|

तेह्रथुम : तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले क्षेत्रमा अवस्थित गुफा बजारमा विद्युत लाइन विस्तार भएको छ। बाह्रै महिना चिसो हुने सो क्षेत्रमा बिजुलीको केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि स्थानीय बजारवासी हर्षित् भएका छन्।

संखुवासभाको चैनपूर, नुनढाकी हुँदै सुकेबजार, गुफाबजार र जोरपोखरी बजारमा केन्द्रीय विद्युत प्रसारण लाइन ल्याइएको केन्द्रीय विद्युत विस्तार उपभोक्ता समिति गुफाका अध्यक्ष हरिप्रसाद खनालले बताए। उनका अनसुार नेपाल बिद्युत प्राधिकरण चैनपुरका प्राविधिकहरुको सहयोगमा उक्त बिद्युत लाइन स्थानीय बजारमा जडान गरिएको हो।

टिएमजे क्षेत्रको सुकेबजार, गुफाबजार र जोरपोखरीमा हालसम्म पनि बिद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार हुन सकेको थिएन। विगतमा स्थानीय स्तरमा प्याल्ट्रिक सेटबाट उत्पादित बिजुलीको प्रयोग गर्दै आएको केन्द्रीय विद्युत विस्तार उपभोक्ता समिति गुफाका सचिव सन्तोष लिम्बूले बताए। उनले केन्द्रीय विद्युत विस्तारका लागि सामान ढुवानी तथा प्राविधिक खर्च बापद प्रति घर ३० हजार रकम समेत जम्मा गरेको बताएका छन्।

२०७२ सालबाट निर्माण तथा लाइन विस्तार कार्य सुरु भएको यस क्षेत्रमा पुस २१ गतेबाट यस क्षेत्रका करिब ४० घरधुरीमा झलमल्ल बिजुली बलेको छ। घरमा बिजुली आएपछि बत्ती बाल्न, खाना पकाउन, पानी तताउनका साथै विभिन्न उपकरण चलाउनमा समेत सहजता भएको स्थानीयबासीले बताएका छन्। सडक बत्तीको पनि व्यवस्था भएपछि आँगन, बाटो झलमल्ल हुनुका साथै अँध्यारोमा हुने घटनामा पनि कमी आउने बजारवासीको भनाइ छ।

पहिलेपहिले बेलुका मात्र बिजुली बाल्न पाइन्थ्यो तर केन्द्रीय प्रसारण लाइन जोडेपछि भने चौबीसै घण्टा बिजुली बाल्न पाएकोमा आफू अत्यन्तै खुसी भएको जोरपोखरी बजारका स्थानीय पासाङ ग्याजे शेर्पाले बताए। स्थानीय बजारवासीहरुले बिजुली आएपछि रेडियो सुन्न, टिभी हेर्न, मोवाइल चार्ज गर्न पाइने भएकोमा खुसीयाली समेत मनाएका छन्।

यस क्षेत्रको मुख्य इन्धनको स्रोत भनेको दाउरा नै हो। त्यसमा पनि गुराँसका दाउरा काट्नु पर्ने अवस्था अझै छ। जसका कारण गुराँस विनासको जटिल समस्या बढ्दै गएको छ। २८ सय ९० मिटर उचाइमा रहको गुफाबजार र यस क्षेत्र नजिकैका बजारहरुमा बाह्रै महिना चिसो हुने कारण पनि यहाँ आगो बालेर ताप्ने गरिन्छ।

बिद्युत विस्तारबाट खाना पकाउन, पानी तताउनका साथै आगो ताप्नको लागि हिटरको प्रयोग गरेबाट अबका दिनमा गुराँस फडानीमा भने केही कमी आउने आशा गरिएको अगुवाहरु बताउँछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.