|

धनगढी : विदेशी खेलाडी अर्मान्ड मोएनको ह्याट्रिकसँगै भ्याली च्यासल युवा क्लबले सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ। बिहीबार धनगढी रंगशालामा च्यासलले खेलको १४औँ मिनेटमा अग्रता लिएको थियो। एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए।

३१औँ मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो। ४०औँ मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन्। दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दवाव कायम राख्यो।

६१औँ मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४-० ले अगाडि बढाए। ७३औँ मिनेटमा अर्मान्डले गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५-० ले अगाडि बढ्यो। इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६-० को जित दिलाए।

खेलको 'म्यान अफ द म्याच’बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे। जितसँगै च्यासलले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। च्यासलले अब रुस्लान थ्रीस्टारको सामना गर्नेछ। शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ।

मौफसलकै सर्वाधिक धनराशिको प्रतियोगीताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५-१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.