|

स्पेनिस कोपा डेल रे फुटबलमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ। अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले सहज जित निकालेको हो। बुधबार राति भएको खेलमा रियलले लेगानेसलाई ३–० गोल अन्तरले हरायो।

घरेलु मैदानमा रियललाई जित दिलाउन कप्तान सर्जियो रामोस, लुकास भास्केज र भिनिसियस जुनियरले एक एक गोल गरे। रामोसले एक गोल गरेसँगै उनले करिअरको एक सयौँ गोलको कीर्तिमान पनि बनाए।

घरेलु मैदानमा म्यानचेस्टर सिटीबाट हालै क्लबमा अनुबन्ध भएका मिडफिल्डर ब्राहिम डियाजले डेब्यु गरेको खेलमा रियलले कप्तान रामोसको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो। खेलको ४४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ६८ औँ मिनेटमा भास्केजले गोल गर्दै  रियलको अग्रता २–०  बनाए भने खेलको ७७ औँ मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३–० को सहज जित दिलाए। जितसँगै रियल कोपा डेल रे फुटबलको अन्तिम आठ नजिक पुगेको छ। अब रियलले जनवरी १६ मा उसैको मैदानमा लेगानेससँग दोस्रो लेग खेल्नेछ।

कोपा डेल रे अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिड जिरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ। यस्तै भिया रियल र स्पनियोलले २–२ गोलको बराबरी खेल्दा गेटाफेले भलाडोलिडलाई १–० ले हरायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.