समाज : सुरक्षा/अपराध

विवादास्पद तपस्वी बम्जन सिन्धुली आश्रममा, गिरफ्तार गर्न स्थानीय प्रहरीलाई आदेश पुगेन
SHARES

पुस २४, २०७५

    सिन्धुली : पाँचजना अनुयायी बेपत्ता पारिएको लगायतका आरोप लागेका ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको खुलासा भए पनि माथिको आदेश आई नपुगेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छैन। तपस्वी भनिएका विवादास्पद  बम्जनलाई प्रहरीले खोजी गरिरहेको र उनीमाथि लागेका आरोपबारे प्रहरीले चौतर्फी अनुसन्धान थालेको खबर आइरहेका बेला बम्जन सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ को पैरेमा रहेको उनकै आश्रममा रहेका प्रशासन र प्रहरीले पुष्टी गरेकाे छ ।

    उनका विभिन्न आश्रममा बस्दा पाँचजना उनका अनुयायी र आनीहरू बेपत्ता भएको, आश्रमका आनीहरूमाथि यौन दुर्व्यबहार गरेको जस्ता आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा घेराबन्दी गरेर अनुसन्धान थालेको थियो।

    तर, यस्ता संगिन आरोप लागेको बम्जनलाई नियन्त्रणमा लिन भने प्रहरीले सकेको छैन्। बम्जनको सिन्धुली आश्रममा भने प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान अगाडि नबढाएको भनी आलोचनासमेत हुन थालेको छ। मकवानपुर र सिन्धुपाल्चोक प्रहरीले गरेको परिपत्र अनुसार सिन्धुली प्रहरीले पनि अनुसन्धान गरिरहेको र विशेष टोली आए अनुसन्धानमा थप काम हुने यादवको भनाई छ। यादवले बम्जन भने सिन्धुली आश्रममै रहेको पुष्टि गरे।

    प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको बाँडेगाउँ आश्रममा अश्वभाविक घटना भएको पाइएको जनाएको छ।

    उनको सिन्धुली आश्रममा प्रहरीले छापामार्ने चर्चा चले पनि हालैमात्र बम्जनको आश्रममा पुगेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र एसपी यादव रित्तोहात फर्किएका थिए। तर, बम्जनको आश्रम र उनका गतिविधि बुझ्न केही दिन अघि बम्जनको आश्रम पुगेको भन्दै उनलाई नियन्त्रणमा लिन सरकारको माथिल्लो निकायबाट निर्देशन नआएकाले उनलाई नियन्त्रणमा नलिइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको भनाई छ।

    बम्जन र उनका सहयोगिमाथि नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी वेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी जाहेरी दिएका छन्।

    बेपत्ता भएका भनिएका सुरेश आलेमगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले भनि चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका छन्। बेपत्ता भएका भनिएका चारैजना २०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको बताइएको छ।

    विभिन्न जिल्लाका आश्रममा रहँदा विवादास्पद  छवि भएका बम्जन गत डेढ वर्षयता सिन्धुली आश्रममा बस्दै आएका छन्। करिब ४२ विगाहा जमिनमा पक्का संरचनाहरू निर्माण गर्दै बोधिश्रवण धर्म संघको व्यवस्थापनमा झण्डै २०० अनुयायीहरूलाई मैत्री ज्ञान दिँदै सिन्धुलीमा बस्दै आएका बम्जनले आफूमाथि लागेका संगिन आरोपबारे बोल्न चाहेका छैनन्। उनीमाथि लागेको आरोपबारे बुझ्न सोमबार बम्जनको आश्रममै पुगेका संचारकर्मीहरूसँग बम्जनले भेट नै दिएनन्।

    बरू उनको साना तीन विवादित विषयमा पनि काठमाडौं पुगेर पत्रकारहरू जम्मा गर्दै खण्डन गरिहाल्ने बताउँदै बोधिश्रवण धर्म संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले बम्जनमाथि लागेको आरोप निराधार रहेको दावी गरे। थिङले बम्जनमाथि लागेको आरोपमा कुनै सत्यता नभएको समेत दावी गरे।

    उनका अनुसार आश्रममा एउटा महिला र एउटा पुरुष एक्लै बस्न र हिँड्न पनि पाउँदैनन्। महिला र पुरुषहरू बस्ने आश्रम नै छुट्टाछुट्टै छन्। त्यहाँ श्रीमान् श्रीमती समेत एकै ठाउँ बस्न पाउँदैनन्। यस्तो आरोपमा कुनै तुक र सत्यता छैन्।  जति बेला हराएका हुन् त्यति बेलामै नखोजेर अहिले ३/४ वर्षपछि लागेको आरोपमा सत्यता छ की छैन्' उनले प्रश्न गरे। 

    प्रहरीका अनुसार बम्जनका अर्का अनुयायी सुरेश आले, आनीद्वय डोल्मो र चुन्मा पनि सिन्धुपाल्चोकबाट बेपत्ता भएको उजुरी उनीहरूका आफन्तले दिएका छन्।

    उता प्रहरी प्रशासनले बम्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न अनिच्छा देखाइरहेका बेला गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई बम्जनको बोधी श्रवण धर्म संघका पदाधिकारीले भेटेर बम्जनलाई कारबाही नगरिदिन गरेको आग्रहबारे चौतर्फीरूपमा आलोचना भइरहेका छ। 

    सन् २०१० मा बारा जिल्लामै केही स्थानीयहरूमाथि हातपात गरेको विवरण आएपछि बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि बम्जन चर्चामा आएका थिए। पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि बम्जनविरुद्ध थप आरोपहरूसहित  प्रहरीमा उजुरीहरू परेका छन्।

बुद्ध नेपाली

पत्रकार नेपाली थाहाखबरका सिन्धुली संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]