|

प्युठान : डाँडामा समथर स्थान। बीचमा पोखरी। आनन्दित वातावरण। अग्लो र पर्यटकीय छटाले भरिपूर्ण। गर्मीमा शीतल र हिउँदमा घमाइलो आनन्द। साँच्चिकै पुग्नुपर्छ 'झुलेनी।' प्युठान नगरपालिका वडा नम्बर- ६ स्थित झुलेनी पछिल्लो समय स्थानीय र स्थानीय सरकारले पनि चासो बढाएपछि नयाँ गन्तव्य बनेको छ।

समुद्री सतहदेखि एक हजार ९९१ मिटर उचाइमा रहेको झुलेनी प्युठान नगरपालिका र नौबहिनी गाउँपालिकाको सीमा क्षेत्र नजिक रहेका कारण दुवै स्थानीय तहको साझा क्षेत्रको रूपमा रहेको छ। स्थानीयका अनुसार सबै धनन्जय गोत्रीय भण्डारीहरूको उत्पति झुलेनीबाट भएको हो। देशभर छरिएर रहेका भण्डारीहरूको ऐतिहासिक तथा जातीय सांस्कृतिक थलोका रूपमा रहेको झुलेनी क्षेत्र बहुआयामिक पर्यटकीय क्षेत्र हो। मनोरम एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण झुलेनीका दुई स्थानीय तहका स्थानीयहरू पहिचान, पवर्द्धन र बजारीकरणका लागि लागिपरेका छन्। अव्यवस्थित झाडीको रूपमा रहेको उक्त स्थानमा झाडी व्यस्थापन गरी रमणीय बनाएका छन्।

भण्डारीहरूको उद्गमस्थल भएर मात्र होइन, गर्मी याममा दिक्क हुने मानिस त्यहाँ गएर बसे मात्र पनि आनन्द पाउन सक्छन्। त्यहाँबाट प्युठान उपत्यका, नौबहिनी गाउँपालिकासहित बाग्लुङ, गुल्मी, अर्घाखाँची, दाङ जिल्लाका विभिन्न ठाउँ, दर्जनौँ हिमश‌ृंखला, विविध जडिबुटी पाइने कारण पर्यावरणीय अध्ययनलगायतका पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके प्युठान नगरपालिका र नौबहिनी गाउँपालिकालाई नै फाइदा पुग्ने देखिन्छ। पर्यटकीय वैभवले भरिपूर्ण झुलेनीमा पदमार्ग, सडकमार्ग र अन्य भौतिक पूर्वाधार निर्माण गरेपछि आन्तरिक पर्यटकको मोह बढ्दै गएको स्थानीयहरू बताउँछन्।

प्युठान नगरपालिकाको गेजवाङ-खलीगाउँ-आरुगैरासम्म नियमित जीप संचालनमा छ। आरुगैराको कालीपोखरीबाट झुलेनीसम्म निर्माण गरिएको दुई किलोमिटर पैदल मार्ग हिँडेपछि झुलेनी पुग्न सकिन्छ। धनन्जय गोत्रीय भण्डारीहरूको उद्गम भए पनि लामो समयसम्म गुमानाम रहेको झुलेनी पुर्ख्यौली ऐतिहासिकता खोजी गर्न थालेपछि पुनः चासोको रूपमा आएको छ। झुलेनीको विकास र प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा स्थानीय सरकारले समेत चासो देखाएको छ।

झाडीको रूपमा रहेको झुलेनीमा झाडी व्यवस्थापन, पैदल मार्ग निर्माण, वृक्षरोपण, तारजालीबाट संरक्षण गरिएको झुलेनी संरक्षण समितिका अध्यक्ष माधवराज भण्डारीले जानकारी दिए। 'खोजीनीति नहुँदा झुलेनी गुमनाम भइरह्यो', अध्यक्ष भण्डारीले भने, 'प्युठान नगरपालिका, नौबहिनी गाउँपालिका र पर्यटन बोर्डको सहयोगले झुलेनी पुनर्जागरण नै भएको छ।' झुलेनी छिट्टै प्युठानकै नमुना गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

