|

हेटौंडा : मकवानपुर जिल्लाभर करिब ३५ हजार काठको विद्युतीय पोल फेर्नुपर्ने देखिएको छ।

नेपाल विद्युत् प्राधिकरण हेटौंडा शाखाका अनुसार जिल्लाका विभिन्न वडा तथा गाउँपालिका तहबाट आएको माग अनुसार ३५ हजार काठको पोल विस्थापन गर्नुपर्ने देखिएको हो। प्राधिकरणका प्रमुख केन्द्र प्रमुख शम्भु कुसियतका अनुसार यस विषयमा प्रदेश तथा संघीय तहमा जानकारी गराइसकिएको छ। 

गाउँगाउँमा विद्युत् विस्तार भएसँगै अहिले लो भोल्टेजको समस्या सिर्जना भएको छ। जसको कारणले गर्दा अहिले पोलसँगसँगै तत्काल ट्रान्सफर्मर समेत फेर्नुपर्ने देखिएको छ। ‘कतिवटा ट्रान्सफर्म फेर्नुपर्ने हो। त्यस विषयमा हामीले तथ्यांक संकलन गरिरहेको छौं।’, उनले भने। उनका अनुसार हाल प्राधिकरणले निवेदन दिएसँगै विद्युतीय लाइन जोड्दा लो भोल्टेजको समस्या सिर्जना भएको हो।  

उनका अनुसार हाल प्राधिकरणले जिल्लाभर दुई महिनासम्म मासिक विल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्ने अभियानलाई समेत तीब्र रुपमा अगाडि बढाइरहेको छ।  प्राधिकरणले हाल मकवानपुरको पूर्वीक्षेत्र अन्तर्गत् बकैया र बागमी गाउँपालिकामा यस अभियानलाई सञ्चालन गरिरहेको छ।  प्राधिकरणका केन्द्र प्रमुख  यादवकाअनुसार चुहावट नियन्त्रण र लाइन काट्ने अभियानलाई जिल्लाभर सञ्चालन गरिनेछ। यस अभियान अन्तर्गत् हाल दैनिक एक दर्जनभन्दा बढीको लाइन काटिएको छ। हालसम्म विभिन्न उद्योग तथा विद्यालय गरी दुई सयभन्दा बढी स्थानमा लाइन काटिसकिएको छ।

‘प्राधिकरणले टोली नै बनाएर अभियानलाई अगाडि बढाएको छ। अब यो टोलीले सधै काम गर्छ।’ उनका अनुसार जिल्लाभर करिब १८ करोड रुपियाँ बक्यौता प्राधिकरणको उठ्न बाँकी रहेको छ। पहिलो चरणमा २० हजार रुपियाँभन्दा बढी तिर्न बाँकीको लाइन काटिएको छ।  मकवानपुर जिल्लामा विद्युत् चुहावट ८ दशमलव ८ प्रतिशत रहेको छ। आगामी आर्थिक वर्षभित्रमा ६ दशमलव ५९ प्रतिशत बनाउने लक्ष्य प्राधिकरणको रहेको छ।

पछिल्लो समय केन्द्रले आफ्नो सेवाहरु प्रविधिमैत्री बनाउँदै लगेको समेत जनाएको छ। कार्यालयले पछिल्लो समय ई–सेवाबाट विल भुक्तानीको व्यवस्था गरेको र एनईए नामक मोवाइल एप्स सञ्चालनमा ल्याएको जनाएको छ।  हेटौंडा वितरण केन्द्रअन्तर्गत् ५३ हजार ग्राहक रहेका छन्। ई–सेवामार्फत् मासिक चारहजार ग्राहकले विल भुक्तानी गरिरहेका छन्।  प्राधिकरणको करिब ५० लाख बिल ई–सेवामार्फत् संलकन भइरहेका छन्। केन्द्रले मासिक १७ करोड रुपियाँ राजस्व संकलन गर्ने गरेको छ।

प्राधिकरणले हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका एकसय ४० वटा उद्योगलाई ठूला ग्राहकको रुपमा राखेर विशेष सेवा समेत प्रदान गरिरहेको छ। प्राधिकरणले उक्त उद्योगहरुको रिमोट मिटर रिडिङ गर्ने गरेको छ।

‘यसअघि लोडसेडिङको समस्या थियो। अब त्यो समस्या हटेको छ। हामीले अब आफ्नो सेवालाई गुणस्तर बनाउनका साथै ग्राहकको मन जित्ने अभियानमा रहेका छौं’, उनले भने। उनका अनुसार प्राधिकरणले हाल निवेदन दिएलगत्तै घरमा विद्युत् जडान गरिरहेको छ। यसअघि हप्ता दिनसम्म पनि मिटर जडान हुँदैन थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.