सातामा १४ वटा सिधा उडान भरिने

|

काठमाडौं : नेपाल र जापानबीच हवाई सम्झौतामा हस्ताक्षर गरिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र जापानका परराष्ट्रमन्त्री तारो कोनोबीच बुधबार काठमाडौंमा नेपाल र जापानबीच सिधा हवाई उडान भर्न हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

उक्त सम्झौतामा हस्ताक्षर गर्न जापानी परराष्ट्रमन्त्री तारो कोनो बुधबार नै नेपाल आएका हुन्। परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधबार बेलुकी होटल याक एन्ड यतिमा भएको मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता भएको हो।

सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई नवीकरन गर्ने असारमा सहमति भएको थियो। यो सम्झौतासँगै दुई देशबीच सिधा हवाई उडान गर्न मार्ग प्रशस्त भएको हो। सम्झौतासँगै नेपालले जापानमा सिधा उडान भर्न नेपाल वायु सेवा निगमले प्रकृया अगाडि बढाउनेछ। त्यसपछि सातामा १४ वटा हवाई उडान हुने बताइएको छ।
जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ। टोकियोको सबैभन्दा ठूलो एअरपोर्ट हानडामा भने नेपाल वायु सेवा निगमले प्रवेश नपाउने बताएइको छ।

यो सम्झौतापछि जापानमा बस्ने नेपाली र जापानबाट आउने पर्यटकले अधिकतम् लाभ उठाउन सक्नेछन्। नेपाल वायु सेवा निगमको सेवा विस्तार र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सरकारले जापानमा पनि सिधा हवाई उडान गर्न पहल गरेको थियो। यसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल भित्राउन मद्दत गर्ने सरकारले विश्वास लिएको छ।

परामर्श बैठकसम्बन्धि एमओयुममा हस्ताक्षर

त्यस अवसरमा नेपाल र जापानका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सहयोगपत्रमा समेत हस्ताक्षर गरिएको छ। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

उक्त सहयोगपत्रबाट दुवै देशहरूलाई सहयोगका कार्यविधिहरूमा छलफल गर्न, द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न, सहयोगका नयाँ क्षेत्रहरू पहिचान गर्न तथा साझा चासोका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विचार आदानप्रदान गर्न एक मञ्च प्राप्त हुने बताइएको छ। 

जापान नेपालको प्रमुख विकास साझेदार : मन्त्री ज्ञवाली 

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएका छन्। दुई देशबीच हवाई सम्झौता तथा द्विपक्षीय परामर्श बैठकसम्बन्धी सम्झौता पत्रहरूमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले दुई देशबीच घनिष्ट, सौहार्द र सहयोगात्मक सम्बन्ध रहेको बताए। उनले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको भन्दै लगानी तथा पर्यटनका निम्ति प्रमुख स्रोत मुलुक भएको समेत बताए। 'हामीले जापानसँगको सम्बन्धलाई ठूलो महत्त्व दिँदै आएका छौँ। जापान नेपालको एक प्रमुख विकास साझेदार तथा नेपालमा लगानी र पर्यटनको एक प्रमुख स्रोत मुलुक समेत रहेको छ', मन्त्री ज्ञवालीले भने।

नेपालको आर्थिक, सामाजिक विकासका प्रयासहरूमा जापान सरकारले पुर्‍याएको निरन्तर एवं निःशर्त सहयोग र समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारले समृद्ध नेपाल सुखी नेपालीको मूल नारा लिएर नेपाली जनताको आर्थिक रुपान्तरण गर्ने एजेन्डा बोकेर हिँडिरहेको बताए। उनले जतिसक्दो चाँडै अति कम विकसित मुलुकबाट स्तरोन्नति गरेर सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको बताए। 

यी लक्ष्य प्राप्तिका निम्ति सहयोग उपलब्ध गराउने आश्वासनका निम्ति मन्त्री ज्ञवालीले जापान सरकारलाई धन्यवादसमेत दिए। उनले २०७२ सालमा आएको भूकम्पपछि जापान सरकारले उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याएकोमा धन्यवादसमेत दिए। 

