर्दै भने, ‘काम पनि बराबरीजस्तै गर्नु पर्छ, तर ज्याला पाउने बेला पुरुषको तुलनामा महिलाले २०० रुपैयाँ कम पाउने गरेका छन्।’

मदन भण्डारी बैकल्पिक लोकमार्ग निर्माणको काम अहिले धमाधम छ। त्यहाँ काम गर्न सुदूरपश्चिम प्रदेश, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ का नागरिक आएका छन्। तिनीहरुमध्ये धेरै जना श्रीमान र श्रीमतीसँगै काम गर्दै आएका छन्। यस आयोजनामा काम गर्ने मजदुरहरुमध्ये पुरुषले दैनिक ७०० ज्याला पाउँछन भने महिलाले ५०० रुपैयाँ मात्र पाउँछन्। 

पूर्वमा सुनसरीको सिमाना चतारादेखि पश्चिममा सिन्धुलीको सिमाना भिमानसम्म १३४ किलोमिटरको मदन भण्डारी बैकल्पिक लोकमार्गको काम धमाधम भइरहेको छ। २०७६ असार मसान्तभित्र निर्माण गरिसक्ने गरी जेडआइसिई/लामा/शर्मा जेभीले जिम्मा लिएको लोकमार्ग निर्माणअन्तर्गत ५५ प्रतिशतभन्दा बढी काम सकिएको वैकल्पिक लोकमार्ग परियोजना पूर्वी खण्ड कार्यालयको दावी छ। चतरादेखि बसाहासम्म नदाहा–कञ्चनपुर खण्ड निर्माण एसियाली विकास बैंकले गरेका कारण परियोजना कार्यालयले बसाहादेखि भिमानसम्मको काम गरेको छ। तर, बसाहा हुँदै हेटौंडा खण्डमा गुणस्तरहीन काम भएको सरोकारवालाहरुको दाबी छ।

दुई वर्षअघि नै ट्रयाक निर्माण भइसकेको सडक स्तरोन्नति गर्ने, चौडा पार्ने, कालोपत्रेअघिको पूर्वाधार तथा पुल, नाला र कल्भर्टहरू धमाधम निर्माण भइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.