|

समग्रमा अहिले नेपाली साहित्यकै स्थिति ह्रासोन्मुख छ। ज-जसका कारण नेपाली साहित्य अस्तित्वमा छ, तिनलाई भुल्ने धृष्टता हामी गरिरहेछौँ। नेपाली कथाको हालत पनि यही छ। संसारको कथासाहित्यमा जसरी चेखब र मोपासालाई भेट्ने कथाकार आजसम्म भेटिएका छैनन्, नेपाली कथामा पनि मैनाली, गोठाले, बीपी, विजय मल्ल, पारिजात, रमेश विकललाई पछाडिका कथाकारले भेट्न सकेनन्। मनु ब्राजाकी, राजवहरूलाई उनीहरूपछिका कथाकारले भेटेनन्। नयाँ त तब पो नयाँ, जब पुरानाको घेरा र स्तर नाघेर अघि बढ्छन्। त्यसका लागि, एक कथाकारका नाताले सर्वप्रथम म आफैँ आत्मआलोचित हुन चाहन्छु।

प्रयोगलाई मचाहिँ नराम्रो मान्दिनँ। यो हुनुपर्छ। भइरहेको पनि छ। लोककथा, दन्त्यकथाको जमानामा बीरसिक्का, अग्निदत्तजस्ता आख्यान नै क्रान्तिकारी प्रयोग थिए। पछि गुरुप्रसाद मैनालीले जनजीवनका ससाना यथार्थ र भावनालाई मीठो भाषामा टपक्क टिपेर कथालाई ऐतिहासिक मोड दिए। यो अर्को क्रान्तिकारी प्रयोग थियो। गोठाले, बीपी, पारिजात, विजय मल्ल, धु्रवचन्द्र, मनु ब्राजाकी, राजव आदिले अर्को क्रान्तिकारी प्रयोग गरे। कथा क्षेत्रमा यी सबै एक से एक नयाँ आविष्कार थिए। तिनले हाम्रो इतिहास, समाज, जीवनशैलीको जीवन्त दस्तावेज उतारेका थिए। प्रयोग नयाँ पुस्ताले पनि गरिरहेको छ। तर, त्यो भाषा र शैलीमा सीमित छ। त्यसमा मनोञ्जन छ, इतिहास र समाजबोध लगभग अनुपस्थित छन्। यसप्रकार यो प्रयोग पति गुमाएका हिन्दू महिलाको प्रणय कामनाझैँ अधुरो छ।

अहिले नेपाली साहित्यकारबीच सर्वत्र कविताको चर्चा हुन्छ। जताततै कविता वाचनको कार्यक्रम हुन्छ। त्यहाँ एकखालको दादागिरी र गुन्डागिरी नै चल्छ। कथाको चर्चा खासै हुँदैन। कथा त्यसरी उपेक्षालायक विधा भने पक्कै होइन।

प्रयोग सही तरिकाले भए त धेरै राम्रो हुन्छ। यसले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँछ। तर, प्रयोग भनिएका यस्तो लेखनलाई प्रयोग भन्ने कि नभन्ने? अतृप्त यौवनजस्तो प्रयोगलाई कसरी प्रयोग भन्ने? कुनै कुरा नयाँ तरिकाले भन्दैमा प्रयोग हुँदैन, त्यहाँ कुरा नै नयाँ हुनुपर्छ। तब पो प्रयोग हुन्छ।

नेपाली गद्य कवितामा भएको पछिल्लो प्रयोगलाई म त नेपाली साहित्यकै उपलब्धि भन्छु। हो, रिमाल, भूपिहरूलाई भेट्ने कवि अहिले पनि छैनन्। तर, जुन गति, जुन शैली र जुन हस्तक्षेपकारी तेवर र जुन संख्यामा नेपाली कविता आएको छ, त्यो नेपाली साहित्यमा अपूर्व घटना हो। यसमा नयाँ शैली, नयाँ भाषा, नयाँ विचार, नयाँ विषयवस्तु, नयाँ कला र समयचेत छ। अपवादलाई छाड्ने हो भने सिर्जनात्मक हिसाबले पनि यो माथि छ। भाषा र शैली साहित्यका प्रवेशद्वार हुन्, जसले पाठकलाई भित्र छिर्न हार्दिक स्वागत गर्छन्। यस हिसाबले कथा र उपन्यासमा भएको प्रयोग पनि महत्त्वपूर्ण छ। पाठकको भीड यी विधामा आकर्षित हुनुमा यिनै कुराको भूमिका छ। तर, यिनका प्रयोग मैले माथि भनेजस्तै अधुरो र अपुरो छ, जसमा जनसाधारणको ध्यान पुगेको हुँदैन।

केही लेखकका हकमा नेपाली साहित्य जटिल र दुरुह बन्दै गएको कुरा सत्य हो। जटिलता र दुरुहता पाठकलाई ग्राह्य हुँदैनन्। जटिल लेख्न जति सजिलो छ, सरल लेख्न त्यतिकै गाह्रो छ। मिडियाले जुन कुरालाई महत्त्व दियो, हाम्रो ध्यान त्यसमै केन्द्रित हुँदा नेपाली लेखक दुरुह भएका हुन् कि जस्तो पनि लाग्न सक्छ। यो नेपाली साहित्यको सामान्य प्रवृत्ति भने होइन।

नयाँ विषय, नयाँ विचार, नयाँ भाषा, नयाँ शैली, नयाँ प्रयोग। खासमा यो शब्दको पहाड होइन, नयाँ आविष्कार, मानवीय जीवनका स्मरणीय क्षणको विशिष्ट चित्रण हुनुपर्छ।

नेपाली कथा पहिलेको तुलनामा भाषाको मिठास, नयाँ शैली, सरलता, सम्प्रेष्यता, ग्राह्यता, हास्यचेतका हिसाबले राम्रा छन्। नयाँ पाठकले नयाँ कथा मन पराउनुमा यिनै कुराले भूमिका खेलेका छन्। खासमा यो मिडियाको प्रभाव र बजारको मागको सम्बोधन हो। समस्या के छ भने यीमध्ये धेरैजसो कथामा कथा नै गयल छ। सबै कुरा छ, तर कथामा कथा छैन भने त्यस्तो कथाको दीर्घायु हुँदैन।

अहिले नेपाली साहित्यकारबीच सर्वत्र कविताको चर्चा हुन्छ। जताततै कविता वाचनको कार्यक्रम हुन्छ। त्यहाँ एकखालको दादागिरी र गुन्डागिरी नै चल्छ। कथाको चर्चा खासै हुँदैन। कथा त्यसरी उपेक्षालायक विधा भने पक्कै होइन। चेखब, मोपासा, ओ हेनरीका कथालाई सम्झने हो भने मानव समाज रहुन्जेल तिनका कथा जीवित रहन्छन्। के थाहा, हामीकहाँ पनि चेखबहरू जन्मन्छन् कि! शिल्पी, मण्डला, सर्वनामजस्ता प्रसिद्ध थिएटरले कथा वाचनको परम्परा पनि थाल्नु जरुरी छ।

 प्रस्तुति- घनेन्द्र ओझा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.