बैठकमा पूर्वाधार निर्माण, कनेक्टिभिटी र ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका बारेमा छलफल गरेको भन्दै मन्त्री ज्ञवालीले नेपालका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी तथा आगामी मार्च १९ मा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी जापानी लगानीकर्ता तथा उद्यमीहरूको सहभागीताका बारेमा समेत छलफल भएको जानकारी दिए।

भेटमा जापान सरकारको ल्याएको नयाँ अध्यागमन नीतिअनुसार नेपाली श्रमिकहरू जापान पठाउने विषयमा पनि छलफल भएको थियो। नयाँ व्यवस्थाअनुसार नेपाललाई एक स्रोत मुलुकको रूपमा समावेश गरेकोमा जापान सरकारलाई धन्यवाद दिँदै मन्त्री ज्ञवालीले यससम्बन्धी सहयोगपत्र जतिसक्दो छिटो सम्पन्न गर्न दुवै सहमत भएको जानकारी दिए। ज्ञवालीले नेपाल भ्रमण वर्ष सफल बनाउन जापानमा नेपालले प्रचारप्रसार उत्तिकै रहने अपेक्षा लिएको समेत बताए। 

उडान भर्न छिटो प्रकृया थाल्नुस् : जापानी परराष्ट्रमन्त्री 

त्यसअवसरमा जापानका विदेशमन्त्री तारो कोनोले दुई मुलुकको सम्झौताअनुसार नेपाल वायु सेवा निगमलाई छिटोभन्दा छिटो उडान भर्न अनुरोध गर्दै त्यसका लागि आफ्नो मुुलुकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

सात वर्षपछि नेपाल भ्रमणमा आएका र परराष्ट्रमन्त्री ज्ञवालीसँग दुई पटक प्रत्येक्ष भेटवार्ता र छलफल गरिसकेका कोनोले नेपाल र जापानले १९९६ मा कुटनीतिक सम्बन्ध स्थापना गरेयता आर्थिक सहयोग, सांस्कृतिक, पर्यटन र जनस्तरीय सम्बन्धलगायत विभिन्न क्षेत्रको आदानप्रदानमार्फत् दुई मुलुकबीचको मैत्री सम्बन्ध स्थापित गर्दै आएको जानकारी दिए।

पछिल्ला वर्षहरूमा दुई मुलुकका नागरिकहरूको आवातजावत निकै बाक्लिएको भन्दै उनले सन् २०१७ मा मात्रै जापान भ्रमण गर्ने नेपालीको संख्या ३९ हजार र नेपाल भ्रमण गर्ने जापानका नागरिकको संख्या २७ हजार पुगेको तथ्यांकसमेत प्रस्तुत गरेका थिए। 

'व्यक्ति–व्यक्तिबीचको सम्बन्ध दुई मुलुकको सम्बन्धको मुख्य आधार हो। हामीले भर्खरै दुई मुलुकबीच हवाई सम्झौताको संशोधनका लागि पत्रहरूको आदानप्रदानमा हस्ताक्षर गरेका छौँ', उनले भने 'नेपाल वायु सेवा निगमको प्रत्यक्ष उडान चाडोभन्दा चाडो सुचारु होस्। त्यसका लागि हामी नेपाल सरकारलाई सहयोग र समन्वय गर्दै जाने छौँ।'

जापानका परराष्ट्रमन्त्री कोनोले जापान र नेपालका मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श बैठक अयाोजनासम्बन्धी सहयोग पत्रमा हस्ताक्षर हुनुलाई महत्त्वपूर्ण उपलब्धिको रुपमा लिएको समेत बताए। दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बनाउन, विकासमा साझेदारी गर्न र क्षेत्रीय अवस्थाबारे आआफ्ना विचार आदाप्रदान गर्न पाउँदा खुसी लागेको उनले त्यस अवसरमा बताएका थिए। 

नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले दुई महिनाअघि जापानको औपचारिक भ्रमण गरेका थिए। नेपाल-जापान सम्बन्ध १८औं शताब्दीको अन्त्यतिरबाट सुरु भएको थियाे। तर कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरमा स्थापना भएको थियो। सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.