|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको जीवन दृष्टिकोण वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको सामयिक दृढ संकल्प पूरा गर्नका लागि प्रेरणादायी हुने बताएकी छन्। राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा  सन्देश जारी गर्दै जनचाहना बुझ्न सिपालु, जनइच्छालाई सर्वोपरी ठान्ने पृथ्वीनारायण शाहका यी जीवन्त दृष्टिकोणहरूबाट वर्तमान सरकारले प्रेरणा लिन सक्ने पनि स्पष्ट पारिएको छ।

राष्ट्रपति भण्डारीले नेपाल प्राचीन कालदेखि स्वतन्त्र राष्ट्रको रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउँदै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकको रूपमा शीर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको बताइन्।विज्ञप्तिमा नेपाल एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहले नरोक्ने भन्दै स-साना टुक्रामा विभक्त नेपाललाई एकीकृत गर्नमा पृथ्वीनारायण शाहको ठूलो भूमिका रहेको औँल्याइएको छ।

'एकीकृत नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन। स्वतन्त्र राष्ट्रको रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि संभव थिएन। त्यस बेला छरिएर रहेका राज्यहरूलाई एकीकृत गरी सुदृढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता बोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा सङ्गठित रूपमै एकीकरण अभियान सुरु भयो र अथक प्रयासपछि त्यो महाअभियानका रूपमा सफल भयो' जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपति भण्डारीको सन्देशमा मुलुक सबै जातको फूलबारीको रूपमा रहेको आत्मसात गर्दै हाम्रो समाज साँस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा पृथ्वीनारायण शाहबाट उती नै बेला व्यक्त भएको स्मरण गरिएको छ । राष्ट्रपतिको विज्ञप्तिमा अर्थतन्त्र सुदृढीकरणका लागि सुशासन अपरिहार्य रहेको मनन् गर्दै घुस दिने र लिने दुबै देशका शत्रु हुन् भन्ने धारणा राखेको र देशको भूराजनीतिक अवस्थालाई प्रतिविम्बित गर्न यो राज्य दुई ढुङ्गाबीचको तरुल हो भने पृथ्वीनारायण शाहले ‌औँल्याएको उल्लेख गर्दै  पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको पनि स्मरण गरिएकोछ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.