|

काठमाडौं : नेपाल पत्रकार महासंघमा तीन ठूला राजनीतिक दल निकटका पत्रकार संगठनको सिन्डिकेट लादिएको भन्दै क्रान्तिकारी पत्रकार महासंघले विरोध जनाएको छ।

महासंघको निर्णय प्रक्रियामा कांग्रेस संवद्ध प्रेस युनियन, एमाले संवद्ध प्रेस चौतारी र माओवादी केन्द्र संवद्ध प्रेस सेन्टरले सिण्डिकेट लादेको भन्दै नेकपा क्रान्तिकारी माओवादी संवद्ध संगठनले ठूला संगठनको भर्तीकेन्द्र र पेवा नबनाउन चेतावनी दिएको हो।

क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई ज्ञापन पत्र बुझाउँदै निर्णय प्रक्रिया र विविध सरोकार राख्ने कार्यक्रममा आफ्नो संगठनलाई पनि सहभागी गराएर छाता संस्थाको भूमिका निर्वाह गर्न सचेत गराएको छ।

'पत्रकार महासंघका हरेक निर्णय प्रक्रियामा तीन ठूला राजनीतिक पार्टीहरु नेपाली कांग्रेस सम्बद्ध प्रेस युनियन, नेकपा (एमाले) सम्बद्ध प्रेस चौतारी र नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रेस सेन्टरको ‘सिन्डिकेट’ लादिएको छ' ज्ञापन पत्रमा भनिएको छ ' हाम्रो संगठन यसको कडा शब्दमा विरोध गर्दछ। नेपाल पत्रकार महासंघलाई तीन ठूला संगठनका कार्यकर्ताहरुको भर्तिकेन्द्र र पेवा नबनाइयोस्।' क्रान्तिकारी पत्रकार महासंघले आफूहरुलाई निषेध गरेर जान खोजे वैकल्पिक महासंघ बनाएर अघि बढ्ने चेतावानी दिएको छ।

पत्रकार महासंघको सदस्य रहेका गैरपत्रकार, निष्क्रिय पत्रकार, उद्योगी, व्यापारी, कर्मचारी, राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको सदस्यता खारेज गर्न पनि क्रान्तिकारी पत्रकार महासंघले माग गरेको छ। 'नेपाल पत्रकार महासंघको आवधिक चुनाव नजिकिदैछ। महासंघले शुद्धीकरण अभियान चलाओस्' ज्ञापन पत्रमा भनिएको छ ' महासंघलाई सक्कली (क्रियाशील) पत्रकारहरुको साझा संगठन बनाइयोस्।'

धेरै क्रियाशील र योग्यता पुगेका पत्रकारहरु पत्रकार महासंघको सदस्यता लिनबाट वञ्चित रहेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले सदस्यताका लागि आस्थाको आधारमा भेदभाव नगर्न र आवेदन खुला र बन्द गर्ने काम नगर्न आग्रह गरेको छ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत नेतृत्वमा गएको टोलीले महासंघको आसन्न चुनावमा अमर्यादित गतिविधि र अपारदर्शी चलखेललाई निषेध गर्न र जाँड रक्सीको प्रयोगलाई प्रतिबन्ध लगाउन माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.