|

धनगढी : तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्गत बुधबारको नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ।

खेलको सुरुवाती समयदेखि दबाव बनाएको पुलिसले तीर्थ रानाको गोलमा अग्रता बनायो। उनले ७औँ मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन्। ३५औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे। अभिषेकले विङ्गबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडर गोल गरे।

दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो। दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।

पुलिसले अब पुष २९ गते हुने क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ। बिहीबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ।

मौफसलकै सर्वाधिक धनराशीको प्रतियोगीताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५–१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.