|

तनहुँ : तनहुँको बन्दीपुर पुर्ख्यौली घर भएका कृष्णलाल र चिरञ्जीवी प्रधानले एक करोड दान गरेपछि १५ बेडको बन्दीपुरमा ५० शैय्याको अस्पताल बन्ने भएको छ। पर्यटकीय नगरी बन्दीपुरमा रहेको अस्पतालका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएपछि अस्पताल बन्ने भएको गाउँपालिकाले जनाएको हो। सहयोग रकम प्राप्त हुनासाथ अस्पतालको निर्माण कार्य सुरु गरिएको बन्दीपुर अस्पताल विकास समितिका अध्यक्ष तथा गाउँपालिका प्रमुख पूर्णसिंह थापाले जानकारी दिए।

‘बुबाआमाको स्मृतिमा तनहुँको बन्दीपुरका कृष्णलाल प्रधान र चिरञ्जीवी प्रधान दाजुभाइले अस्पतालको भवन निर्माणका लागि सोमबार एक करोड रुपैयाँ दान दिएका हुन्,’ उनले भने। पुर्ख्यौली घर बन्दीपुर भए पनि हाल चितवन बस्दै आएका कृष्णलाल र चिरञ्जीवी प्रधानले बन्दीपुर अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेसँगै स्थानीयबासी हर्षित भएका छन्। अस्पतालका लागि यति ठूलो रकम उपलव्ध गराएको भन्दै स्थानीयले दाता प्रधान दाजुभाइलाई सहयोग प्रति धन्यवादका साथै प्रशंसा गरेका छन्।

बन्दीपुर अस्पतालको भवन जीर्ण बन्दै गएको र राज्यबाट नयाँ भवन निर्माणका लागि पहल नभएपछि आफ्ना स्व. बुबा शम्भुलाल प्रधान र आमा बालकुमारी प्रधानको स्मृतिमा दाजुभाइले रकम दिएर पुण्यको काम गरेका हुन्। बुबाआमाको स्मृतिमा स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्यसहित अस्पताल बनाउन रकम गाउँपालिकालाई प्रदान गरेको कृष्णलाल प्रधानले बताए। ‘स्व. बुबाआमाको इच्छा अस्पताल बनाउने रहेको थियो, सोहीअनुरूप सहयोग गरेका हौं,’ उनले भने ‘अस्पताललाई सहयोग उपलब्ध गराउन पाउँदा शान्ति मिलेको छ, अब बुबाआमाको इच्छा पूरा भएको हाम्रो विश्वास छ।’

गाउँमा नै ५० शैय्याको अस्पताल बन्ने भएपछि स्थानीयलाई स्वास्थ सेवा लिन टाढा जानुपर्ने बाध्यता हट्नेछ। मानव अंग प्रत्यारोपण केन्द्र तथा ज्येष्ठ नागरिक अस्पतालका रुपमा अस्पताल सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष थापाले बताए। ‘करिव छ करोड रुपैयाँको लागतमा बन्ने अस्पताल भवन चार तलाको हुने भनिए पनि तत्कालका लागि भने दुई तल्लाको मात्रै बनाइनेछ,‘ उनले भने ‘भवन बनाउन रकम पर्याप्त नभएकाले प्रदेश र संघीय सरकारसँग सहयोग माग्ने गाउँपालिकाको तयारी छ।’

अस्पतालको भवन बन्दै गर्दा रकमको अभाव भएमा थप सहयोग गर्ने प्रतिबद्धतासमेत प्रधान दाजुभाइले जनाएका छन्। शिलान्यास सुरु गरेलगत्तै अस्पतालको ११ रोपनी क्षेत्रफलमा रहेको जग्गामा भवन निर्माण सुरु गरिएको छ। निर्माणको काम भइरहेको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंस गुरुङले उनीहरूले गाउँपालिकालाई गरेको सहयोग प्रशंसनीय रहेको बताए। ‘उहाँको सहयोगले गाउँबासी हर्षित हुनुका साथै सहज रुपमा सेवा पाउनेमा विश्वस्त छन्। गाउँमा नै ५० शैय्याको अस्पताल बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ। गाउँमा विशेषज्ञ डाक्टर र पर्याप्त मात्रामा मेसिनरी सामग्री नहुँदा सामान्य बिरामीको लागि समेत पोखरा र काठमाडौं जानुपर्ने बाध्यता थियो भने अब त्यो समस्या समाधान हुनुका साथै स्थानीयलाई सहज हुनेछ,’ उनले भने।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.