गत आर्थिक वर्ष २०७४/०७५ मा १० लाख रुपैयाँ नेपाल पर्यटन बोर्डको सहयोगबाट तारबार, जिल्ला वनको सहयोगमा वृक्षरोपण गरिएको छ। यस आर्थिक वर्षमा लम्च्याङदेखि झुलेनीसम्मको पदमार्गका लागि ५० लाख, नौबिही गाउँपालिकाको पाँच लाख रुपैयाँ मन्दिर निर्माणका लागि र प्युठान नगरपालिकाको निरन्तर सहयोग पाइएको अध्यक्ष भण्डारीको भनाइ छ।

छिट्टै झुलेनी क्षेत्रमा मन्दिर स्थापना गर्न लागेको समितिका सचिव धनेश्वर भण्डारीले बताए। 'विस्तृत गुरुयोजना बनाएर भौतिक पूर्वाधारको निर्माणलाई तीव्रता दिने योजना छ', सचिव भण्डारीले भने। रमणीय र पर्यटकीय क्षेत्र झुलेनी भण्डारीहरूका लागि मात्र महत्त्वपूर्ण भन्ने सुनिन्छ तर यो पर्यटकीय क्षेत्रको  दृष्टिकोणले साझा क्षेत्रको रूपमा बुझ्नुपर्ने उनको तर्क छ। पिकनिक स्थल, भ्यू टावर निर्माण, होमस्टे, प्रतीक्षालय, खानेपानीको व्यवस्थापन गर्नेगरी योजना अघि बढाइने उनले सुनाए। 'प्रदेश ५ कै रमणीय क्षेत्रको रूपमा यसलाई विकास गर्ने गरी योजना अघि बढ्नेछ', उनले भने।

हरियाली झुलेनी बनाउनका लागि जिल्ला वन कार्यालयसँगको समन्वयमा वृक्षरोपणसमेत गरिएको छ। धुपी, सल्ला र कपुर गरी ३५० वटा बिरुवा रोपिएको छ। झुलेनी भित्रीकोटसँग जोडेर विकास गर्न नगरपालिकाले थालनी गरेको प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए। प्युठान नगरपालिकाले नगर पर्यटन गुरुयोजनामा झुलेनीलाई नगरभित्रको प्रमुख पर्यटकीय गन्तव्य मानेर गुरुयोजनामा समावेश गरेको प्युठान नगरपालिकाका प्रमुख कक्षपति बताउँछन्। 'भित्रीकोट, झुलेनी पर्यटकीय गन्तव्यको विकाससँगै स्थानीय उत्पादनको पहिचानका लागि प्युठान नगरपालिका- ६ माझकोट क्षेत्र माहुरीको मह उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ', कक्षपतिले भने।

जिल्ला वन डिभिजन कार्यालयमार्फत् ५० लाख रुपैयाँमा स्वर्गद्वारी-गौमुखी पदमार्ग निर्माण गर्न लागिएको र सोही मार्ग झुलेनी क्षेत्रमा पनि पुर्‍याउने गरी योजना बनाइएको डिभिजन प्रमुख अम्बिकाप्रसाद पौडेलले बताए। स्वर्गद्वारी आएका पर्यटकलाई पदमार्ग हुँदै झुलेनी भएर गौमुखी पुर्‍याउने लक्षसहित पदमार्ग निर्माण गर्दै छौँ', उनले भने।

पछिल्लो समय पर्यटन विकासका लागि नेपाल सरकारले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। प्युठानमा भारतबाहेक अन्य क्षेत्रबाट पर्यटक आउन सकेका छैनन्। प्युठानका पर्यटकीय क्षेत्रसँगै झुलेनी क्षेत्रको पर्यटन क्षेत्रलाई बजारीकरण गर्न सके आर्थिक आय आर्जनमा टेवा पुग्ने स्थानीयहरू बताउँछन्। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.