पोखराबाटै सुरु भयो पुनः श्रम स्वीकृति

|

पोखरा : आजदेखि पोखराबाटै सरकारले पुनः श्रम स्वीकृतिको सेवा सुरु गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मकाउ जान लागेका नवलपरासीका युवा खड्क बहादुर गुरुङलाई राहदानी प्रदान गरेर सेवाको सुरु गरे। सोही क्रममा मन्त्री विष्टले भने, ‘मेरो हातबाट जिन्दगीमा पहिलो पटक विदेश जान लागेको मान्छेलाई राहदानी दिएको छु, अबको दुई वर्ष पछि उहाँ पनि नेपालमै आएर यहिँ केहि गर्नुहुनेछ भन्ने आशा लिएको छु।’ पुनः श्रम स्वीकृतिको पहिलो दिन विहिबार मन्त्री विष्टले मकाउ जान लागेका युवालाई र गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले यूएइ जान लागेका स्याङ्जाका चन्द्रमान गुरुङलाई राहदानी हस्तान्तरण गरे।

आमाको चोली फेर्न विदेश जानु पर्दैन

श्रम स्वीकृतिको कार्यक्रमको सुरुवात गर्न पोखरा आएका मन्त्री विष्ट निकै भावुक देखिन्थे। हातमा सिप भएका लाखौँ यूवाहरु बाहिरीरहेको भन्दै उनले सरकारले त्यस्ता यूवालाई नेपालमै रोजगारी दिने काम सृजना गर्न लागेको समेत बताए। उनले यसै वर्ष केही लाख यूवालाई रोजगार दिने र आगामी पाँच वर्ष भित्र कोही नेपाली यूवा बाध्यताले विदेशी भूमिमा काम गर्न नजाने समेत दाबी गरे।

‘म दावाका साथ भन्छु पाँच वर्ष पाँच वर्ष पछि कुनै नेपाली यूवा बाध्यताले वैदेशिक रोजगारमा जानु पर्दैन,’ मन्त्री विष्टले भने, ‘पाँच वर्ष भित्रमा बाध्यताले हैन रहरले जान चाहन्छ भने त्यसमा सरकारको भनाई केही छैन। तर, बाध्यताले विकल्पको अभावमा आमाको चोली फेर्नको लागि, बुवाको टोपी फेर्नको लागि, श्रीमतीको सारी फेर्नको लागि र बच्चाको फि तिर्नको लागि बैदेशिक रोजगारीमा जाने अबस्थालाई पाँच वर्षमा सम्पूर्ण हिसाबले हामी अन्त्यगर्नेछौँ। देशभित्रै रोजगारीको सृजना गर्नेछौँ।’

भावुक भए मन्त्री

आमा बाबुले बच्चा जन्माउँछन, हुर्काउँछन त्यै वालक ठुलो भएर बैदेशिक रोजगारीमा जाने अबस्था सृजना भइरहेको भन्दै मन्त्री विष्टले चिन्ता ब्यक्त गरे। ‘हामीले काम गर्ने पौरखी हातहरु सदुपयोग गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘अब्यवस्थित रोजगारीमा पनि नेपाली यूवाहरु जान बाध्य भइरहेका छन्। यहि क्रम लगातार बढिरहने हो भने एउटा निश्चित अबधिपछि या त वालवालिका यात बृद्धवृद्धा, पाका ब्यक्तिहरु मात्रै नेपालमा रहने खतराहरु पनि देखा पर्न सक्दछन्।’ हरेक देशको परिवर्तन सोही देशको जनताले गरेर आएको भन्दै उनले देशमै यूवा रोक्न र रोजगारी सृजना गर्न लागि रहेको बताए। मौलिक अधिकार कार्यान्वयन गर्दै देशमा रोजगारीको सृजना र देश विकासको कार्यभार सरकारको काँधमा रहेको उनको तर्क थियो।

कामको सम्मान छैन

मन्त्री विष्टले नेपाल भित्र कामको सम्मान नभएकोले यूवाहरु विदेशीन बाध्य भएको बताए। ‘देशमा काम प्रति सम्मान जाग्न सकिरहेको छैन। त्यसै कारणले काम गर्ने मनोवृत्ति बढेको छैन,’ उनले भने, ‘काम गर्ने ब्यक्तिहरुको जीवनमा परिवर्तन हुन लामो समय लाग्ने।

काम नगर्ने ब्यक्तिहरु, पसिना नबगाउनेहरु, मेहेनत नगर्ने ब्यक्तिहरु रातारात धनी बन्ने र उनीहरुले मान सम्मान पाउने यो प्रवृत्ति नै काम प्रतिको अपमान हो। त्यस कारण देशलाई नयाँ मानसिकताले दिशाबोध गराउन जरुरी छ। कामले सानो भइँदैन भन्ने भावना देशभरी जगाउन जरुरी छ। हामी त्यो गर्न लागि रहेका छौँ।’ पाँचमै देश भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत लाखौँ यूवाहरुलाई रोजगारी दिने कार्यक्रम घोषणाको तयारी सरकारले गरेको उनको भनाई  छ।

७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र

बैदेशिक रोजगारीमा जाने यूवाहरु नठगिउन भनेर सरकारले देशभरीकै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनाको तयारी गरेको उनले बताए। ‘अब, बैदेशिक रोजगारीको बारेमा बुझ्न काठमाडौँ नै जानु पर्दैन। देशका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना हुँदैछ। तीन चार दिन भित्र सेवा अधिकृतको लागि विज्ञापन नै खुलाउने गरी काम भइरहेको छ’ उनले भने। एक महिना भित्र हरेक स्थानीय तहबाट उक्त सेवा सुरु हुने र बैदेशिक रोजगारमा जान कस्तो म्यानपावर बाट जाँदा राम्रो, कुन कामको लागि कस्तो सिप चाहिन्छ भन्ने सबै जानकारी सो केन्द्रबाट पाइने मन्त्रीको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.