|

भोजपुर : जिल्लाकै ठूलो पाँच मेगावाट विद्युत क्षमताको इस्टर्न हाइड्रोपावर आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। प्राविधिक कारण झण्डै साढे पाँच वर्ष रोकिएको जलविद्युत आयोजनाको कामले तीव्रता पाएपछि हाल ९८ प्रतिशत आयोजनाको काम सम्पन्न भइसकेको छ ।

एक अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पीपीएअनुसार २०७६ असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माणको गति हेर्दा चालू आर्थिक वर्षको फागुन अन्तिममा सकिने लक्ष्य आयोजनाको छ। आयोजनाको फेब्रिकेसन (कच्चा फलामका पातालाई पाइपका लागि जोड्ने, दोबार्ने, वेल्डिङ गर्ने काम), मुहान बाँधको निर्माणको काम भइरहेको आयोजनाका इञ्जिनियर रोशन साहले बताए।

आयोजनाको विद्युत गृहदेखि मुहानसम्मको  चार किलोमिटर एड्रेस पाइप बिछ्याउने, टर्बाइन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा पुगेको छ। इन्जिनियर साहले भने, 'विद्युत गृहमा टर्बाइन राख्ने काम बाँकी छ त्यसको लागि चीनको प्राविधिक टोली आएर जडान गर्नेछ।'

२०६२ सालमा तत्कालीन समयका लागि नेपाल विद्युत प्राधिकरणसँग ४५ करोडको लगानीमा २.५ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेगरी सम्झौताअनुसार नै आयोजनाको सर्भे गरिएको थियो। २०६७ सालबाट थालिए पनि सडक, विद्युत प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्प, विविध राजनीतिक विवादमा तानिएका कारण निर्माणकार्य  साढे पाँच वर्ष सम्म ठप्प भएको थियो । 

पछि २०७२ सालको अन्त्यतिर आयोजनाको क्षमता बढाएर पाँच मेगावाट पुर्‍याइएपछि निर्माणको कामले तीव्रता पाएको इस्टर्न हाइड्रो पावरका आयोजना अधिकृत दिपेन राईले बताए। ‘नेपाल विद्युत प्राधिकरणलाई ३५ वर्षका लागि हस्तान्तरण गरिने सम्झौता रहेको पाँच मेगावाटको यो आयोजना आगामी फागुन महिनाबाट सर्वसाधरणलाई वितरण गर्नेछौँ,अधिकृत राईले भने।’ 

कामले तिव्रता पाईरहेको हाइड्रोपावरको कुल लागत एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित क्षेत्रमा ६ करोड २० लाख बराबरको शेयर आगामी माघबाट खुल्ने आयोजना अधिकृत दिपेन राईले जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्रका स्थानीय पहिलो प्राथमिकतामा पर्ने भएकाले आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत शेयरमा प्रभावित क्षेत्रका लागि माघदेखि आईपीओ सेयर जारी गरिने छ।’ 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.