|

विराटनग : दुग्ध विकास सस्थानले उत्पादन गरेर राखेको धूलो दूधलाई विविधीकरण गरेर बजारमा लैजाने तयारी थालेको छ। विविधीकरणका क्रममा ‘डेरी ह्वाइटनर’ केही दिनभित्रै बजारमा लैजाने तयारी गरेको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले जानकारी दिए।

दुग्ध वितरण आयोजना विराटनगरमा उत्पादन थालिएको डेरी ह्वाइटनरका चार सय, पाँच सय, आठ सय र एक हजार ग्राम तौलका प्याकेजिङमा बजारमा पठाउने तयारी छ। आयोजनाले त्यसको व्यवसायिक उत्पादन गरिसकेको भएपनि औपचारिकरूपमा बिक्री भने प्रारम्भ गरेको छैन। डिडिसिले २५ किलोग्रामको स्किम्ड मिल्क पाउडर (एस एम पि) र होल मिल्क पाउडर(डब्ल्यु एम पि ) पनि नियमित बिक्री गर्ने जनाएको छ।

अहिले उत्पादन गरेर बजारमा लैजान लागेको डेरी ह्वाइटनरमा फ्याट, एनएनएफ र चिनीको मात्रा मिलाइएको हुन्छ। यस्तै एसएमपिमा फ्याट र एसएनएफ दुवै हुँदैन भने डब्ल्युएमपिमा घ्यूको मिश्रण गरिएको हुन्छ। 

सरकारले भारत लगायत तेस्रो मुलुकबाट पाउडर दूधको आयात केही समयदेखि रोकेको भएपनि डेरी ह्वाइटनरको आयात भने निर्वाधरुपमा भइरहेको थियो। नेपालमा अघिल्लो वर्षमात्र डेरी ह्वाइटनर आयात गर्दा ५० करोड रुपैयाँ विदेशिएको दुग्ध विकास संस्थानका निमित्त महाप्रवन्धक इश्वरीराज न्यौपानेले जानकारी दिए।

‘डेरी ह्वाइटनर उत्पादन गरेर बजारमा लैजाने बितिकै भारतबाट ५० प्रतिशत आयात तत्काल कटौती हुन्छ भन्ने विश्वास छ’ निमित्त महानिर्देशक न्यौपानेले भने, ‘अब नेपालमै गुणस्तरीय डेरी ह्वाइटनर सस्तो मूल्यमा उपलव्ध हुन्छ।’ डिडिसीले उत्पादन गरेको डेरी ह्वाइटनर अहिले भारतबाट आयातित ब्राण्डहरूभन्दा सस्तो हुनेछ।

डिडिसिले ४ सय ग्राम तौलको उक्त प्रोडक्ट अन्य प्रतिष्पर्धी कम्पनीको भन्दा ३५ रुपियाँ सस्तोमा बजारमा लैजादैछ भने ८ सय ग्रामको प्याकेजिङ्ग ६० रुपियाँ सस्तोमा बिक्री गर्ने तयारी छ। यसले भारतबाट आयात हुने ठूलो परिमाणको डेरी ह्वाइटनर प्रतिष्थापन गर्ने र आन्तरिक उत्पादन तथा बजारीकरणमा महत्वपूर्ण योगदान गर्ने न्यौपानेले बताए।

विराटनगरमा सुरु भएको नयाँ प्लान्टबाट दैनिक ३ हजार किलोग्राम डेरी ह्वाइटनर उत्पादन हुने छ। बजार विस्तारसँगै क्षमता पनि वृद्धि गर्न सकिने बताइएको छ।

नयाँ उत्पादनसँगै पूर्वी नेपालमा मिल्क होलिडेको अवस्था केही वर्षकालागि कम हुने भएको छ। डेरी ह्वाइटनरलाई सफलतापूर्वक बजारमा लैजानसके वर्षको थप ५२ लाख लिटर किसानको दूधको सहज व्यवस्थापन हुने र त्यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने मन्त्री खनालले बताए। उनले भने ‘नेपालमा उत्पादन थालिएको डेरी ह्वाइटनरले भारतको उत्पादनसँग सहजरूपमा प्रतिस्पर्धा गर्छ, गुणस्तर र मूल्य दुवै प्रतिष्पर्धामा अगाडि भएपछि त्यसमा चिन्ता गरिरहन पर्दैन तर गुणस्तरलाई कायम राख्न भने सदैव मिहेनत जरुरी छ।’

मन्त्री खनालले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन तथा दूध उत्पानलाई थप प्रोत्साहन गर्न आयातलाई निरुत्साहित गर्न जरुरी रहेको बताए। ‘हाम्रो पाउडर नबिक्ने तर विदेशबाट अर्बौंको पाउडर आउने अवस्थालाई मैले त्यतिकै रोकेको होइन, अब डेरी ह्वाइटनरको आयातलाई पनि नियन्त्रण गरिनेछ।’ उनले पाउडर दूध र डेरी ह्वाइटनरको भन्सार महशुल वृद्धि गर्न अर्थमन्त्रालयलाई आग्रह गरिने पनि जानकारी दिए। उनले स्वदेशी उत्पादनका वस्तुलाई बजारमा प्रसार गर्न पनि विदेशवाट आउने त्यहि वस्तुको आयातमा कडाई गर्नु आवश्यक रहेको तर आफूसँग नभएको वस्तु आयातमा भने उदार नै हुनुपर्ने बताए।

पछिल्लो समय विराटनगर आयोजनाले गुणस्तर तथा आन्तरिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको भन्दै मन्त्री खनालले प्रशंशा पनि गरे। उनले जनतामा आफ्नो उत्पादनलाई विश्वासिलो बनाउँदै प्रस्तुत गर्नका लागि थप मिहेनत गर्न कर्मचारीहरूलाई आग्रह गरेका थिए।

 त्यस क्रममा मन्त्री खनालले आयोजनाको सबै उत्पादन प्लान्टहरूको अनुगमन तथा निरीक्षण गरेका थिए भने कर्मचारीहरूलाई निर्देशन पनि दिएका थिए। कार्यक्रममा निमित्त महाप्रबन्धक न्यौपाने, विराटनगर आयोजनाका प्रमुख निलकण्ठ गौतमलगायतले उत्पादन, व्यवस्थापनलगायतका विषयमा आफ्नो धारणा राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.