|

गुल्मी : चिसो बढेसँगै जिल्ला अस्पताल तम्घासमा बिरामीको चाप बढेको  छ। अस्पतालमा आउने अधिकांशमा रुघाखोकी, ज्वरो, निमोनिया, दम र हाडजोर्नी लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।

दैनिक सरदर एक सय बिरामी

अहिले जिल्ला अस्पताल तम्घासमा दैनिक सरदर एक सय बिरामीले उपचार गर्ने गरेको अस्पतालका कम्प्युटर अपरेटर देवराज खनालले बताए। आइतबार मात्रै जिल्ला अस्पतालमा ओपिटी र इमरजेन्सीमा गरी एक सय ४० र सोमबार एक सय १८ जनाले उपचार तथा स्वास्थ्य परीक्षण गराएको अपरेटर खनालले बताए।

त्यस्तै जिल्ला अस्पतालसँगै बाहिर मेडिकलहरूमा पनि चिसोका बिरामीहरु बढ्दै गएका छन् । दैनिक क्लिनिकमा आउने बिरामीमध्ये ३० प्रतिशत बिरामी चिसोबाट प्रभावित आउने गरेको शुभ लक्ष्मी क्लिनिकका सञ्चालक होम पल्लीले बताए।

दुई महिनामा साढे चार हजारलाई सेवा

पछिल्लो दुई महिना मंसिर र पुसमा मात्रै चार हजार चार सय ३४ जना बिरामीले जिल्ला अस्पताल तम्घासबाट सेवा लिएको अस्पतालले जनाएको छ। मंसिर र पुसमा बहिरंग तर्फ दुई हजार एक सय २६ महिला र एक हजार चार सय ६० पुरुषले सेवा लिएका छन्। त्यस्तै अन्तरगतर्फ एक सय ४१ महिला र ३९ पुरुष गरी एक सय ८० जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस्तै तीन सय ९० महिला र २७८ जना पुरुषले आकस्मिक सेवा लिएका छन्। 

बालबालिका र वृद्धवृद्धा बढी प्रभावित

सबभन्दा बढी १० वर्षभन्दा मुनिका बालबालिका  छन् भने वृद्धवृद्धा पनि चिसोबाट बिरामी हुने गरेका छन्। यो समयमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित रहेको चिकित्सकहरुले बताएका छन्। वृद्धवृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिटै संक्रमण हुने अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए।

यो समयमा बालबालिका वृद्धवृद्धा र सुत्केरीको स्वास्थ्यमा विशेष ख्याल राख्न पाच्याले आग्रह गरे। सबैले स्वास्थ्यको ख्याल गर्नु पर्ने, मौसम अनुकूलको खानपान, तातो पानी तथा झोलिलो खानेकुरा धेरै पिउने, न्यानो कपडा लगाउने र बिहान–बेलुका चिसोमा सकेसम्म ननिस्कन पच्याले सुझाव दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.