|

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ। हारसँगै मनाङको अपराजित रहँदै लिग अन्त्य गर्ने सपना पनि अधुरै भएको छ। 

लिगअन्तर्गत मंगलबार एन्फा मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग मनाङ  १–० ले स्तब्ध हुन पुग्यो। मंगलबारको खेलमा पराजित भए पनि मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहीत बराबरीमा सकिए पनि दोस्रो हाफको इञ्जुरी समयमा फ्रेन्ड्सका लागि विकास लामाले हेडमार्फत् गरेको एकमात्र गोल फ्रेन्ड्सलाई जित दिलाउन प्रयाप्त रह्यो। 

‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो। उपाधिसँगै मनाङले नगद ५० लाख पुरस्कार हात पारिसकेको छ भने उपविजेता बनेको संकटाले ३५ लाख प्राप्त गर्दा तेस्रो बनेको थ्री स्टारले २५ लाख प्राप्त गरेको छ। त्यस्तै चौंथो बनेको आर्मीले १५ लाख प्राप्त गर्यो भने  पाँचौँ बनेको एपिएफले ७ लाख प्राप्त गर्दा अर्को विभागीय टोली पुलिसले छैटौँ स्थानमा लिग अन्त गर्दै ५ लाखहात पारेको छ। 

यसैगरी मंगलबारै हल्चोक मैदानमा भएको अन्तिम चरणको खेलमा ब्रिगेड ब्वाइज र एनआरटी क्लबले बराबरी खेलेका छन्। हलचोक मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्। ब्रिगेड ब्वाइज नौ अंकसहित तालिकाको एघारौँ स्थानमा रह्यो भने एनआरटी छ अंक जोड्दै तालिकाको पुछारमा रहेर लिगको अन्त्य गरेको छ। 

यसैगरी विधागत उत्कृष्टतर्फ पनि लिग विजेता मनाङको वर्चश्व रह्यो। प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल श्रेष्ठ चुनिए भने उत्कृष्ट डिफेन्डरमा थ्री स्टारका रञ्जित धिमाल, उत्कृष्ट मिडफिल्डरमा मनाङका हेमन गुरुङ र उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास घोषित भए। त्यस्तै उत्कृष्ट प्रशिक्षक लिग विजेता मनाङका सुमन श्रेष्ठ घोषित भए भने उत्कृष्ट पाँच जनाले एक–एक थान पल्सर मोटरसाइकल हात पार्नेछन्। त्यस्तै ब्रिगेड ब्वाइज फेयर प्ले अवार्डबाट समानित भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.