|
फाइल तस्बिर

चितवन : इच्छाकामना गाउँपालिका–५ स्थित तामिन कृषि बहुउदेश्य सहकारीले एक महिनामै एक करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको छ। उक्त सहकारीले गत मंसिर २० देखि पुस १९ सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो। 

‘मंसिर २० गतेबाट सुन्तला बिक्री गर्न सुरु गरेका थियौं,’ सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने, ‘अहिलेसम्म एक करोड रुपैयाँको सुन्तला बिक्री भएको छ।’ उनका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमिनमा सुन्तला खेती गरेका छन्। 

गत वर्ष सहकारीले दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको थियो। उनले भने, ‘अहिले एक महिनामै एक करोड रुपैयाँ नाघेको छ, अझै एक महिना बाँकी छ, दुई करोड रुपैयाँ सजिलै पुग्छ।’ 

‘बोटबाटै आधाआधी जति सुन्तला बिक्री भइसकेको छ, माघको दोस्रो सातासम्म सुन्तला बिक्री गरिन्छ,’ अध्यक्ष नेपालले भने, ‘तामिन सहकारीबाट मात्र यस वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान छ।’ 

उक्त सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले १० बिघासम्ममा सुन्तला खेती गर्दै आएका छन्। 

सहकारीले सुन्तलाको पकेट क्षेत्रअन्तर्गत बेलाबेलामा तालिम दिनाका साथै सुन्तलाको बिरुवासमेत वितरण गरेको थियो। यसबाट किसानको आर्थिक अवस्थामा पनि सुधार भएको उनको भनाइ थियो। 

सहकारीमा आबद्ध किसानले आफूखुशी सुन्तला विक्री गर्न पाउँदैनन् सहकारीमार्फत नै सुन्तला बिक्री हुँदै आएको छ। ‘किसानले सहकारीमा सुन्तला ल्याउँछन्, तौलन्छन् अनि सहकारीले व्यवसायीलाई बिक्री गर्छ’ उनले भने, ‘किसानका सुन्तला सहकारीमार्फत नै उचित मूल्यमा बिक्री भइरहेका छन्।’ 

सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो ६५ देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ। तामिनको सुन्तलाको मुख्य बजार मुग्लिन हो। गोर्खा, लमजुङ, चितवन र पूर्वका जिल्लामा समेत यहाँको सुन्तला पुग्छ। दुई वटा पात भएको सुन्तला तामिनको सुन्तला भन्ने बुझिन्छ। 

१५ हेक्टर सुुन्तलाको पकेट क्षेत्र 

जिल्लास्थित कृषि ज्ञान केन्द्रले इच्छाकामना–५ र ६ मा रहेको तामिन क्षेत्र, तल्लो काउले क्षेत्र, ३ मा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ। केन्द्रका प्रमुख सुधीर श्रेष्ठका अनुसार झन्डै १५ हेक्टर जमिनलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएकोे हो। 

उनले भने, ‘इच्छाकामनाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा गरिएपछि यसतर्फ किसान आकर्षित भएका छन्। इच्छाकामनामा वर्षेनी पाँच हेक्टरका दरले सुन्तला खेतीको विस्तार भइरहेको छ।’

गत वर्ष इच्छाकामनामा २४४ हेक्टरमा सुन्तला खेती गरिएको थियो। यस वर्ष झन्डै २५० हेक्टरमा सुन्तला खेती गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.