|

पेपे ग्वार्डिओलाको म्यानचेस्टर सिटीको उत्कृष्ट प्रदर्शन लिग कपमा पनि दोहोरिएको छ। लिग कप (काराबाओ कप)  फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुर्टनमाथि ९ गोल गर्दै सिटीले एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान ३१ वर्ष पछि संभव बनाएको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीले लिग वान क्लब बुर्टनमाथि ९–० को शानदार जित दर्ता गर्दा पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा थप पाँच गोल गर्‍याे। सिटीको जितमा पहिलो हाफमा केविन डी ब्राउन, गाब्रिएल जिसस, ओलेक्सान्ड्र जिनचेन्कोले गोल गरे। डी ब्राउनले पाँचौँ मिनेटमानै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए।

समग्रमा चार गोल गरेका जिससले पहिलो हाफको ३० र ३४ औँ मिनेटमा गरी दुई गोल गरे। त्यस्तै ३७ औँ मिनेटमा जिनचेन्कोले गोल गरेपछि पहिलो हाफमा सिटीले ४–० को अग्रता लियो। दोस्रो हाफमा जिससले थप दुई गोल गरे। यस्तै फिल फोडिन, कायल वाकर र रियाद महरेजले गोल गरे। ५७ औँ मिनेटमा जिससले गोल गर्दै ह्याट्रिक पूरा गरे। फोडिनले ६२ औँ मिनेटमा गोल गरेपछि सिटीको अग्रता ६–० मा पुग्यो, अर्थात सिटीले ६२ औँ मिनेटमा बुर्टनमाथि आधा दर्जन गोल गरिसकेको थियो।

पेपको टिम त्यसपछि पनि निरन्तर गोलमा अघि बढ्यो। ६५ औँ मिनेटमा जिससले व्यक्तिगत चौथो गोल गरे। यस्तै वाकरले ७० औँ तथा महरेजले ८३ औँ मिनेटमा गोल गरेपछि उत्कृष्ट सिटीले ९–० को जित निकालेको हो। सिटीले लिग कप फुटबलमा ३३ वर्ष यताकै फराकिलो जित निकालेको छ। सन् १९८६ मा लिगकपमा लिभरपुलले फुलह्यामलाई १०–० ले हराएको थियो। त्यसयता कुनै पनि क्लबले फराकिलो जित निकालेको यो पहिलोपटक हो।

सिटीले एउटै खेलमा ८ भन्दा धेरै गोल गरेको पछिल्लो ३१ वर्षमा पहिलोपटक हो। सिटीले सन् सन् १९८७ को नोभेम्बरमा दोस्रो डिभिजनको लिगमा हडर्ल्सफिल्ड टाउनलाई १०–१ ले हराएको थियो। सिटीले अब दोस्रो लेगमा जनवरी २३ मा बुर्टनको घरेलु मैदानमा खेल्ने छ। सिटीले पछिल्लो चार दिनमा १६ गोल गरेको छ। उसले गएको आइतबार राति एफए कप फुटबलको तेस्रो चरणको खेलमा रोदरह्याम युनाइटेडलाई ७–० ले हराएको थियो।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.