|

दाङ : थारू जातिको महान् पर्व माघी आउन अब हप्ता दिन मात्रै बाँकी छ। तर हिजोआज थारू समुदायमा माघीको रौनक छाएको छ। माघीको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

बुधवार तुलसीपुरमा क्षेत्र नं. ३ स्तरीय माघी विशेष सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो। तुलसीपुर ५ जवरपुरमा रहेको नमूना भुह्याँर थानको आयोजना तथा थारू कल्यानकारी सभा दाङ क्षेत्र नं. ३ को सहआयोजनामा भएको दाङ क्षेत्र नं. ३ स्तरीय माघी महोत्सवलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले उद्घाटन गरिन्। 

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सचेतक चौधरीले माघी थारूहरूको ऐतिहासिक पर्व भएको बताइन्।  मुलुकबाट कम्लरीमुक्त भइसकेको भन्दै माघीलाई थारू समुदायले विशेष पर्वका रूपमा मनाउने गरेको उनले बताइन्। कम्लरीमुक्त हुनुभन्दा अघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो, तर कम्लरीमुक्त भइसकेपछि यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारू समुदायले मनाउने गरेको समेत बताइन्। उनले थारूहरूले नयाँ वर्षका रूपमा माघीलाई मनाउने गरेको भन्दै यस पर्वलाई भड्किलो, खर्चिलोभन्दा पनि सभ्य तरिकाले मनाउन आग्रहसमेत गरिन्। उनले थारूहरूको नयाँ नेतृत्व चयन गर्दा सक्षम, इमान्दार नेतृत्व चयन गर्नुपर्ने समेत बताइन्।

महोत्सवमा ४० बढी मघौटा नाच प्रस्तुत गरिएको थियो। यता थारू जातिले माघीलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन्। उनीहरूले माघीकै दिनदेखि वार्षिक कार्य योजना तय गर्छन्। घर निर्माण गर्ने, घर छुट्टिने, के काम गर्ने वा नगर्ने जस्ता योजनाहरू उनीहरू यही माघीकै अवसरमा गर्ने गर्छन्। माघी कै अवसरमा उनीहरू गाउँ र घरको समेत अगुवा चुन्ने गर्छन्। धर्ती पुत्र मानिने थारू जाति यो पर्वलाई नयाँ वर्षको रूपमा समेत मनाउँदै आएका छन्। मौलिक कला र संस्कृतिको धनी थारू जातिमा माघीको अवसरमा गाइने माघर गीतको आफ्नै महत्व छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.